Kathmandu Press

रुसी विपक्षी नेता नाभाल्नीलाई रिहा गर्न जर्मनी, अमेरिका र ईयुको माग  

जो बाइडेनको टोलीले नाभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।
रुसी विपक्षी नेता नाभाल्नीलाई रिहा गर्न जर्मनी, अमेरिका र ईयुको माग  

बर्लिन–  जर्मनीका विदेशमन्त्री हैको माआजले नेता अलेक्सी नाभाल्नीलाई तत्काल रिहा गर्न  आग्रह गरेका छन् । जर्मनीमा उपचारपछि स्वदेश फर्किएका नाभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ गरिएको विषयमा पश्चिमा देशले रुसको आलोचना गरेपछि विदेश मन्त्रीको सो आग्रह आएको हो ।     

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको टोलीले नाभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले नाभाल्नीलाई पक्राउ गरिएकोमा ट्विटरमार्फत टिप्पणी गरेका छन् । नाभाल्नीको रिहाको युरोपियन युनियन (इयु)द्वारा पनि माग भएको छ ।     

क्रेमलिनका आलोचक ४४ वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए । उनलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा भिड जम्मा भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो ।     

गत अगष्टमा रूसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात् बिरामी परेका नाभाल्नीलाई आकश्मिक अवतरण गराई स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो । फ्रान्सेली र स्वेडिस प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ खानामा मिसाएर खुवाइएको पनि जर्मनीले बताएको छ ।     
     
 

प्रकाशित मिति: १७:३९ बजे, सोमबार, माघ ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्