Kathmandu Press

‘काठमाडौंमा कोरोना ‘सुपर स्प्रेडर’को खतरा छ, स्कुल-कलेज र विवाह रोकौं’

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन काठमाडौंमा अहिले स्कुल, कलेज, पार्टी प्यालेस लगायतका भिडभाड हुने स्थल खोल्नु घातक हुने बताउँछन्।
‘काठमाडौंमा कोरोना ‘सुपर स्प्रेडर’को खतरा छ, स्कुल-कलेज र विवाह रोकौं’
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर २४ : पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभर कोरोना  संक्रमितको संख्या केही घटिरहेका बेला कोरोनामुक्त भएझै भइरहेका गतिविधिले कोरोनाको दोस्रो छाल खतरानाक हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन्। 

अहिले केही स्कुल तथा कलेज, विवाहका कार्यक्रम र सडकमा ठूलो समूहमा हुने आन्दोलनले भोलिका दिनमा भयावह अवस्था आउन सक्ने उनीहरुको दाबी छ। 

राजनीतिक दलका सभा–सम्मेलन, विवाह, कलेज खोल्नु लगायतका गतिविधिले उपत्यका लगायत देशभर कोरोनाको अझ बढी खतरा निम्त्याउने जनस्वास्थ्यविद् डा. राविन्द्र पाण्डे बताउँछन्।

‘अहिले आँधी आउनुअघिको जुन सन्नाटा हुन्छ, त्यो खालको अवस्था देखिएको छ,’ डा. पाण्डेले काठमाडौं प्रेससँग भने ‘नेपालमा यदि दोस्रो लहर आयो भने त्यसको सामना कसरी गर्ने? हाम्रो तयारी के छ? लगायतका कुरामा सरकारको पटक्कै ध्यान गएको छैन।’

यस्तै, संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन काठमाडौंमा अहिले स्कुल, कलेज, पार्टी प्यालेस लगायतका भिडभाड हुने स्थल खोल्नु नै घातक हुने बताउँछन्।  ‘मेरो सूचनामा आएको एक जना मानिस विवाहको कार्यक्रममा जानु अघि कोरोना परीक्षण गरेको थियो। तर, जाने दिनमा कोरोना संक्रमित रहेको रिपोट आयो,’ डा.पुनले भने, ‘अर्को एक जना मानिस यस्तै भोजमा गएर संक्रमित भएर अहिले भेन्टिलेटरमा बसिरहेको छ।’

डा. पुन कतिपय लक्षण भएका वा लक्षणविहिन मानिस परीक्षण नै नगरी यस्ता मानिसहरुको जमघट हुने कार्यक्रममा सामेल हुँदा ‘सुपर स्प्रेडर’ बन्ने  खतरा रहेको बताउँछन्। 

‘अहिले काठमाडौंका स्कुल, कलेज, पार्टी प्यालेस लगायतका भिडभाड हुने ठाउँ खोल्ने बेला भएकै छैन,’ डा. पुनले भने, ‘उत्सव तथा समारोहमा सरिक हुँदा सुपर स्प्रेडरको डर देखिएको छ।’ 

कोभिड–१९ को संक्रमण दर केही घटेपछि केही स्कुल तथा कलेजमा नियमित रुपमा सञ्चालन हुने तयारी भइरहेको छ। तर, कोरोनाको मापदण्ड पूरा गर्ने तयारी नभएकाले पनि त्यसले कोरोनाको दोस्रो छाल भयंकर हुन सक्ने चिकित्सकको भनाइ छ। 

‘कतिपय स्कुल सरकारको आँखा छलेर पनि सञ्चालनमा आइरहेका छन्’, डा. पाण्डेले भने, ‘यस्ता कुरामा अन्य देशको अवस्था हेरेर पनि सावधानी अपनाउनु पर्ने हुन्छ।’

उदाहरणका लागि भारतमा स्कुल खुलेको केही दिनमै कोरोना संक्रमितको संख्या बढेर बन्द गर्नुपर्ने अवस्था आएको थियो। यस्तै, कोरिया, जापान लगायतका देशमा पनि स्कुल खुलेको केही दिनमै बन्द भएका थिए। नेपालमै पनि हुम्लामा कोरोना संक्रमितको शून्य संख्या रहेको भन्दै स्कुल खोल्दा २६ जनामा संक्रमण देखिएको भएर फेरि बन्द गरेको डा. पाण्डे बताउँछन्। 

डा. पाण्डे भन्छन्,‘काठमाडौं उपत्यका लगायतका शहरका स्कुलमा बाथरुमको पर्याप्त व्यवस्था नहुनु, मास्कको अनिवार्य प्रयोग नहुनु, दूरी कायम गर्न सम्भव नभएका कारण स्कुल खोल्न सम्भव छैन। विद्यार्थी संक्रमित भएमा त्यो संक्रमण घर–घरमा पुग्ने र ज्येष्ठ नागरिक तथा दीर्घ रोगीलाई जोखिम अवस्थामा पु¥याउँछ। त्यसैले अहिले नै स्कुल खोल्न हतार गर्न हुँदैन।’

साथै विद्यार्थी मात्र नभएर कतिपय शिक्षक नै संक्रमित भएर रोग सार्न सक्ने सम्भावना भएकाले तत्काल स्कुल नखोल्नु नै उपयुक्त हुने डा. पाण्डे बताउँछन्। माघ महिनासम्म परीक्षणको दायरा बढाएर स्कुल खोल्न सकिने स्थिति छ कि छैन भन्नेबारे अध्ययन गरेर गाइडलाइन बनाएर मात्र स्कुल खोल्ने निर्णय लिनुपर्ने सरकारलाई उनको सुझाव छ।
 

प्रकाशित मिति: १३:४५ बजे, बुधबार, मंसिर २४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्