Kathmandu Press

जो बाइडेन : सिनेटरदेखि राष्ट्रपतिसम्म

जोसेफ रोबिनेट बाइडेन जुनियर (जो बाइडेन)ले केही समयपछि अमेरिकाको ४६ औँ राष्ट्रपतिको शपथ लिँदै छन् ।
जो बाइडेन : सिनेटरदेखि राष्ट्रपतिसम्म

जोसेफ रोबिनेट बाइडेन जुनियर (जो बाइडेन)ले केही समयपछि अमेरिकाको ४६ औँ राष्ट्रपतिको शपथ लिँदै छन् ।

४ नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इलेक्टोरल र पपुलर दुवै मतमा पराजित गरेका थिए । डेमोक्रेटिक पार्टीका सदस्य बाइडेन सन् २००९ देखि २०१७ सम्म अमेरिकाको ४७ औँ उपराष्ट्रपति थिए । यस्तै, सन् १८७३ देखि २००९ सम्म उनी डेलावेयर राज्यका सिनेटर थिए ।

उनी पेन्सिलभेनिया र न्यु क्यासल काउन्टीमा हुर्के–बढेका हुन् । डेलावेयर विश्वविद्यालयबाट उच्च शिक्षा लिएका उनले सिरक्युज विश्वविद्यालयका कानुन अध्ययन गरेका थिए ।

सिनेटरका रूपमा उनले सन् १९९१ मा खाडी युद्धको विरोध गरेका थिए । युरोपमा नेटो गठबन्धन विस्तार तथा सन् १९९० मा युगोस्लाभ युद्धको भने उनी पक्षपाति थिए । सन् २००२ मा इराक युद्धको समर्थन गरेका थिए । तर, इराकमा अमेरिकी सैन्य संख्या बढाउने विषयको विरोध गरेका थिए । सन् १९८७ देखि १९९५ सम्म सिनेट न्यायपालिका समितिको अध्यक्ष थिए ।

अमेरिकामा नयाँ राष्ट्रपतिलाई औपचारिक पदभार ग्रहण गराउने प्रक्रिया र समारोहलाई इनोग्युरेसन भनिन्छ । राष्ट्रपतिभन्दा पहिले उपराष्ट्रपतिले सपथ ग्रहण गर्ने अमेरिकी परम्परा छ ।

६ जनवरीमा राष्ट्रपति ट्रम्प समर्थकले अमेरिकी संसदमा आक्रमण गरेकाले यसपटक बाइडेनको सपथ ग्रहणमा सुरक्षा व्यवस्था कडा तुल्याइएको छ ।

अमेरिकी गुप्तचर निकायले सुरक्षा योजनाको नेतृत्व लिएको समारोहमा नेसनल गार्डका करिब १५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राष्ट्रपति ट्रम्प सपथ ग्रहण समारोहमा उपस्थित नहुने दाबी अमेरिकी सञ्चार माध्यमहरूको छ । सामान्यतया बहिर्गमन हुन लागेका राष्ट्रपति आफ्ना उत्तराधिकारीको सपथ ग्रहणमा सहभागी हुने प्रचलन छ । ८ जनवरीमा ट्विट गर्दै ट्रम्पले आफू समारोहमा उपस्थित नहुने बताएका छन् । उनले ह्वाइट हाउस छाडिसकेका छन् । उनी फ्लोरिडास्थित निजी निवासमा सरेका छन् । अमेरिकी सञ्चारमाध्यमहरूले यसलाई ‘ट्रम्प युगको अन्त्य’का रूपमा चित्रण गरेका छन् ।

विगतमा सपथ ग्रहण कार्यक्रममा सहभागी हुन करिब दुई लाख टिकट बाँड्ने गरिएको थियो । यसपटक कोभिड–१९ जोखिमका कारण एक हजार टिकट मात्र वितरण गरिएको छ ।

राष्ट्रपति बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र उनीहरूका परिवारका सदस्यलाई ब्यान्ड र ड्रमसहितको सैनिक टोलीले ह्वाइट हाउस प्रवेश गराउनेछ ।

पदभार ग्रहण गरेको १० दिनभित्र बाइडेनले कोभिड–१९ महामारी, तहसनहस बनेको अमेरिकी अर्थव्यवस्था, जलवायु परिवर्तन र जातीय अन्यायसँग सम्बन्धित चार गम्भीर मुद्दामा काम गर्ने घोषणा गरेका छन् । सपथ ग्रहणलगत्तै करिब एक दर्जन आदेशमा हस्ताक्षर गर्ने योजनामा बाइडेन छन् ।

प्रकाशित मिति: १९:२५ बजे, बुधबार, माघ ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्