Kathmandu Press

उपाधिकाे संघारमा दिल्ली, के इतिहास बदल्ला?

क्रिकेटमा एउटा भनाई छ– भाग्यले साथ दियो भने सफलताका ढोका खुल्छन्। मुम्बइसँगकाे फाइनलमा दिल्लीलाई उपाधिकाे ढाेका खाेल्ने अवसर छ।
उपाधिकाे संघारमा दिल्ली, के इतिहास बदल्ला?
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक २५ : क्रिकेटमा एउटा भनाई छ– भाग्यले साथ दियो भने सफलताका लागि बन्द ढोका पनि खुल्छन्। यूएईमा जारी १३औं संस्करणको आईपीएलमा दिल्ली क्याटिल्सको पनि यस्तै भयो।

दिल्लीलाई भाग्यले साथ दियो र प्लअ‍ेफको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई हराउँदै आईपीएल इतिहासमा पहिलो पटक फाइनल प्रवेश गरेको छ। हैदरावादविरुद्धको खेलमा टस जित्नु, धवन र स्टोइनिसको क्याच छुट्नु र विपक्षी टिमका प्रमुख खेलाडी घाइते हुनु दिल्लीलाई भाग्यकै साथ थियो।

आइतबार दिल्लीलाई भाग्यले यस्तो साथ दियो कि आईपीएलका पछिल्ला ६ मध्ये पाँच खेल हारेको दिल्ली फाइलन पुग्यो। यो सफलतासँगै दिल्लीले इतिहास बनाएको छ र पहिलो उपाधिका लागि भिड्दै छ। दिल्लीको पहिलो आईपीएल फाइनल यात्रामा टिमको आक्रामक रणनीतिसँगै भाग्यको साथको ठूलो भूमिका छ।

आईपीएलको दोस्रो क्वालिफायरमा दिल्लीलाई चुनौती दिइरहेको हैदरावादले यसअघिका चार खेल लगातार जित्दै प्लेअफमा स्थान बनाएको थियो। र क्वालिफायरमा हैदरावादलाई नै फेभरेट मानिएको थियो। लिग चरणमा पनि हैदारावादले दिल्लीलाई दुवै पटक हराएकाले पनि क्वालिफायरमा हैदरावाद नै बलियो थियो।

हारेका दुवै खेलमा दिल्लीले लक्ष्य पछ्याएको थियो। तर, क्वालिफायरमा दिल्लीका कप्तान श्रेयस ऐयरलाई भाग्यले साथ दियो र उनले टस जितेर ओसिलो पिचमा पहिला ब्याटिङ गर्ने चुनौतिपूर्ण निर्णय लिए।

खुल्यो भाग्यको ढोका

दिल्लीले ‘गर या मर’को अवस्थाको खेलमा अक्रामक रणनीति अपनायो। पछिल्ला खेलमा फ्लप भएका ओपनर पृथ्वी शलाई टिमबाट बाहिर राखेको दिल्लीले आक्रमण रणनीति अपनाउँदै शिखर धवनसँगै मार्कस स्टोइनिसलाई ओपनिङमा ल्यायो। सुरुआती दुई ओभरमा यो जोडीले सुस्त खेल्यो। तेस्रो ओभरको तेस्रो बलमा जेसन होल्डरले स्टोइनिसको क्याच छाडे। योसँगै दिल्लीको भाग्यको ढोका पनि खुल्यो।

क्याच छुट्नु अघि सात बलमा तीन रन मात्र बनाएका स्टोइनिसले त्यसपछि २० बलमा ३५ रन जोडेर दिल्लीलाई राम्रो सुरुआत दिलाए। यसक्रममा उनले पाँच चौका र एक छक्का प्रहार गरे। उनको आक्रामक ब्याटिङले धवनलाई पनि लय समाउन मद्दत गर्‍यो।

त्यसअघि धवन लगातार चार खेलमा शून्यमै आउट भएका थिए। हैदरावादविरुद्ध भने उनले ७८ रन बनाउँदै दिल्लीलाई जित दिलाए। हैदरावादले धवनको पनि क्याच छाडेको थियो। यस्तै, कप्तान श्रेयस ऐयरको क्याच पनि हैदरावादका खेलाडीले छाडेका थिए। त्यसको फाइदा दिल्लीले लियो।

खेल हारेपछि हैदरावादका कप्तान डेभिड वार्नरले खेलाडीको गल्ती लुकाउन चाहेनन्। उलने भने, ‘यदि तपाईं क्याच छोडिरहनु हुन्छ, मौका खेर फालिरहनु हुन्छ भने तपाईं उपाधि जित्न सक्नुहुन्न।’

रबाडालाई पनि भाग्यको साथ

भाग्यले दिल्लीका ब्याट्सम्यानलाई मात्र होइन, बलरलाई पनि साथ दियो। हैदरावादको चार विकेट लिएका कागिसो रबाडाले खेलपछि भने, ‘आज मेरो दिन थियो, मलाई लाग्दैन कि मैले अन्तिम ओभरमा राम्रो बलिङ गरेँ।’

रोचक यो छ कि रबाडाले अन्तिम ओभरमै तीन विकेट लिएका थिए। तीमध्ये पहिलो विकेट उत्कृष्ट ब्याटिङ गरिरहेका अब्दुल समदको थियो। आउट हुनुअघि समदले रबाडालाई पनि छक्का प्रहार गरेका थिए। जुन बलमा समद आउट भए, त्यो बल फुलटस थियो।

रवाडा भाग्यशाली रहे, बल कम्मरभन्दा ठीक तल थियो र नो बल हुनबाट जोगियो। यदि त्यो बल नोबल भएर हैदरावादले फ्रि हीट पाएको भए खेलको नतिजा नै फरक हुनसक्थ्यो।

अब मुम्बईको पालो?

फाइनलमा स्थान बनाएपछि दिल्लीका मुख्य बलर रबाडा पनि उत्साहित छन्। त्यो हैदारावदाविरुद्धको उत्कृष्ट प्रदर्शनलाई लिएर होइन कि आज हुने मुम्बईविरुद्धको फाइनलाई लिएर। प्रतियोगितामा २९ विकेटका साथ रबाडा पर्पल क्यापको दौडमा शीर्ष स्थानमा छन्। उनको पर्पल क्याप बचाउनुभन्दा आईपीएल उपाधि जित्नमा बढी ध्यान छ।

‘यदी हामी उपाधि जित्छौं भने मेरा लागि पर्पल क्यापको कुनै औचित्य हुने छैन। हाम्रो टिम अहिलेसम्म फाइनल पुगेको थिएन, हामी खुशी छौं किनकि हामीले टिमलाई फाइनलसम्म पु¥याइका छौं,’ रबाडाले भनेका छन्, ‘विश्वास छ कि फाइनललाई हामी अझ ऐतिहासिक बनाउँछौं। मुम्बईको टिम उत्कृष्ट छ। हाम्रो टिम युवा छ र हामीसँग पनि धेरै ट्यालेन्ट छन्।’

तथ्यांकलाई हेर्ने हो भने आज हुने फाइनलमा मुम्बई नै बलियो देखिएको छ। मुम्बईले यो आईपिएलमा दिल्लीलाई तीन पटक हराएको छ। अन्तिम पटक दिल्ली पहिलो क्वालिफायरमा मुम्बईसँग ५७ रनले पराजित भएको थियो। तर, त्यो खेलमा दिल्लीले मुम्बईको कमजोरी उजागर गरिदिएको थियो।

कप्तान रोहित शर्मा र उपकप्तान किरेन पोलार्डलाई शून्य रनमै पभेलियन फर्काएको थियो। रन नजोड्दै तीन विकेट गुमाएको दिल्लीले संघर्ष गर्दै खेललाई अन्तिमसम्म लगेको थियो।

स्टोनिसको फर्म

अस्ट्रेलियन अलराउन्डर मार्कस स्टोइनिस यो सिजन उत्कृष्ट फर्ममा छन्। दिल्लीले खेलेका दुवै प्लेफमा उनको प्रदर्शन उत्कृष्ट रह्यो। स्टोइनिसले पहिलो प्लेअफमा मुम्बईविरुद्ध ६५ रन बनाएका थिए भने हैदरावादविरुद्ध बल र ब्याट् दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच चुनिए। ब्याटिङमा ३५ रन बनाएका उनले बलिङमा पनि तीन विकेट लिए। उनले केन विलियम्सनको महत्वपूर्ण विकेट लिएका थिए।

स्टोइनिसलाई लाग्छ पछिल्ला दुईमा आफ्नो बल र ब्याट जसरी चल्यो, त्यसरी नै आज हुने फाइनलमा आफ्नो बल र ब्याट चल्छ। उनले भने, ‘मुम्बई एक उत्कृष्ट टिम हो, तर उसको पनि खराब दिन आउँछ। हामीले आफ्नो क्षमताअनुसार, खेल्न सक्यौं भने उपाधि जित्न सक्छौं।’

दिल्लीको जोश

क्वालिफायरमा हैदारावदविरुद्ध प्राप्त जितपछि दिल्लीका खेलाडीको सोचमा परिवर्तन आएको छ। दिल्लीका खेलाडी मुम्बईको डरमा नभएर जोशमा देखिएका छन्। दिल्लीका खेलाडीसामू आईपीएलमा इतिहास बनाउने अवसर छ। उनीहरुलाई भाग्यसँगै कोच रिकी पोन्टिङको रणनीतिमा पनि भरोसा छ।

पोन्टिङको नयाँ रणनीतिले क्वालिफायरमा हैदरावादविरुद्ध जित दिलाउन महत्वपूर्ण भूमिका खेल्यो। उनीहरुको रणनीति प्रतियोगिताका सबैभन्दा किफायति बलर रसिद खानको चार ओभरका कारण बन्ने दबाबबाट मुक्त हुने रहेको दिल्लीका खेलाडीहरुले बताएका छन्।

त्यही कारण हैदरावादविरुद्ध स्टोनिसलाई ओपनिङमा ल्याएको थियो। सोही कारण टिमले सुरुआती १० ओभरमा एक सयभन्दा बढी रन बनायो।

यादगार प्रदर्शन

हैदरावादका कप्तान डेभिड वार्नरसँग खेल हारेपछि पनि भन्नका लागि धेरै कुरा थियो। दिल्लीविरुद्धको उनको ब्याट चलेन, उनको टिमले पनि कुनै चमत्कार गर्न सकेन। तर, वार्नरले सम्झिए कि प्रतियोगिताको सुरुआतमा टिम यहाँसम्म आईपुग्ने कसैले अपेक्षा गरेका थिएनन्।

६७ रनको पारीसँगै केन विलियम्सनले अन्तिम खेललाई यादगार बनाए। १६ खेलमा ३३ रन बनाएका अब्दुल समदले ब्याटिङमा पावर देखाउँदै खेललाई एकतर्फी हुन दिएनन्। (एजेन्सीको सहयोगमा)

 

प्रकाशित मिति: १९:४७ बजे, मंगलबार, कात्तिक २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्