Kathmandu Press

लगातार तेस्रो जितसँगै आर्मी सेमिफाइलनमा, पुलिसले सुदूरपश्चिमलाई हरायो

काठमाडौं, माघ ७ : काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार...
लगातार तेस्रो जितसँगै आर्मी सेमिफाइलनमा, पुलिसले सुदूरपश्चिमलाई हरायो

काठमाडौं, माघ ७ : काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १लाई ४ विकेटले हराउँदै आर्मीले लिगको एक खेल बाँकी छँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो। तेस्रो हारसँगै प्रदेश १ भने प्रतियोगिताबाट बाहिरिएको छ।

प्रदेश १ ले दिएको १३२ रनको लक्ष्य आर्मीले २९.५ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। आर्मीका लागि रोहितकुमार पौडेलले सार्वधिक ३६ रन बनाउँदा भीम सार्कीले २९ र राजेश पुलामी गमरले २४ रनको योगदान दिए। प्रदेश १ का फिर्दोस अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र शुवाकंर उरावले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको प्रदेश १ले लागतार तेस्रो खेलमा पनि राम्रो ब्याटिङ गर्न सकेन। आर्मीको कसिलो बलिङ सामु ४०.१ ओभरमा अलआउट हुँदै प्रदेश १ ले १३१ रन मात्र बनाउन सक्यो। उसका विवेक मेहताले सर्वाधिक ५० रन बनाउँदा फिर्दोस अन्सारीले ३२ र दीपक पासवानले १९ रनको योगदान दिए। अन्य ८ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । 

आर्मीका साहब आलमले ४ विकेट लिए भने आकाश चन्दले ३ विकेट लिए। साहबले ९।१ ओभरमा ३ मेडनसहित २३ रन खर्चँदा अकाशले ७ ओभर बलिङ गर्दै ३ मेडनसहित १५ रन खर्चिए। यस्तै, सुशन भारी, भीम सार्की र राजेश पुलामीले समान १ विकेट लिए।

पुलिसले सुदूरपश्चिमलाई हरायो

बुधबार नै कीर्तिपुर मैदानमा भएको खेलमा विभागीय टिम पुलिस क्बलले सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित निकाल्यो। सुदूरपश्चिमले दिएको ११० रनको सामान्य लक्ष्य पुलिसले १७ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो। 

पुलिसका लागि सुनिल धमला र कुशल भुर्तेलले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरे। सुनिन ५३ रन बनाएर आउट हुँदा कुशल ५१ रनमा नटआउट रहे। ५७ बल खेलेका सुनिनले ६ चौका र २ छक्का प्रहार गरे भने कुशलले ४४ बल खेल्दै ९ चौका र १ प्रहार गरे।

यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ३३.१ ओभरमा अलआउट हुँदै ११० रन मात्र बनाउन सक्यो। उसका लागि खड्क बोहराले ४० र सन्जु दमाइले ३५ रन बनाए। सदूरपश्चिमको इनिङ धरासायी बनाउने क्रममा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान ४ विकेट लिए। 

प्रतियोगिताअन्तर्गत बिहीबार टियू मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने छन् भने मुलपानीमा एपिएफले गण्डकी प्रदेशको सामाना गर्नेछ।

प्रकाशित मिति: १६:५६ बजे, बुधबार, माघ ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्