Kathmandu Press

कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको अन्तिम परीक्षण हुँदै

पर्वत, माघ २ : राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सबस्टेशनको निर्माण सम्पन्न भएको छ। सबस्टेशनअन्तर्गतको...
कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको अन्तिम परीक्षण हुँदै
Hardik ivfHardik ivf

पर्वत, माघ २ : राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सबस्टेशनको निर्माण सम्पन्न भएको छ। 

सबस्टेशनअन्तर्गतको लाइन निर्माणको सबै काम सम्पन्न भएपछि परीक्षण गरी जोड्ने तयारी शुरु भएको हो। 

पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दानासम्मको खण्डमा निर्माणको काम सकिएपछि अहिले पुनःपरीक्षणको काम थालिएको आयोजना प्रमुख चन्दनकुमार घोसले जानकारी दिए। यसअघि दाना सबस्टेशन र खुर्कोट सबस्टेशनमा पहिलो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि पुनः दोस्रो अर्थात् अन्तिम चरणको परीक्षण भइरहेको कालीगण्डकी प्रसारण करिडोर आयोजना प्रमुख घोसले बताए।

अहिले पर्वतको तल्लो मोदी १३२ केभी प्रसारण लाइनमा प्राविधिक जाँचलगायतका काम भइरहेको आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले जानकारी दिए। तल्लो मोदी आसपासका क्षेत्रको अनुगमन तथा बाटोमा पर्ने रुख काट्ने तथा अन्य काम पनि भइरहेको उनको भनाइ छ। दाना–खुर्कोट खण्डमा निर्माणका सबै कामलाई अन्तिम चरणमा पु¥याइएको आयोजनाका सहायक निर्देशक भट्टराईले बताए। 

उनका अनुसार खुर्कोटभन्दा अगाडि बुटवलसम्मको खण्डमा पनि आयोजना निर्माणका काम तीव्र गतिमा अगाडि बढिरहेको छ। दानादेखि खुर्कोटसम्म यसअघि नै प्रसारण लाइन निर्माणका लागि आवश्यक टावर निर्माण तथा तार तान्नेलगायत सबै काम सकिएको थियो। दाना र खुर्कोटमा दुई सबस्टेशन तथा त्यसबीचमा ११० टावर निर्माण गरी ३९ दशमलव छ किलोमिटर लामो तार टाँगिएको छ। एशियाली विकास बैंकको तीन अर्ब रुपैयाँ ऋण सहयोग तथा नेपाल सरकारको झण्डै ८० करोड रुपैयाँको लागतमा खुर्कोट–दाना खण्डमा प्रसारण लाइनको काम गरिएको आयोजनाका सहायक निर्देशक भट्टराईको भनाइ छ।

कालीगण्डकी प्रसारण करिडोर आयोजना निर्माणका लागि जेभी अफ टाटा प्रोजेक्ट एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले निर्माणको जिम्मा पाएको हो। आर्थिक वर्ष २०७१÷७२ मा निर्माण सम्झौता भई आव २०७५÷७६ मा निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भए पनि आयोजना सम्पन्न गर्न ढिलाइ भएको थियो। 

निर्माणका क्रममा विभिन्न ठाउँमा बाढीपहिरो, टावर ठड्याउने तथा तार तान्ने ठाउँमा स्थानीयको अवरोध, मुआब्जा वितरणमा समस्या र पछिल्लो समय विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसले गएको चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीले तोकिएको समयमै आयोजना सम्पन्न हुन ढिलाइ भएको हो। अब छिटै आयोजनामार्फत बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने तयारी शुरु भएको छ। अहिले विभिन्न जलविद्युत् आयोजनाको विद्युत् गृहबाट उत्पादित विद्युत्लाई दाना सबस्टेशनमा पठाएर जडान गर्ने कामलाई अगाडि बढाइएको छ। सो लाइनमा साविक धौलागिरिका सबै जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् जडान गरिने भएको छ।

प्रकाशित मिति: १४:१९ बजे, शुक्रबार, माघ २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्