Kathmandu Press

नेपालमा कोरोना संक्रमण साँच्चिकै घटेको हो कि घटाइएको?

‘धेरै मानिसमा परीक्षण गरेर थोरैमा मात्र कोरोना संक्रमण देखिएको भए रोग नियन्त्रण भएको मान्न सकिन्थ्यो,’ संक्रामक रोग विशेषज्ञ डा. पुनले,‘सरकारले परीक्षण घटाएको भएर मात्र संक्रमितको संख्या कम देखिएको हो। मृत्युदर त बढेकै छ।’
नेपालमा कोरोना संक्रमण साँच्चिकै घटेको हो कि घटाइएको?

काठमाडौं, मंसिर १६ : केही दिन यता देशभर कोरोना संक्रमितको संख्या घटेको सरकारी तत्थ्यांकले देखाएको छ।

तर, कोरोना संक्रमितको संख्या घट्नुको पछाडि  रोग नियन्त्रण नभई परीक्षणको कमीका कारण भएको विज्ञहरु बताउँछन्।

सरकारले कोरोना परीक्षणका लागि शुल्क तिर्नुपर्ने नीति ल्याएपछि परीक्षण गराउनेको संख्या ह्वात्तै घटेको जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे बताउँछन्।

‘सरकारले निःशुल्क कोरोना परीक्षण गराउन छोडेपछि मानिसहरु अस्पताल गएर आफैँ रकम तिरेर परीक्षण गराउन नरुचाएका हुन्,’ उनले काठमाडौं प्रेससँग भने ‘अहिले परीक्षण गर्ने भनेको विदेश जाने, अफिस तथा घरबेटीलाई नेगेटिभ रिपोर्ट देखाउनु पर्ने बाध्यता भएकाहरुले मात्रै परीक्षण गराइरहेको देखिएको छ।’

विगतको तुलनामा अहिले कोरोना संक्रमितको संख्या घटेको सरकारी तत्थ्यांकमा देखिएपनि वास्तवमा यो पहिलाभन्दा बढी हुनुका साथै मृत्युदर समेत बढेको संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। 

‘धेरै मानिसमा परीक्षण गरेर थोरैमा मात्र कोरोना संक्रमण देखिएको भए रोग नियन्त्रण भएको मान्न सकिन्थ्यो,’ उनले भने,‘सरकारले परीक्षण घटाएको भएर मात्र संक्रमितको संख्या कम देखिएको हो। मृत्युदर त बढेकै छ।’ सरकारले विगतमा गरिरहेको कन्ट्याक ट्रेसिङ पनि अहिले लागभग रोकिसकेको डा. पुन बताउँछन्।

उनका अनुसार संक्रमितको संख्या बढ्दै जाँदा मृत्युदर बढ्नु सामान्य हो। तर नेपालको सन्दर्भमा अहिले संक्रमितको संख्या विस्तारै घटेको देखिएपनि मृत्यु हुनेको संख्या भने बढिरहेको छ। नेपालमा कोरोना साँच्चिकै घटेको होइन। घटेको जस्तो देखाइएको हो भन्ने कुराको यो नै सबैभन्दा बलियो प्रमाण हो। 

पहिला मानिसहरु कहाँ र को-को संक्रमित छन्? भनेर खोज्नु पथ्र्यो। जबकि अहिले हरेक टोलमा संक्रमित छन्। यस्तो समयमा सरकारले एन्टिबडी परीक्षण गर्ने, पीसीआर परीक्षणलाई तीब्रता दिने, कन्ट्याक ट्रेसिङ लगायतका काम गर्नुपर्ने डा. पाण्डे बताउँछन्।

उनका अनुसार सुरुमा तराई क्षेत्रमा कोरोना व्यापक फैलिएको थियो तर अहिले छैन। यस्तो कसरी भयो? विगतका क्रियाकलाप हेरेर आगामी दिनमा यसलाई कसरी नियन्त्रण गर्ने? भनेर सरकारले अनुसन्धान गर्नुपर्ने हो तर यस्तो गरिएको पाइएन। 

यस्तै, लक्षण भएका मानिसले मात्र कोरोना परीक्षण गर्नुपर्छ भन्ने गाइडलाइनमा समावेश गरिएकाले पनि मानिसमा भ्रम पैदा भएको डा. पुनको भनाइ छ। अहिले कतिपय मानिसमा कोरोना संक्रमण पुष्टि भएमा १४ दिन आइसोलेसनमा बस्नु पर्ने, व्यवसायमा समस्या आउने, समाजले गर्ने छुवाछूत लगायतका कारणले पनि परीक्षण नगराएको पाइएको छ। 

सामान्य लक्षणलाई मानिसले हेलचक्राइँ गर्ने र धेरै गाह्रो भएपछि मात्र अस्पताल आउने भएकाले मृत्युको जोखिम बढ्छ। यस्तै कारणले संक्रमितको संख्या कम देखिए पनि मृत्युदर बढेको हुनसक्ने उनले बताए।  यतिमात्र नभई सरकारले कोरोनाबारे दिने दैनिक डाटामात्र संक्रमित वा मृत्यु हुनेको संख्या नरहेको डा. पाण्डे बताउँछन्।

डा. पाण्डे भन्छन्,‘अहिले अधिकांश मानिस कोरोना संक्रमित भएर वा परीक्षण नगरी शंका लागेर होम आइसोलेसनमा बसिरहेका छन्,’ उनले भने,‘यसरी होम आइसोलेसनमा मृत्यु भएका मानिसको डाटा आएको छैन।’

अहिले अस्पतालका आइसोलेसन र आइसोलेसन केन्द्रहरु खाली रहेको उनले बताए। ‘संक्रमण भएपछि मानिसहरु होम आइसोलेसनमा बसिरहेका छन्। अस्पतालको जेनेरल बेडहरु खाली छन् तर आईसीयू र भेन्टिलेटर भने भरिएका छन्। यो अवस्था हेर्दा जनता परीक्षण गर्न उत्सुक नभएको पुष्टि हुन्छ,’ डा. पाण्डेले भने।
 

प्रकाशित मिति: २३:१४ बजे, मंगलबार, मंसिर १६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्