Kathmandu Press

सुपथ मूल्य पसल माघ २ गतेसम्म सञ्चालन हुने

काठमाडौं, मंसिर ८ : चाडपर्वलाई ध्यानमा राख्दै सञ्चालित सुपथ मूल्यका पसल माघसम्म सञ्चालन हुने भएको छ।सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी...
सुपथ मूल्य पसल माघ २ गतेसम्म सञ्चालन हुने

काठमाडौं, मंसिर ८ : चाडपर्वलाई ध्यानमा राख्दै सञ्चालित सुपथ मूल्यका पसल माघसम्म सञ्चालन हुने भएको छ।

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माघ २ गतेसम्म पसल सञ्चालन गर्ने जनाएको छ। सरकारले खाद्य कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानलाई असोज १५ देखि मंसिर ७ गतेसम्म सहुलियत मूल्यमा पसल सञ्चालनको अनुमति दिएको थियो।

सरकारले दिएका समयमा कम्पनीको लक्ष्यानुसार सामग्री बिक्री नभएपनि कोरोना महामारीका समयमा खाद्य वस्तु अभाव हुन नदिन सहुलियत मुल्यका पसल सञ्चालनको अवधि थप गरिएको कम्पनीले जनाएको छ। कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार सरकारले तोकेको सहुलियत मूल्यमा नै माघ २ सम्म २९ वटै बिक्री केन्द्रबाट सहुलियत मूल्य पसल सञ्चालन हुनेछ।

काठमाडौं उपत्यकाका पाँच स्थानसहित कम्पनीको शाखा कार्यालय रहेका जिल्लामा उक्त पसल सञ्चालन हुने कम्पनीले जनाएको छ। कम्पनीमा रहेका सामग्रीसहित साल्ट  कर्पोरेसनले दिएको चिनी बिक्री हुँदै आएको छ।

काठमाडौं उपत्यकाका पाँच स्थानमा राखिएको सुपथ मूल्य पसलमा साढे १० हजार क्विन्टल खाद्यान्न बिक्री भएको सूचना अधिकारी न्यौपानेले बताइन्। उनका अनुसार सुपथ मूल्यका पसलमा सबैभन्दा धेरै चामल बिक्री भएको छ।

खाद्य कम्पनीले समय थप गरे तापनि साल्ट  कर्पोरेशन र दुग्ध  संस्थानले समय थपको कुनै निर्णय नभएको बताएका छन्। कर्पोरेसनका सूचना अधिकारी कुमारराज भण्डारीले सरकारले दिएको निर्देशनानुसार सुपथ मूल्यका पसल सञ्चालन गरिएको बताए। चाडपर्वलाई ध्यानमा राख्दै सरकारले तोकेको समय र मूल्यमा पसल सञ्चालन गरिएको र सरकारको निर्देशन नआएसम्म सहुलियत मूल्यका पसल सञ्चालन नहुने उनले बताए।

सरकारले तोके अनुसार खाद्य कम्पनीले  माघ २ गतेसम्म १८ मा नून, ७० मा चिनी, ८७० मा घ्यू तथा प्रतिकिलो पाँच रुपैयाँ छुटमा चामल, दाल, फापर, तीते फापर र सेतो केराउ बिक्रीवितरण गर्नेछ। (रासस)

प्रकाशित मिति: १७:२२ बजे, सोमबार, मंसिर ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्