Kathmandu Press

युवासंघ वाईसीएललाई, अनेरास्ववियु एमालेको भागमा

काठमाडौं, जेठ २ : नेकपा सचिवालयको बैठकले युवा संगठनको नेतृत्व पूर्व माओवादी (वाईसीएल) र विद्यार्थी संगठन (अनेरास्ववियु) को नेतृत्व साविक एमालेले नेतृत....

युवासंघ वाईसीएललाई, अनेरास्ववियु एमालेको भागमा
Hardik ivfHardik ivf

काठमाडौं, जेठ २ : नेकपा सचिवालयको बैठकले युवा संगठनको नेतृत्व पूर्व माओवादी (वाईसीएल) र विद्यार्थी संगठन (अनेरास्ववियु) को नेतृत्व साविक एमालेले नेतृत्व लिने गरी एकता गर्ने टुंगो लगाएको छ। 

प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टी एकताको एक वर्ष पुगेकै दिन जनवर्गीय संगठनको एकता टुंग्याउने निर्णय गरेको हो । पार्टी एकताको दिवश पारेर भोलि जेठ ३ गते ‘मदन–आश्रित स्मृति समारोह’ बाट एकताको घोषणा गर्ने गरी उक्त सहमति गरिएको हो। 

स्रोतका अनुसार, युवाको संयोजक वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले हुने भएका छन् भने अखिलको नेतृत्व चाहिँ एमाले–अखिलका ऐन महरले पाएका छन्। संयोजक एमालेको भागमा परेको संगठनमा सह–संयोजक माओवादी र संयोजक माओवादीको भागमा परेको संगठनमा सहसंयोजक एमालेले पाउने गरी भागबण्डा गरेको हो ।

२२ वटा जनवर्गीय संगठनको प्रमुख र उपप्रमुख भाग लगाइएको हो । विद्यार्थी संगठनसँग युवा, मजदुरसँग महिला,  पत्रकारसँग बुद्धिजीवी,  प्रवाससँग पेशागत महासंघ र दलितसँग मुस्लिम संगठनको लेनदेन गरी मिलाइएको स्रोतको दाबी छ। सबै समूहमा रोजेको एमाले र छाडेको माओवादीले लिएको स्रोतको दाबी छ।  

साविक एमालेले प्रभावशाली मानिने विद्यार्थी संगठनको संयोजक छाड्न मानेन। त्यसबापत माओवादीले युवाको नेतृत्व वाइसीएलको दाबी छाडेन। प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भने राष्ट्रपतिले संसद्मा ‘मेरो सरकार’ भनेकोमा सार्वजनिक टिप्पणी गरेको, जनयुद्धको चर्को वकालत गरेको भन्दै दीप शिखालाई नेतृत्व दिन नहुने पक्षमा थिए।

माओवादीप्रति तुलनात्मक कडा दृष्टिकोण राख्ने ईश्वर पोखरेलले पनि दीप शिखाको विपक्षमा थिए तर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दीप शिखाको पक्षमा अडान छाडेनन्। अन्ततः कुरो मिल्यो। युवा संगठनको सहसंयोजक एमालेको युवासंघ अध्यक्ष रमेश पौडेल भए भने विद्यार्थीका सहसंयोजक माओवादीका रञ्जित तामाङले पाए।

एमालेको अनेरास्ववियूकी अध्यक्ष नवीना लामालाई चाहिँ संगठनबाट बिदा दिइएको छ । उनी संघीय संसद्को प्रतिनिधिसभा सदस्य छिन् । महर अखिलका महासचिव थिए । संगठनमा भोलि गुटगत प्रभाव बचाइ राख्न पनि अध्यक्ष ओलीकै रुचिमा महरलाई संयोजक बनाइएको स्रोतको दाबी छ । 

त्यसैगरी, एमालेभित्र प्रभावशाली मानिने नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठ मजदुरको संयोजक भएका छन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल (यसअघि जी–फन्ट अध्यक्ष) मजदुर माओवादीलाई दिन तयार हुने कुरै भएन। अन्तर्राष्ट्रिय श्रम संगठनसँग सहकार्य गरिरहेको उक्त संगठन एमालेभित्र आर्थिक रूपमा निकै सबल र अन्तर्राष्ट्रिय सम्बन्ध बलियो भएको संगठन मानिन्छ। सहसंयोजक माओवादीका जगत सिंखडा भए। 

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष त्यागेपछि एमालेको प्रभावशाली नेतृत्व नपाएको अखिल नेपाल महिला संघमा चाहिँ माओवादीको भागमा दिन साविकका एमाले नेताहरू तयार भएका हुन् । साविक माओवादीकेन्द्रकी अमृता थापा यसको संयोजक भइन् भने सीता पौडेल सहसंयोजक भइन्।  

बुद्धिजिवीको नेतृत्व साविका एमालेका डा. दिनेशचन्द्र देवकोटा भए भने सहसंयोजक माओवादीका कृष्ण केसीले पाए । पत्रकारको नेतृत्व माओवादीका महेश्वर दाहालले पाउने भए भने सहसंयोजक एमालेका गणेश बस्नेत हुने भए।  

त्यस्तै, पेशागत महासंघमा एमालेका विश्वनाथ प्याकुरेल संयोजक भए भने सहसंयोजक माओवादीका दयाराम बस्याल भए। जनसांस्कृतिक महासंघमा एमालेका खगेन्द्र राई र सहसंयोजकमा माओवादीका सरल सहयात्री तोकिने भए। 

मुस्लिम संगठनमा एमालेका सराज मोहम्मद फरुकी संयोजक र माओवादीका अत्तहर हुसेन सहसंयोजक तोकिए। त्यस्तै, दलित संगठनको संयोजकमा माओवादीका तिलक परियार र सहसंयोजकमा एमालेका ओमबहादुर विश्वकर्मा हुने सहमति भयो।

प्रकाशित मिति: १८:३७ बजे, बिहीबार, जेठ २, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्