नेपालमा यसरी हुँदैछ कोभिड-१९ खोप लगाउने तयारी
काठमाडौं, माघ ७ : विभिन्न देशमा उत्पादन भइरहेको कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता हेरी हाल विश्वका केही देशले आफ्ना नागरिकलाई लगाउन सुरु गरिसकेका छन्। बेलायतमा...काठमाडौं, माघ ७ : विभिन्न देशमा उत्पादन भइरहेको कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता हेरी हाल विश्वका केही देशले आफ्ना नागरिकलाई लगाउन सुरु गरिसकेका छन्। बेलायतमा २३ मंसिरमा एक ९१ वर्षीय नागरिकबाट सुरु भएको खोप अभियानमा अहिले २४ लाखभन्दा धेरै सहभागी भइसकेका छन्। यस्तै, अमेरिकाले २९ मंसिरमा स्वास्थकर्मीलाई दिएर सुरु गरेको खोप हालसम्म एक करोड ४७ लाख अमेरिकीले लगाइसकेका छन्। समाचार संस्था ब्लुमबर्गका अनुसार ५१ देशमा चार करोड ४० लाखभन्दा धेरै खोप लगाइसकिएको छ।
नेपालमा पनि भारतले १० लाख खोप उपलब्ध गराउने घोषणासँगै खोप अभियानको तयारी सुरु भएको छ। सहज रूपमा खोप भित्र्याउन औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेको नेपालले यसका लागि विभिन्न मुलुकहरूसँग सहकार्य गरिरहेको छ।
नेपालले खोप भित्र्याउन कुन कुन देशसँग सहकार्य गरिरहेको छ ?
विश्व स्वास्थ्य संगठन, यूरोपियन युनियन र फ्रान्सद्वारा कोभिड-१९ को निदान, उपचार र खोपका लागि नयाँ र न्यायिक पहुँच प्रदान गर्ने उद्देश्यका साथ सुरु गरिएको कोभ्याक्समार्फत विश्वका अविकसित देशलाई कोरोनाविरुद्धको खोप प्रदान गरिने व्यवस्था छ। यसअन्तर्गत अविकसित देशको ३% जनसंख्यालाई पहिलो र १७% लाई दोस्रो चरण गरी कुल २०% मानिसलाई खोप लगाइनेछ। नेपालले पनि पहिलो चरणमा आफ्नो जनसंख्याको ३% अर्थात नौ लाख ११ हजारका लागि खोप प्राप्त गर्नेछ।
नेपालले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको ‘कोभिसिल्ड’ नामक खोपका लागि आपतकालीन प्रयोग स्वीकृति प्रदान गरेको छ। अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले बनाएको यो खोपको प्रभावकारिता ७०% – ९०% रहेको तथ्य विभिन्न अनुसन्धानले पुष्टि गरेका छन्। आपतकालीन प्रयोगको स्वीकृति प्राप्त भएको ‘कोभिसिल्ड’ खोप पाउने देशको सूचीमा नेपाल रहेको जानकारी भारतको विदेश मन्त्रालयले ६ माघमा दिएको थियो।
७ माघमा भारतले उपलब्ध गराउने खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका छन्। पत्रकार सम्मेलनमा १० लाख डोज खोप नेपाललाई अनुदानस्वरूप भारतले प्रदान गर्ने मन्त्री त्रिपाठीले जानकारी दिए। भारतको अनुदानमा नेपाललाई प्राप्त हुनलागेको खोप
बिहीबार नै नेपाल आइपुग्ने जानकारी पनि मन्त्री त्रिपाठीले दिए।
यस्तै, नेपाललाई रुसले पनि आफुले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ‘स्पुतनिक भी’ उपलब्ध गराउने बताएको छ। रुसले नेपाललाई कोरोना विरुद्धको २ करोड ५० लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । तर, सो खोप कहिलेसम्म र कति मात्रामा आयात गर्ने भन्ने प्रष्ट भइसकेको छैन।
खोप व्यवस्थापन र प्रयोगका लागि तयारी के छ ?
विश्वका विभिन्न भागमा उत्पादन भइरहेका कोरोनाविरुद्धका खोपको भिन्नाभिन्नै विशेषता छ। तिनको उत्पादन, प्रयोग एवं भण्डारण फरक-फरक भएकाले नेपालले आयात गर्ने खोपअनुरूप नै व्यवस्थापनको तयारी हुनेछ।
नेपालमा २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सक्ने कोल्ड चेन भएको भौतिक संरचना छ। नेपालमा हाल २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सक्ने कोल्ड चेनमा करिब एक करोड ७७ लाख खोपको डोज भण्डारण गर्न सकिन्छ। नेपालले आपतकालीन स्वीकृति दिएको सिरम इन्स्टिच्युटको ‘कोभिसिल्ड’ खोप २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सकिन्छ।
यस्तै, नेपालको ३% जनसंख्या अर्थात नौ लाख ११ हजारजनालाई पर्याप्त खोप भण्डारण गर्ने क्षमता भएको माइनस २० डिग्रीको कोल्ड चेन पनि रहेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले २८ पुसको पत्रकार सम्मेलनमा दिएका थिए। मन्त्री त्रिपाठीले नेपालमा रहेका करिब १६ हजार खोप केन्द्रलाई परिचालित गरी खोप लगाउने व्यवस्था मिलाउने जानकारी दिएका छन्।
खोप आयातपछि पहिलो चरणमा जनसंख्याको ३% लाई मात्र खोप लगाइने छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार पहिलो चरणमा अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीलाई खोप लगाउने योजना छ । दोस्रो चरणमा रोग प्रतिरोध क्षमता कम भएका र ज्येष्ठ नागरिकलाई लगाउने योजना छ।
दक्षिण एसियाका अन्य देशमा खोपको तयारी कस्तो छ ?
भारतले ३ माघमा सरसफाइमा संलग्न महिलालाई कोरोनाविरुद्धको खोप लगाएर देशव्यापी अभियान सुरु गरेको छ। त्यहाँ पहिलो दिन नै २ लाख २ सय ९७ जनालाई खोप लगाइएको छ। ‘कोभिसिल्ड’ खोप नै भारतले पनि प्रयोग गरिरहेको छ। साथै भारत बायोटेक नामक स्वदेशी कम्पनीले विकास गरेको कोभ्याक्सिन नामक खोपलाई पनि भारत सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। तर, उक्त खोप परीक्षणका क्रममा केही त्रुटी भएको क्वार्ज इन्डिया नामक अनलाइनको एक रिपोर्टमा जनाइएको छ।
पाकिस्तान र बगलादेशले अक्सफर्ड-अस्ट्राजेनेकाको खोपलाई आपतकालीन प्रयोग अनुमति दिएका छन्। पाकिस्तानले चीनबाट सिनोफर्मको खोपको १० लाखभन्दा बढी डोजका लागि अनुमति दिएको छ भने अन्य खोपका लगि रुस र चीनसँग सहकार्य गरिरहेको छ।
बंगलादेशले नोभेम्बरमा सिरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित खोपको तीन करोड डोज खरिद गर्न सम्झौता गरिसकेको छ। सोहीअनुरूप जनवरी अन्त्यसम्म उसले खोप पाउने र फेब्रुअरी पहिलो सातादेखि अभियान सुरु गर्ने समाचारमा जनाइएको छ।
भारतको इन्डियन एक्सप्रेसका अनुसार भुटान र माल्दिभ्सले भारतमा उत्पादित खोप ७ माघमै पाइसकेका छन्। भारतको विदेश मन्त्रालयले ६ माघमा प्रकाशित गरेको सूचनामा नेपाल सँगै भुटान, बंगलादेश, माल्दिभ्स, म्यानमार र सिसेल्सलाई पनि खोप उपलब्ध गराउने उल्लेख छ। सोही सूचनामा श्रीलंकाका सम्बन्धमा उनीहरूको नियामक निकायको निर्णय पर्खिरहेको
उल्लेख छ।
(यो सामग्री साउथ एसिया चेक डट ओआरजीको अनुमतिमा प्रकाशित गरिएको हो)