Kathmandu Press

प्रजातन्त्र सेनानी घोइरो कामीको निधन

लमजुङ, मंसिर १० : प्रजातन्त्र सेनानी दिलबहादुर कामी (घोइरो कामी) को ८४ वर्षका उमेरमा निधन भएको छ। गण्डकी प्रदेशअन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका–७ इशानेश्वरमा...
प्रजातन्त्र सेनानी घोइरो कामीको निधन
Hardik ivfHardik ivf

लमजुङ, मंसिर १० : प्रजातन्त्र सेनानी दिलबहादुर कामी (घोइरो कामी) को ८४ वर्षका उमेरमा निधन भएको छ। गण्डकी प्रदेशअन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका–७ इशानेश्वरमा बस्दै आएका कामीको आफ्नै निवासमा मंगलबार साँझ निधन भएको हो।

गत जेठदेखि उनमा दम र मुटुको समस्या बल्झिएको थियो। अस्वास्थ्यका कारण आफ्नै निवासमा उनी कष्टकर जीवन बिताउँदै आएका थिए। नेपाली काँग्रेस जिल्ला कार्यसमिति लमजुङका सभापति भेषबहादुर पौडेलको उपस्थितिमा आज उनको अन्यष्टी गरिने जिल्ला कार्यसमितिका पूर्व सचिव आनन्द घिमिरेले जानकारी दिए।

उनले भने, ‘उहाँको निधनले हामीलाई दुःखी तुल्याएको छ।’ प्रजातन्त्र सेनानी कामीका एक छोरा, एक बुहारी, चार छोरी र छोरापट्टीको एक नाती छन्। श्रीमतीको भने करिब दुई दशक अघि नै निधन भइसकेको छ। उनी नातीसँग बस्दै आउएका थिए।

प्रजातन्त्र सेनानी कामी बिपी स्मृति ट्रस्टद्वारा विसं २०७२ मा सम्मानित  भएका थिए। घोइरो कामीले विसं २००६ मा राणा शासनको विरुद्धमा काँग्रेसको झण्डा देखाएर मुलुकमा प्रजातन्त्र स्थापनाको आह्वान गरेका थिए। विसं २००६ मा काँग्रेसद्वारा आह्वान गरिएको राणा शासनको विरुद्धमा झण्डा बोकेर जिल्लाको इशानेश्वर भेगमा गरेको प्रदर्शनको सम्मानस्वरुप प्रजातन्त्र आएपछि नवलपरासी जिल्लामा ३ कट्ठा जग्गासमेत बकस प्राप्त गरेका थिए।

उक्त जग्गा बिक्री गरेर उनी यस जिल्लाको तत्कालीन इशानेश्वर गाविसको चिसङ्कु गाउँबाट लमजुङकै भोर्लेटारमा बसाइँसराइ गरेर बस्दै आएका थिए। बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको निकट रहेर राजनीतिमा होमिएका घोइरो कामी काँग्रेसका साहासी, अनुशासित तथा इमान्दार कार्यकर्ताका रुपमा चर्चित थिए।

त्यति बेला काँग्रेस नेता भट्टराईले घोएरो कामीको इमान्दारिता देखेर आफूले लगाएको कोट फुकालेर लाउन दिएको र कामीले उक्त कोटमा पैसा रहेछ भन्दै भट्टराईलाई पैसा फिर्ता गरेको प्रसङ्ग काँग्रेस वृत्तमा चर्चाको विषय बनेको थियो।

प्रकाशित मिति: १९:२० बजे, बुधबार, मंसिर १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्