पेट्रोल तथा डिजेलको मूल्य बढ्यो

काठमाडौं, माघ ६ : नेपाल आयल निगमले पेट्रोल तथा डिजेल÷मट्टितेलको मूल्य वृद्धि गरेको छ । हिजो रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको निगमले जनाएको छ ।

निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल÷मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः रु ११० र रु ९३ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ । मूल्य समायोजनपश्चात् पनि पेट्रोलमा प्रतिलिटर रु ४.३४, डिजेलमा प्रतिलिटर रु २.९६ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर रु १३४.७२ घाटा रहेको निगमले जनाएको छ ।

हालको मूल्य समायोजनपश्चात् पनि भरतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर रु ३२.२६ र डिजेल प्रतिलिटर रु ३७.६४ ले नेपालतर्फ सस्तो रहेको पनि निगमले जनाएको छ । निगमले पछिल्लो समय पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार प्रत्येक महिनाको १५/१५ दिनको अन्तरमा मूल्य समायोजन गर्दै आएको छ ।

निगमले एलपी ग्यासको बिक्री मूल्य २०७६ माघ २० गतेदेखि लागू हुने गरी प्रतिसिलिन्डर रु एक हजार ३७५ कायम गरेको थियो । इन्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बर २०२० प्राप्त मूल्यअनुसार मिति गत मङ्सिर २८ मा पेट्रोल तथा डिजेल/मट्टितेलमा साबिक मूल्यमा प्रतिलिटर क्रमशः रु एक र रु दुई ले वृद्धि गरी पेट्रोलको प्रतिलिटर रु १०८ र डिजेल÷मट्टितेलको प्रतिलिटर रु ९१ कायम गरेको थियो ।

त्यसपछि आइओसीबाट १६ डिसेम्बर २०२० र १ जनवरी २०२१ मा प्राप्त खरीद मूल्यमा बढेर आएको तथा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार सो मितिमा मूल्य वृद्धि गर्नुपर्ने देखिएको भए तापनि मूल्यवृद्धि नगरिएको निगमले जनाएको छ । 

 Published Date: Tuesday, 19th January 2021 7:25:00 am