Kathmandu Press

विमानका पार्टपुर्जामा लगाइएको १५ प्रतिशत कर  मंगलबारदेखि लागू    

संयुक्त राज्य अमेरिकाले फ्रान्स र जर्मनीमाथि विमान सेवाका पार्टपुर्जा र अन्य उत्पादनमाथि लगाएको नयाँ करवृद्धि मंगलबारदेखि लागू हुने जनाएको छ ।
विमानका पार्टपुर्जामा लगाइएको १५ प्रतिशत कर  मंगलबारदेखि लागू    

वासिङ्टन–  संयुक्त राज्य अमेरिकाले फ्रान्स र जर्मनीमाथि विमान सेवाका पार्टपुर्जा र अन्य उत्पादनमाथि लगाएको नयाँ करवृद्धि मंगलबारदेखि लागू हुने जनाएको छ ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले एक सूचना प्रकाशन गरी फ्रान्स र जर्मनीबाट उत्पादित ठूला नागरिक विमानका पार्टपुर्जामा १५ प्रतिशत थप कर उठाइने जनाएको छ । साथै यी दुई मुलुकका अन्य कतिपय उत्पादनमा २५ प्रतिशत भन्सार कर लिइने पनि विभागले बताएको छ ।     

युरोपेली मुलुकहरुले आफ्ना विमान उत्पादक कम्पनीहरुलाई अनुदान उपलब्ध गराएको र त्यसबाट अमेरिकी कम्पनी पनि प्रभावित भएको तथा बजारमा अस्वस्थ प्रतिस्पर्धा उत्पन्न भएको जनाउँदै अमेरिकी प्रशासनले युरोपेली उत्पादनमा करवृद्धि गर्ने घोषणा गरेको थियो । गत साता, अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले विमानका पार्टपुर्जामा थप १५ प्रतिशत करवृद्धि गर्ने घोषणा गरेको थियो । साथै फ्रान्स र जर्मनीबाट उत्पादित वाइनमाथि २५ प्रतिशत थप कर लिइने बताइएको थियो ।     
     
अमेरिकी ट्रम्प प्रशासनले अक्टोबर २०१९ देखि नै करिब साढे सात अर्ब डलर बराबरका युरोपेली वस्तुमा थप कर लगाउने तयारी गरेको थियो । विश्व व्यापार संगठनले युरोपेली विमान उत्पादक एयरबस र अमेरिकी बोइङ कम्पनीलाई सरकारहरुले प्रदान गरिरहेको अनुदानमाथि प्रश्न उठाउँदै आएको थियो ।     

अमेरिकी घोषणासँगै युरोपेली युनियनले पनि नोभेम्बर २०२० मा ४ अर्ब डलर बराबरका अमेरिकी उत्पादनमा पनि करवृद्धि गर्ने घोषणा गरेका थिए ।  अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले भने युरोपले अमेरिकी सामानबाट बढी कर असुल्न चाहेको प्रतिक्रिया दिएको छ । तर अमेरिकाले खासगरी युरोपका फ्रान्स र जर्मनीमाथि बढी दबाब दिएको छ ।  
     

प्रकाशित मिति: १४:०४ बजे, मंगलबार, पुस २८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्