Kathmandu Press

राजधानीमा छन् सबैभन्दा बढी कोरोना संक्रमित 

देशभर धेरै संक्रमित रहेको जिल्लामा उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुर अग्रस्थानमा छन्। राजधानी रहेको काठमाडौं जिल्ला सबैभन्दा धेरै संक्रमित रहेको जिल्लामध्ये पहिलो स्थानमा छ।
राजधानीमा छन् सबैभन्दा बढी कोरोना संक्रमित 

भक्तपुर, कात्तिक ९ : देशभर दैनिक थपिने कोरोना संक्रमितमा काठमाडौं उपत्यकाका आधाभन्दा बढी हुने गरेका छन्। देशभर धेरै संक्रमित रहेको जिल्लामा उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुर अग्रस्थानमा छन्। राजधानी रहेको काठमाडौं जिल्ला सबैभन्दा धेरै संक्रमित रहेको जिल्लामध्ये पहिलो स्थानमा छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कात्तिक ८ गते सम्मको तथ्याङकअनुसार, काठमाडौंमा मात्रै अहिलेसम्म कुल ५५ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्यसमध्ये २० हजार ७२२ जना अहिले पनि सक्रिय संक्रमित नै रहेका छन्। यस्तै मृत्यु हुनेको संख्या एक सय ९२ छ, भने निको हुनेको संख्या ३४ हजार १६३ रहेको छ।

यस्तै सक्रिय संक्रमित धेरै रहेको जिल्लाहरु मध्ये दोस्रो स्थानमा मोरङ जिल्ला रहेको छ। यहाँ हालसम्म कुल आठ हजार २१२ जना संक्रमित भेटिएका छन्। जसमध्ये तीन हजार ७७ जना सक्रिय संक्रमितहरु रहेका छन्। यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ रहेको छ, भने पाँच हजार ९० जना निको भइसकेका छन्।

तेस्रो स्थानमा उपतयकाकै ललितपुर जिल्ला रहेको छ। ललितपुरमा हालसम्म सात हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भने सक्रिय संक्रमितको संख्या दुई हजार ५३३ रहेको छ। ललितपुरमा कोरोना संक्रमित भई निको हुनेको संख्या पाँच हजार १४९ रहेको छ । त्यस्तै कोरोना संक्रमणको कारण ५४ जनाले ज्यान गुमाइसकेका छन्।

कोरोनाको सक्रिय संक्रमित धेरै रहेको जिल्लाहरु मध्ये चौथो नम्बरमा सुनसरी परेको छ। यहाँ हालसम्म पाँच हजार ५०८ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये तीन हजार चार जना निको भइसकेका छन्। त्यस्तै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४८ रहेको छ भने अहिले सक्रिय संक्रमितको संख्या दुई हजार ४५६ जना रहेको छ। 

यस्तै कोरोना सक्रिय संक्रमित धेरै रहेको पाँचौं जिल्ला रुपन्देही हो। यहाँ सक्रिय संक्रमितको संख्या एक हजार ९७७ रहेको छ। हालसम्म रुपन्देहीमा पाँच हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तीन हजार ७२५ जना निको भइसकेका छन्। यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

कोरोनाका सक्रिय संक्रमित धेरै रहेका यी पाँच जिल्लावाहेका भक्तपुरमा एक हजार ४५४ जना, चितवनमा एक हजार ६९ जना, मकवानपुरमा एक हजार २४ जना, कास्कीमा आठ सय ६ जना, दाङमा सात १३ जना, झापामा सात सय २१ जना सक्रिय संक्रमित रहेका छन्।

हालसम्म देशभर जम्मा एक लाख ५५ हजार २२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एक लाख आठ हजार ३३४ जना निको भएका छन्। त्यस्तै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या आठ सय ४२ छ भने अहिले सम्म सक्रिय संक्रमितको संख्या जम्मा ४६ हजार ५७ पुगेको छ।

प्रकाशित मिति: २१:४९ बजे, आइतबार, कात्तिक ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्