Kathmandu Press

महिला ‘माझी’, जसलाई पुरुषले विश्वास गर्दैनन् 

झट्ट हेर्दा चलचित्र पुरानो डुंगाकी पात्र मनमाया (मेनुका प्रधान) जस्तै लाग्छिन्, विमला गुरुङ । फरक यही हो, मनमाया चलचित्रमा माझीकी पत्नी हुन्, विमला वास्तविक जीवनमा स्वयं माझी हुन्।
महिला ‘माझी’, जसलाई पुरुषले विश्वास गर्दैनन् 

काठमाडौं, पुस ११ : अघिल्लो साता बुधबार बिहान फेवातालको तालबराही मन्दिरअगाडि डुंगाचालक विमला गुरुङले यात्रु कुरिरहेकी थिइन्। 

गाढा नीलो रंगको डुंगामाथि बहना (डुंगा खियाउने साधन) समाएर बसेकी उनी हामीलाई नजिकै देखेपछि मुसुक्क हाँसिन् । हामीलाई तालबहारीको दर्शन गर्नु थियो र केहीबेर फेवातालमा सयर गर्नु पनि थियो। 

हामीलाई डुंगामा चढाएपछि उनले बहना चलाउन थालिन्– घरी दायाँ, घरी बायाँ।  

बिहानै ६ बजे फेवातालमा आउनु, यात्रु पर्खनु र डुंगा खियाउनु– पछिल्ला ६ वर्षदेखि २८ वर्षीया विमलाको दैनिकी बनेको छ।

 यिनको आफ्नै जीवनकथा छ, जुन कुनै चलचित्र वा साहित्यमा आएको छैन । दुई वर्षअघि रामबाबु गुरुङ निर्देशित चलचित्र ‘पुरानो डुंगा’ आएको थियो । जसमा डुंगा चलाउने दुई माझी दाजुभाइको कथा छ ।

झट्ट हेर्दा त्यस चलचित्रकी पात्र मनमाया (मेनुका प्रधान) जस्तै लाग्छिन्, विमला । फरक यही हो, मनमाया चलचित्रमा माझीकी पत्नी हुन्, विमला वास्तविक जीवनमा स्वयं माझी हुन्।

केही नमिठो अनुभव छ उनीसँग– पुरुषयात्रु चालक महिलासँग डुंगा सयर गर्न डराउँछन् । पुरुषहरुलाई शंका लाग्छ– महिलाको के भर! 

विमलालाई फेवातालले धेरै कुरा सिकाएको छ । डुंगा मात्रै होइन, जहाज र देश हाँक्ने पनि महिला छन् दुनियाँमा । जेहोस्, उनलाई डुंगा, बहना र आफ्नो क्षमतामाथि विश्वास छ।

रसुवा स्थायी घर भएकी उनको पोखरा महानगरपालिका लेकसाइट कर्मथलो बनेको छ । १२–१३ वर्षको उमेरदेखि पोखराको फेवाताल हेर्दै आएकी उनलाई फेवाताल नै संसार लाग्छ । उनी भन्छिन्, ‘किनभने, यहाँ संसारभरिका मान्छे आउँछन्।’

 उनले १० वर्षको उमेरदेखि फेवातालमा पौडी खेल्न सिकेकी हुन् । गर्मी छल्न पौडिन सिकेकी उनले सोचेकी थिइनन्, कुनै दिन गुजाराका लागि यहाँ डुंगा चलाउनुपर्छ । ७ कक्षा सम्म पढेकी उनले सानै उमेरदेखि संघर्ष गरिन्, कहिले कपडा पसलमा काम गरिन्, कहिले होटेलमा भाँडा माझिन्।

अन्ततः उनलाई फेवातालले तान्यो । फेवातालमा माछाजस्तै पौडिने उनलाई साथीहरुले सुझाए– पौडिन सकिहाल्छ्यौ, फेवातालमा डुंगा चलाऊ । यसपछि उनले अग्रज डुंगा चालक महिला लक्ष्मी कार्कीलाई भेटिन् । लक्ष्मीको भनसुनमा उनले भाडामा डुंगा पाइन् । उनी भन्छिन्, ‘अहिलेसम्म भाडाको डुंगा चलाइरहेकी छु । एक घन्टा डुंगा चलाएको एक सय ५० रुपैयाँ आउँछ ।’

फेवातालमा तीन सय ५६ डुंगा छन् । जसमा यात्रुको चाप हेरेर पालो आउँछ । ‘पालो आउँदा मानिसहरु डुंगामा गएर बस्छन्,’ उनी भन्छिन्, ‘चालकका रुपमा मलाई देखेपछि काउन्टरमा गएर पुरुष यात्रुले गुनासो पोख्न थाल्छन्– महिला चालकको के भर, डुंगा पल्टाउन पनि सक्छन् भनेर।’

 डुंगामा बसिसकेका कति उत्रिन्छन् पनि । निराश हुँदै उनी भन्छिन्, ‘महिलाहरुले महिलालाई विश्वास गरे पनि पुरुषहरु चढ्न मान्दैनन् ।’
उनलाई थाहा छ, यो समाजले शिक्षित र अशिक्षित, धनी र गरिबलाई भेद गर्छ । उनी भन्छिन्, ‘हवाईजहाज चलाउने महिलालाई सजिलै विश्वास गर्छन् मान्छेहरु, तर डुंगा चलाउनेलाई गर्दैनन् । किनभने यो पढे– लेखेकाले गर्ने काम होइन।’ 

डुंगा चलाएरै दुई छोराछोरीलाई डाक्टर–पाइलट बनाउने सपना बुनेकी छन् उनले । उनी भन्छिन्, ‘मेरो श्रीमान्ले पनि पर्यटकलाई गाइड गर्ने काम गर्नुहुन्छ । तर, अहिले बाह्य पर्यटक नआएकाले काम रोकिएको छ।’

फेवातालमा कहिलेकाहीँ हावाहुरीले धोका दिन्छ । एक वर्षअगाडि चैतमा चारजना भारतीय पर्यटकलाई उनले डुंगामा सयर गराइरहेकी थिइन्, एक्कासि हावाहुरी आयो । ती पर्यटक पर्यटक आत्तिएर रुन थाले । यो उनका लागि अविस्मरणीय क्षण हो।

 डुंगा चालक र यात्रुले सेफ्टी ज्याकेट अनिवार्य लगाउनुपर्छ । उनी भन्छिन्, ‘दुर्घटना भइहाले सेफ्टी ज्याकेटले केहीबेर जोगाउन सक्छ ।’
कोभिड–१९ का कारण लामो समय बन्द भएको डुंगा दशैं–तिहारपछि सञ्चालनमा आएको हो। 

कोभिड–१९ को जोखिमका कारण बाह्य पर्यटक नभए पनि आन्तरिक पर्यटक आइरहेकाले डुंगा सञ्चालन गरेको ‘पोखरा पर्यटक परिषद’को भनाइ छ । परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईका अनुसार, डुङगा सञ्चालन गरेपछि आन्तरिक पर्यटक बढेका छन् ।

अहिले दैनिक एक हजार आन्तरिक पर्यटक फेवाताल आउने गरेका छन्, कोभिडअघि दैनिक चार हजारभन्दा बढी पर्यटक आउँथे। 
 

प्रकाशित मिति: ०९:५६ बजे, शनिबार, पुस ११, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्