Kathmandu Press

अफगानिस्तानमा दुई न्यायाधीशको हत्या    

अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ ।
अफगानिस्तानमा दुई न्यायाधीशको हत्या    
Hardik ivfHardik ivf

काबुल–   अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि व्यक्ति हत्याको क्रम बढेको छ ।     
     
पछिल्ला केही महिनादेखि खासगरी राजधानी काबुलमा उच्च तहका व्यक्ति लक्षित आक्रमणहरु भइरहेका छन् । यी हत्याहरुले राजधानी काबुलसहित देशका प्रमुख सहर बजारमा त्रास फैलाएको छ ।     
     
अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरी दुई हजार ५०० मा सीमित गर्ने घोषणा गरेको दुई दिन नबित्दै पछिल्लो आक्रमण भएको छ ।     
     
दुई न्यायाधीश सरकारी सवारी साधनमा चढेर अदालत गइरहेको अवस्थामा आक्रमण भएको सर्वोच्च अदालतका प्रवक्ता अहमद फाहिम क्वाइमले जानकारी दिए ।  ‘दुर्भाग्यवस, आजको आक्रमणमा हामीले दुई महिला न्यायाधीशलाई गुमाएका छौं । उनीहरुका सवारी चालक घाइते भएपनि सकुशल छन् ।’     
     
प्रवक्ता क्वाइमका अनुसार अफगानिस्तानका उच्च अदालतमा २०० भन्दा बढी महिला न्यायाधीशहरु कार्यरत छन् । काबुल प्रहरीले पनि आक्रमणको पुष्टि गरेको छ ।  अफगानिस्तानको सर्वोच्च अदालतमा यसअघि सन् २०१७ को फेब्रुअरीमा पनि आक्रमण गरिएको थियो । उक्त आक्रमणबाट कम्तीमा २० जना मारिनुका साथै ४१ जना घाइते भएका थिए ।     
     
हालैका महिनामा राजनीतिकर्मीहरु, पत्रकारहरु, अधिकारवादीहरु, चिकित्सक र कानुन व्यवसायी समेतका माथिल्लो पंक्तिका धेरै अफगानीहरुलाई लक्षित गरी काबुल र अन्य शहरमा दिनदहाडै सिलसिलाबद्ध आक्रमण भइरहेका छन् ।     
     
अफगान अधिकारीहरुले ती आक्रमणहरु तालिबान समूहले गराएको आरोप लगाउँदै आएका छन् तर तालिबान समूहले जिम्मेवारी लिन अस्वीकार गर्दै आएको छ ।     
     
कतिपय हत्याको जिम्मेवारी भने जिहादी इस्लामिक स्टेट समूहले लिने गरेको छ ।   यसै महिनाको शुरुमा अमेरिकी सैन्य कमान्डले अफगानिस्तानमा भइरहेका आक्रमणहरु तालिबानबाट भएको दाबी गरेको थियो ।     

प्रकाशित मिति: १५:०५ बजे, आइतबार, माघ ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्