Kathmandu Press

केन्द्र हुँदै कार्यकर्ता तहसम्म झाँगिदै नेकपाको विवाद 

खासगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र इतरपक्षबीच भइरहेको किचलोको प्रभाव कार्यकर्तातहसम्म पुगेको पछिल्लो पटक कर्णाली, पर्सा र चितवनमा भएका घटनाले पुष्टि गरेका छन्। 
केन्द्र हुँदै कार्यकर्ता तहसम्म झाँगिदै नेकपाको विवाद 

काठमाडौं, मंसिर ७ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद केन्द्र हुँदै स्थानीय नेता/कार्यकर्ता तहसम्म पुगेको छ। शनिबार चितवनमा आयोजित एक कार्यक्रममा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई आफ्नै पार्टीका कार्यकर्ताले कालो झण्डा देखाउँदै नारावाजी गरेपछि नेकपाको एक वर्षदेखि थाती रहेको आन्तरिक विवाद स्थानीय तहसम्म पुगेको देखिएको हो। 

चितवन घटनापछि नेकपा भित्र लामो समयदेखिको किचलो विस्तारै कार्यकर्ता तहसम्म पुगेको संकेत गरेको छ। खासगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र इतरपक्षबीच भइरहेको किचलोको प्रभाव कार्यकर्तातहसम्म पुगेको पछिल्लो पटक कर्णाली, पर्सा र चितवनमा भएका घटनाले पुष्टि गरेका छन्। 
नेकपामा गुट मौलाउँदै जाँदा पार्टी भने कमजोर बन्दै गएको छ। जसरी केन्द्रमा नेताहरु गुटका नाममा विभक्त छन्, कार्यकर्तामा समेत त्यसको असर बढ्न थालेको छ। 

कर्णाली प्रदेशको नेकपा संसदीय दलमा भएको विद्रोहबाट पार्टीको केन्द्रमा झाँगिएको विवाद तल्लो तहमा सर्न सुरू गरेको थियो। आफ्नै दलका नेता तथा मुख्यमन्त्री हटाउन आफ्नै पार्टीका सांसदहरु सक्रिय बनेका थिए। त्यस लगत्तै पर्सामा गुटकै विवादका कारण नेता मुकेश चौरसियाको हत्या समेत भयो। यी घटनाको छिनोफानो भइनसक्दै चितवनमा अर्को घटना घटेको छ।  

यी घटनाले नेकपा भित्रको विवाद घट्नुको साटो बढ्दै जान थालेको संकेत गरेको छ। चितवन घटनाले मंसिर १३ गते बस्ने भनिएको सचिवालय बैठकमा प्रवेश पाउने सम्भावना छ। यही विषयलाई लिएर विवाद थप बढ्न सक्ने बताइन्छ।  

पार्टीका कार्यकर्ता तहमा पनि विवाद रहँदै आएको तर पछिल्ला घटनाले भने ती विवाद चर्किन थालेको नेताहरुको भनाइ छ। ‘कार्यकर्ता तहमा पनि विवाद हुँदै नभएको होइन, विवाद थिए। तर, चितवनको घटनाले भने कार्यकर्ता तहमा पनि विवाद चर्किएको पुष्टि भएको छ,’ स्थायी समिति सदस्य रुघुजी पन्तले भने, ‘कार्यकर्ता तहमा भएको विवाद छताछुल्ल हुनेगरी प्रकट भइसकेको थियो। तर, चितवनमा उत्तेजक र अराजनीतिक ढंगले व्यक्त भयो यो दुःखद् कुरा हो।’ 

केन्द्रबाट नै तिक्तता बढाउने काम हुँदा कार्यकर्ता तहमा झगडाको बीउ रोपिएको कतिपय नेताको टिप्पणी छ। केन्द्रमा भइरहेको लुछाचुडी र आरोप प्रत्यारोपको असर कार्यकर्तामा परेको ओली निकट नेकपा नेता कर्ण थापा बताउँछन्। ‘अहिले जसरी आरोप प्रत्यारोप भइरहेको छ। यसको असर कार्यकर्तामा देखिएको छ,’ उनले भने, ‘गाली गलौज, अरोप प्रत्यारोपका कारण केन्द्रबाटै तिक्तता बढाउने काम भएको छ।’

पार्टी भित्रको अन्तरविरोध जारी रहेपनि यो मित्रवत अन्तरविरोध भएकाले कार्यकर्ता तह नराबाजीमा उत्रनुपर्ने अवस्था निम्तनु सुखद् नभएको उनको टिप्पणी छ। ‘पार्टी भित्रको अन्तरविरोधलाई हामी मित्रवत अन्तरविरोध भन्छौं। यसमा एकता प्रधान हुन्छ। एकताकै लागि अन्तरविरोध हुने हो,’ थापाले भने, ‘पार्टी बाहिर हुने अन्तरविरोधलाई हामी शत्रुतापूर्ण अन्तरविरोध भन्छौं। यसमा संघर्ष प्रधान हुन्छ। त्यसैले पार्टी भित्रको अन्तरविरोध सामान्य हो। त्यसैले गलत बाटोमा अघि बढ्नु भन्दा महाधिवेशनमा गएर यसको हल गर्नु नै उपर्युक्त विधी हो।’

चितवन घटनालाई लिएर दुई धार 

चितवन घटनालाई लिएर नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले विरोध गरेका छन्। विज्ञप्ती र सामाजिक सञ्जालमार्फत उनीहरुले घटनाको भत्र्सना र विरोध गरिरहँदा ओली पक्षले भने यसलाई सामान्यरुपमा लिएको छ। 

ओली पक्षिय नेता गोकुल बाँस्कोटाले ट्वीट गर्दै भनेका छन्–‘हातहरुको सशस्त्रीकरणभन्दा पहिला विवेक र विश्लेषणपूर्ण चेतनाको विकास नै मानवीय सशस्त्रीकरणको वास्तविक पहिचान हुन्छ। गलत विचारविरुद्ध लड्न सही विचार नै पर्याप्त हुन्छ, होहल्लाको अर्थ छैन।’

प्रवक्ता नारायणकाजी श्रेष्ठले चितवन घटनाका विषयमा दिएको अभिव्यक्ति माथि ओलीका सल्लाहकार सूर्य थापाले काउन्टर दिएका छन्। प्रवक्ता श्रेष्ठले चितवन घटनाका विषयमा सामाजिक सञ्जालमा लेखेका थिए– आज चितवनको राप्ती नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद् क.सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुव्र्यवहारको घटना अति निन्दनीय एवं भत्र्सना योग्य छ। यस प्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन। चेत होस्।

तर, पार्टीका सह–प्रवक्तासमेत रहेका थापाले बुटबलमा मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि ढुंगा प्रहार हुँदा श्रेष्ठ मौन बसेको भन्दै उनको आलोचना गरेका छन्। ‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगाप्रहार गरिंदा  निदाउनु भएको थियो क्यारे! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ (गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी ! दुवै स्थायी कमिटी सदस्य) तब न नारायणकाजी !’ 

प्रकाशित मिति: २१:३७ बजे, आइतबार, मंसिर ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्