Kathmandu Press

आईपीएलमा हिट पञ्जाबको रोमाञ्चक ‘कहानी’

सात खेलअघि लिगको पुछारमा रहेको पञ्जाब पाँच खेल लगातार जितेर अंक तालिकाकाे चाैथाे स्थानमा उक्लियाे, तर अन्तिम दुई खेलमा पराजित हुँदै प्लेअफ पुग्न असफल भयो। तैपनि पञ्जाबको याे सिजनकाे आईपीएलको कहानी भने रोचक रह्यो।
आईपीएलमा हिट पञ्जाबको रोमाञ्चक ‘कहानी’
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक १७ : जब ‘इमोसन’का साथै एक्सन र ड्रामा हुन्छ, तब जस्तो सुकै कहानी पनि हिट हुन्छ, चाहे त्यो फिल्ममा होस् या खेलमा। त्यस्तै कहानी यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलेभन पञ्जाबले लेखेको छ।

आईपीएल २०२० मा पञ्जाबका पछिल्ला आठ खेल हेर्ने हो भने त्यहाँ, ड्रामा, इमोसन र एक्सन भरपुर प्रयोग भएको छ। त्यसैले त सात खेलअघि लिगको पुछारमा रहेको पञ्जाब पाँच खेल लगातार जितेर अंक तालिकाकाे चाैथाे स्थानमा पुग्याे, तर लिगका अन्तिम दुई खेलमा पराजित हुँदै प्लेअफ पुग्न असफल भयो। तैपनि उसको आईपीएलको कहानी भने रोचक रह्यो।

मैदानमा देखियो भावना

आइतबार कोलकाता नाइट राइडर्सविरुद्धको खेलका क्रममा पञ्जाबको टिममा खेल भावना पनि देखियो। कोलकाताविरुद्ध ओपनर मन्दीप सिंहले अर्धशतक पूरा गरेपछि आकाशतर्फ हेर्दै इशारा गर्दै जब केही बोले, पभेलियनमा बसेका पञ्जाबका खेलाडी तथा कोचिङ स्टाफले जोडले ताली बजाए। मानौं मन्दीप के भन्न चाहन्थे, उनीहरुलाई थाहा थियो।

टिभीमा खेलको कमेन्ट्री गरिरहेका पूर्वक्रिकेटरहरु पनि भावुक बने। यी तस्बिरलाई देखेर मन्दीपलाई तीन दिनअघि मृत्यु भएका उनका पीताको याद आएको हुनुपर्छ।

कोलकाताविरुद्ध पञ्जाबलाई जित दिलाउन नटआउट ६६ रनको पारी खेलेर मन्दीप जब मैदानबाट बाहिर आए, तब त्यही भावुक क्षणको चर्चा भएको थियो। मन्दीपले भने, ‘यो एकदमै स्पेसल छ, मेरो बुबा जहिल्यै भन्नुहुन्थ्यो, तिमी नटआउट फर्किनुपर्छ। यो पारी उहाँकै लागि थियो।’

पञ्जाबका कप्तान केएल राहुलले पनि मन्दीपबारे भने, ‘मन्दीपले मैदानमा जुन परिपक्वता देखाए, यसलाई लिएर सबै खुशी र भावुक छौं। उनले हात उठाए, पिचमा टिके र खेललाई जितमा परिणत गरे। बाबु बितेको तीनदिनमै मैदनमा उनले जुनआत्मविश्वास देखाए, यसलाई लिएर मलाई गर्व छ।’

पञ्जाबका सबैभन्दा अनुभवी खेलाडी क्रिस गेलले पनि मन्दीपको प्रसंशा गरेका छन्। ‘मन्दीप अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेका छन्। कोलकाताविरुद्धको खेलमा मैल उनलाई भनेको थिएँ, तिम्रा लागि हामी जित्न चाहन्छौं,’ गले मन्दीपको प्रसंशा गर्दै भने, ‘माथिबाट हेरिरहेका पितातर्फ उनले इशारा गरेको हेर्न एकदमै भावनात्मक लागिरहेको थियो।’

पिताको मृत्यु भएको अघिल्लो दिन नै मन्दीप पञ्जाबका लागि ब्याटिङ गर्न मैदानमा उत्रिएका थिए। सनराइजर्स हैदराबादविरुद्धको उक्त खेलमा मन्दीपले १७ रन मात्रै बनाएका थिए। सो खेल पञ्जाबले १२ रनले जितेको थियो। पञ्जबले सो जित मन्दीपको पितालाई सर्पित गरेको थियो।

गेलको आगमनले बलियो

अंक तालिकाको पूछारमा रहेपछिका ६ खेलमा पञ्जाबले मैदानमा जबर्जस्त प्रदर्शन गरेको थियो। ६ मध्ये पाँच खेल जित्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको थियो, तर पछिल्ला दुई खेलमा पराजित भएपछि पञ्जाबको यात्रा लिग चरणभन्दा अगाडि बढ्न सकेन। कमजोर देखिएको पञ्जाबको पुनःउत्कृष्ट प्रदर्शनका पछाडि सबैभन्दा ठूलो भूमिका क्रिस गेलको रह्यो।

सुरुआति सातमध्ये एक खेल मात्रै जितेको पञ्जाब गेलको आगमनसँगै लगातार पाँच खेल जित्दै प्लेअफनजिक पुगेको थियो। गेलले यो सिजनको आईपिएलको डेब्यू खेलमै रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध अर्धशतकीय इनिङ खेल्दै टिमलाई जित दिलाए भने मुम्बई इन्डियन्सविरुद्ध सुपर ओभरमा छक्का प्रहार गर्दै खेल पञ्जाबको पक्षमा ल्याए। कोलकाताविरुद्ध पनि गेलले प्लेयर अफ द म्याच इनिङ खेले। गेलले शुक्रबार भएको राजस्थान रोयल्सविरुद्धको खेलमा पनि ९९ रनको उत्कृष्ट इनिङ खेले, तर टिम पराजित भएको थियो।

गेल ४१ वर्षका भइसके। उनका सेता दारीले पनि गेल बूढो भइसकेको छनक दिन्छ, तर खेलमा भने त्यस्तो छनक देखिँदैन। प्लेइङ सेटमा आफ्नो इन्ट्रीसँगै टिमको भाग्य फेरिएको मान्छन गेल। गेलको आमगनसँगै पञ्जाबले लगातार पाँच खेल जितेको थियो। पञ्जाबका युवा खेलाडी गेललाई क्रिकेटबाट रिटायर नलिन पनि भनिरहेका छन्।

पञ्जाबको पछिल्लो सफलतामा फास्ट बलर मोहम्मद सामी र ओपनर तथा कप्तान केएल राहुलको पनि ठूलो भूमिका छ। सामीले मुम्बईविरुद्धको सुपर ओभरमा उत्कृष्ट बलिङ गर्दै टिमलाई जित दिलाएका थिए। योर्कर बलिङका लागि माहिर मानिएका सामीले १४ खेलमा २० विकेट लिएका छन्।

यस्तै पञ्जाबका कप्तान राहुल यो सिजनका आईपिएलका सबैभन्दा सफल ब्याटसम्यान हुन्। उनले प्रतियोगितामा एकनासको ब्याटिङ प्रदर्शन गरेका छन्। राहुलले १४ खेलमा एक शतक र पाँच अर्धशतकसहित ६७० रन बनाए। उनले प्रतियोगितामा कुल २२ छक्का प्रहार गरे।

पञ्जाबको नाटकीय खेल

युएईमा जारी आईपीएलमा सबैभन्दा नाटकीय यात्रा पञ्जाबले नै तय गर्यो। जसमा २२३ रनको लक्ष्य रक्षा गर्न नसक्नुदेखि एकै खेलमा दुई ओभरपछि जित निकाल्नुसम्म छ। यस्तै, लगातार पाँच हारपछि लगातार ५ जित निकाल्नु पनि नाटकीय नै थियो।

यसैगरी सनराइसर्ज हैदरावदविरुद्ध १२६ रनको लक्ष्य डिफेन्ड गर्नु पनि नाटकीय क्षण नै थियो। त्यसपछि विपक्षीलाई १४ बलमा १७ रन चाहिएको अवस्थामा जित निकाल्नु असम्भव जस्तै थियो।

पञ्जाबको टिममा नाटकीय क्षण मैदानमा मात्र होइन ड्रेसिङ रुममा पनि भएको कप्तान राहुल बताउँछन्। सात खेलमा ६ खेल हार्दा पनि प्रशिक्षक अनिल कुम्बलेले खेलाडीको हौसला बढाउन गरेको गतिविधि नाटकीय नै नभएको राहुल बताउँछन्।

लगाताको हारले टिमको मनोबल खस्किरहेकै अवस्थामा मन्दीप सिंहका पिताको निधन भएको थियो। सुरुआती खेलमा असफल भएपछि मन्दीप प्लेइङ सेटबाट बाहिरिए। दिल्ली क्यापिटल्सविरुद्धका खेलमा ओपनर मायंक अग्रवाल घाइते भएपछि मन्दीपले पुनःमौका पाए। त्यहीवेला उनका पिताको मृत्युको खबर आयो। पुनः टिममा पाएको मौकालाई खेर जान दिएनन्, र बुबाको शोकलाई शक्तिमा बदले।  

कप्तान राहुल भन्छन्, ‘हेरक दिन अलगअलग तरिकाले आफ्नो जिम्मेवारी पूरा गरेका छौं, नाटकीय खेलका साथ टिम लयमा आएको थियो। अन्तिम खेल जित्दै प्लेअफ पुग्ने हाम्रो चाहना भने पूरा हुन सकेन, तर टिमले जस्तो प्रदर्शन ग¥यो त्यसमा खुशी छु।’
(एजेन्सीको सहयोगमा)

 

प्रकाशित मिति: १७:३४ बजे, सोमबार, कात्तिक १७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्