Kathmandu Press

‘गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम’

लुम्बिनी, मंसिर ८ : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मातृशिशु स्वास्थ्य प्रवद्र्धनको लागि ‘गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम’ सञ्चालन गरेको छ। नगरपालिकाले गत वर्षबाट शुरु गरेको...
‘गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम’

लुम्बिनी, मंसिर ८ : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मातृशिशु स्वास्थ्य प्रवद्र्धनको लागि ‘गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम’ सञ्चालन गरेको छ। नगरपालिकाले गत वर्षबाट शुरु गरेको कार्यक्रमलाई थप प्रभावकारी बनाउन परिमार्जनसहित चालू आर्थिक वर्ष २०७७/७८ मा निरन्तरता दिएको हो।  

परिमार्जित कार्यक्रमअनुसार गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलालाई विभिन्न ‘उपहार’ दिने व्यवस्था मिलाइएको छ। सोअनुसार गर्भवतीले चार महिनामा स्वास्थ्य जाँच गराउँदा सुपानेट झुलसहित सन्देशमूलक क्यालेण्डर, ६ महिनामा पोषण सेट, आठ महिनामा सरसफाइ सेट र नौ महिनामा मसला सेट प्राप्त गर्नेछन्। 

यस्तै नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिनेले शिशु–स्याहार सेट तथा सङ्घीय सरकारले उपलब्ध गराउने यातायात रकमको अतिरिक्त थप एक हजार रुपैंयाँ प्रोत्साहन रकम प्राप्त गर्नेछन्। यस्तै नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने आइरन चक्कीसँगै आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर गर्भवतीलाई निःशुल्क रुपमा क्यालसियम समेत दिने गरेको छ। 

गर्भावस्था विशेष अवस्था भएकोले यो समयमा महिलालाई अतिरिक्त स्वास्थ्य सेवा, पोषण, स्याहार र सरसफाइ आवश्यक हुने हुँदा त्यसको सन्देश प्रवाहको लागि यो कार्यक्रम शुरु गरिएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले जानकारी दिए। यो कार्यक्रमले गर्भवती महिलाको स्वास्थ्यमा विशेष ख्याल राख्न सबैको ध्यानाकर्षण गराउने र त्यसबाट गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य राम्रो हुने उनको विश्वास छ। 

कार्यक्रमको प्रभावकारी कार्यान्वयनले नियमित गर्भजाँच गराउन सरकारी स्वास्थ्य संस्थामा जाने महिलाको सङ्ख्यामा वृद्धि भई मातृशिशु स्वास्थ्य प्रवद्र्धनमा टेवा मिल्ने उनले बताए। नगरपालिकामा वार्षिक तीन हजार महिलाले गर्भवती सेवा लिने अनुमान छ। यो कार्यक्रमले सरकारी स्वास्थ्य संस्थाप्रतिको आकर्षण बढाउने नगरपालिकाको भनाइ छ। 

तिलोत्तमा नगरपालिकाले ‘गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम’ कार्यक्रम नगरका सबै सरकारी स्वास्थ्य संस्थाबाट उपलब्ध हुने जनाएको छ । सबै वडामा कम्तीमा एउटा सरकारी स्वास्थ्य संस्था पर्‍याउने नीतिअनुसार हाल तिलोत्तमाका १४ वडामा सरकारी स्वास्थ्य संस्था पुगेका छन्। नगरपालिकाको मधबलिया स्वास्थ्यचौकीमा आज गर्भवतीलाई उपहार  प्रदान गरी कार्यक्रमको शुभारम्भ गरिएको छ। कार्यक्रममा नगर प्रमुख वासुदेव घिमिरेले स्वास्थ्यनैं मानिसको पहिलो धन भएकोले नागरिकको स्वास्थ्यसेवा प्रवद्र्धनको लागि यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

प्रकाशित मिति: १८:४३ बजे, सोमबार, मंसिर ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्