Kathmandu Press

दशैं सम्झाउने लोकनाथको त्यो सदाबहार गीत...

गीत एकदमै हिट भयो तर म जहिले पनि पीडा बोकेर बस्न बाध्य भएँ। गीत बज्दा सबैले तेरो गीत भन्छन्। तर, कताकता संगीतमा आफूलाई नपाउँदा औधी मन दुख्छ।
दशैं सम्झाउने लोकनाथको त्यो सदाबहार गीत...

‘चरिररि ....चरिररिरै...वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो, 
नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो,  
हो...हो....दशैं आयो...हो....हो...दशैं आयो...’

दशैंको आगमनसँगै यो गीत सबैतीर गुन्जिन्छ।

यो गीत रेडियो, टेलिभिजन र मोबाइलमा गुञ्जन थालेपछि दशैं घर आगनमा आएको आभाष हुन्छ। रोजगारीका लागि परदेश होस् वा घरदेखि बाहिर रहेकाहरु यो गीत सुनेपछि गाउँघरको याद गर्छन्।  

गीतको भिडियोमा परदेशमा रहेको छोराको घरमा आगमनले आमाको मुहारमा छाएको खुशी, ग्रामीण भेगमा मनाइने दशैंको चित्र दुरुस्तै चित्रण गरेको छ। भिडियोमा देखाइएको बेँसीमा झुलेका धानका बाला, बारीमा फुलेको कोदोले गाउँले परिवेशलाई दुरुस्तै उतारेको छ। यस्तै भावका कारण पनि यो दशैं गान बनेको छ।  

यसरी बन्यो गीत 

स्याङ्जाको ग्रामीण भेग हालको आधिखोला गाउँपालिका–६ देउराली टोलमा जन्मेका सर्जक लोकनाथ सापकोटाले २०५८ सालतिर यो गीतको रचना गरेका हुन्। कक्षा ९ मा पढ्दा उनले यो गीत लेखेको थिए। ‘त्यतिबेला दशैं आउन लाग्यो भनेपछि मन नै प्रफुल्ल हुन्थ्यो, बाल्यकालदेखि नै गीत संगीतप्रतिको रुची पनि थियो। मनमा फुरेका अनेक कुराकानी र गाउँघरको दशैंलाई समेटेर गीतको सिर्जना गरेको थिएँ। यति धेरै ‘लोकप्रिय’ हुन्छ भनेर लेखेको थिइनँ,’उनले काठमाडौंप्रेससँग भने। 

दशैंको आगवनले गाउँमा देखिने दृश्यलाई आफूले गीतमा उतारेको उनको भनाइ छ।  अहिले सर्बत्र चर्चामा रहेको यो गीतको सिर्जना गर्न उनलाई करिब तीन वर्ष लागेको थियो। 

२०५८ सालमा रचना गरिएको उक्त गीतले त्यतिबेला पोखरा र आसपासका क्षेत्रमा ब्यापक चर्चा कमाएको थियो। दशैं आउने वित्तिकै उक्त गीत गुन्जिन्थ्यो। त्यसबेला सापकोटाले तेजु गुरुङ र कृष्ण परियारसँग मिलेर आफूले समेत गीतमा स्वर भरेका थिए। 

चलचित्रमा समावेश 

२०६०–०६१ सालतिर सापकोटाले पोखरामा रहेको बराही चलचित्र मन्दिरमा लेखापालको  जागिर खान थालेका थिए। ‘फिल्म’ हलमा काम गर्ने भएपछि देशका प्रतिष्ठित कलाकारसँग उनको हिमचिम बढ्यो र धेरै कलाकारसँग भेट पनि भयो। यसैबीचमा चलचित्र निर्देशक शिव रेग्मी (हाल स्वर्गीय) पोखरा आएका बेलामा सापकोटाको भेट भयो। भेटमा सापकोटाले आफूले सिर्जना गरेको ‘दशैं आयो ..’ गीत सुनाए।

‘शिव रेग्मी सरले ४÷५ पटकसम्म गीत सुनाउन भन्नुभयो। मैले सुनाएँ। त्यसपछि उहाँले भन्नुभयो अब यो गीत चलचित्रमा समावेश हुन्छ,’उनी विगत सम्झिन्छन्। यही गीतमा केन्द्रित भएर रेग्मीले चलचित्रको निर्माण गरेको सापकोटाको भनाइ छ। 
‘तपाईँको यही गीतबाट मलाई फिल्म बनाउने ‘कन्सेप्ट’ आयो। गीतमा केही फेरबदल गर्नुस्, भन्नुभयो। मैंले भने बमोजिमको परिवर्तन गरेर शिव सरलाई बुझाएँ,’ सापकोटाले भने।

त्यसपछि ‘मुग्लान’ चलचित्रको शीर्ष गीत नै ‘दशैं आयो’ राखेर चलचित्र सार्वजनिक गरियो। 

चलचित्रमा समावेश उक्त गीतमा उदित नारायण झा, दीपनारायण, नारायण लामा र जुना प्रसाईले स्वर भरेका थिए। त्यसपछि गीत अझँै चर्चाको शिखरमा पुग्यो। गीतमा विपना थापा, दिलिप रायमाझी, सुशील क्षेत्री, झरना थापा लगायत कलाकारको अभिनय देख्न सकिन्छ। 

विवादमा तानियो गीत 

यो गीत जति चर्चामा आयो, त्यति नै विवादमा पनि प¥यो। विवादमा पर्नुको कारण थियो– शब्द, संगीत र रचनामा लोकनाथ सापकोटाको नाम नराख्नु। चलचित्र सार्वजनिक हुनुपूर्व गीतको रचना तथा शब्दमा स्वयम् चलचित्रका निर्देशक शिव रेग्मीको नाम उल्लेख गरिएको थियो भने संगीतकारमा सुरेश अधिकारीको नाम राखियो। यसरी चलचित्र सार्वजनिक गर्नु केहीअघि मिडियामार्फत सापकोटाले उक्त खबर थाहा पाएपछि आफूले रचना गरेको गीतमा कुनै नाम निशाना नहुँदा दुःखी भए। 

मुग्लान चलचित्रका निर्देशक रेग्मीसँग कुरा गर्दा पनि कुनै चासो नदेखाएपछि सापकोटाले प्रतिलिपि अधिकार कार्यालयमा आफ्नो शब्द, संगीत र रचना चोरिएको भन्दै उजुरी गर्न बाध्य भएको उनी स्मरण गर्छन्। त्यसपछि चलचित्रका निर्देशक रेग्मीले शब्द÷रचनामा कलाकार सापकोटाको नाम उल्लेख गर्न बाध्य भए। तर, अझै पनि संगीतकारमा भने सापकोटाको नाम अझै उल्लेख गरिएन। त्यसपछि फेरि सापकोटाले मुद्दा, मामिला गरिरहेपनि कुनै सुनुवाइ नभएपछि र चलचित्र सार्वजनिक भइसकेपछि आफूले पनि त्यति चासो नदेखाएको बताए। 

‘गीतमा मेरोजस्तै मेलोडी र संगीत छ। मसँग धेरै प्रमाण छन्।  संगीतकारमानाम राखिएका सुरेश अधिकारी संगीत सम्बद्ध संघसंस्थामा पनि आबद्ध भएकाले मेरो कुरा सुनुवाइ भएन। त्यसपछिम चुपचाप बसैं,’ उनले भने।

आफ्नो गीत घन्किँदा पनि दुःखी 

दशैं नजिकिएसँगै सर्वत्र गीत घन्काएर हर्षोल्लास मनाइरहँदा गीतका सर्जक सापकोटा भने त्यति खुशी देखिँदैनन्। यो गीतको प्रसंग उठ्ने वित्तिकै हरेक दशैंमा सापकोटा दुःखी हुने गर्छन्।  

‘गीत एकदमै हिट भयो तर म जहिले पनि पीडा बोकेर बस्न बाध्य भएँ। गीत बज्दा सबैले तेरो गीत भन्छन्। तर, कताकता संगीतमा आफूलाई नपाउँदा औधी मन दुख्छ,’ उनले भने। 

गीत विवादकै कारण पछि सापकोटा गीतसंगीतको दुनियाँमा त्यति सक्रिय भएनन्। यसरी आफू जस्ता कलाकारको सिर्जनामाथि खेलवाड गर्नेप्रति सबै एकजुट भए नयाँ पुस्ताका सर्जकलाई आफ्नो जस्तो पीडा व्यहोर्नु नपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: १९:३८ बजे, शुक्रबार, कात्तिक ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्