Kathmandu Press

मध्यपहाडी सडक आयोजनाको गाडी काठ तस्करीमा

दैलेख, मंसिर ८ : मध्यपहाडी सडक आयोजनाअन्तर्गत सडक निर्माणका लागि प्रयोग गरिएको गाडी काठ तस्करीमा संलग्न भएको पाइएको छ। दैलेखको पश्चिमखण्ड आठबीस नगरपालिका–१...
मध्यपहाडी सडक आयोजनाको गाडी काठ तस्करीमा

दैलेख, मंसिर ८ : मध्यपहाडी सडक आयोजनाअन्तर्गत सडक निर्माणका लागि प्रयोग गरिएको गाडी काठ तस्करीमा संलग्न भएको पाइएको छ। दैलेखको पश्चिमखण्ड आठबीस नगरपालिका–१ मा रहेको मध्यपहाडी सडक निर्माणमा प्रयोग गरिएको वागमती प्रदेश बाट ल्याइएको ०१–००६–१०३८ नं को गाडीमा सल्लाको दार लाद्दै गरेका अवस्थामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो। 

मध्यपहाडी सडकमा दिउँसै दाउराका लागि भनी अत्याधुनिक यन्त्रमार्फत काटिएको सल्लाको १५ गोलियाभन्दा बढी काठ गाडीमा लाद्दै गरेका अवस्थामा प्रहरीले बरामद गरेको छ। काठ लाद्दै गरेका करीब १२ मध्ये मुख्य व्यक्तिका रूपमा रहेका प्रकाश पाल थापालाई यन्त्रसहित प्रहरीले पक्राउ गरेको छ। 

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, प्रहरी प्रमुख अनुपम श्रेष्ठ र  जिल्ला वन कार्यालय दैलेखको संयुक्त टोलीले क्रसर उद्योग अनुगमन गरेर शुक्रबार मध्यपहाडी राजमार्गको पश्चिमखण्ड हुँदै दैलेख सदरमुकाम आउँदै गर्दा सडकखण्डमै काठ तस्करी भएको भेटाएको हो। उपभोक्ता समितिको पुर्जी नदेखाएपछि थापालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ। प्रहरीको टोली देख्नेबित्तिकै टिपर चालक भने फरार भएका छन्।

काठ तस्करीमा संलग्न सबैलाई आवश्यक कानूनी कारवाही प्रक्रिया अघि बढाउने तयारी भएको प्रहरी प्रमुख  श्रेष्ठले जानकारी दिए। दैलेखको पश्चिम क्षेत्रमा नियमित गस्ती बढाउने तयारी भएको छ। तस्करी भएको थाहा पाउनेबित्तिकै प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालयले नागरिकसँग आग्रह गरेको छ।

प्रकाशित मिति: १८:२० बजे, सोमबार, मंसिर ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्