Kathmandu Press

प्रचण्डलाई पेल्दै ओली

एकतालाई मजबुद बनाउने र एकीकरणका काम सक्ने जिम्मेवारी पाएका अध्यक्षद्वयबीच मतभेदको स्थितिले नेकपा पुरानैस्थितिमा फर्कन सक्ने नेताहरुको चिन्ता छ।
प्रचण्डलाई पेल्दै ओली

काठमाडाैं, कात्तिक ५  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पेल्न थालेको नेताहरुले बताएका छन्।

राजनीतिक नियुक्ति  मन्त्रिपरिषद् विस्तारदेखि कर्णाली प्रदेशको विवाद समाधानका विषयमा प्रचण्डको भूमिकालाई वेवास्ता गर्दै पेल्दै गएको नेकपाका नेताहरुको भनाई छ।

नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको कार्यकाल सकिएपछि उनको निरन्तरताका लागि प्रचण्डले ओलीलाई दबाब दिएका थिए। तर लोडसेडिङ अन्त्यको जस सबै उनले लिएको भन्दै ओलीले कुलमानलाई निरन्तरता दिन दिएको दबाबलाई वेवास्ता गरिदिए। यस्तै पछिल्लो समयमा राजदूत नियुक्तिमा पनि ओलीले प्रचण्डलाई बाइपास गरे।

उनले कसैसँग सल्लाह नगरी पूर्व अर्थमन्त्री डा युवराज खतिवडा र पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीलाई राजदूत बनाए। 'राजनीतिक नियुक्तिका विषयमा अध्यक्ष प्रचण्डको भूमिकालाई निरन्तर बाइपास गर्दै आइरहनुभएको छ ओलीको यो प्रवृत्ति नसुध्रिने देखिएको छ,' नेकपाका स्थायी समिति सदस्य मात्रिका यादव भन्छन्।

यस्तै मन्त्रिपरिषद् हेरफेर गर्ने विषयमा पनि ओलीले प्रचण्डको सुझावलाई वेवास्ता गरिदिए। उनले आफ्ना कोटाबाटमात्रै मन्त्री बनाएपछि नेकपामा असन्तुष्टी चुलिएको थियो।

यता कर्णाली प्रदेशको विवाद समाधान प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले गरिसकेका थिए। कार्यकारी अध्यक्ष प्रचण्डको भूमिका चित्त नबुझेपछि ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित अविश्वासको प्रस्ताव दर्ता गर्न नेतृत्व लिएका केही सांसदहरुलाई काठमाडौँ बोलाए। अध्यक्ष ओलीले एकलौटी रुपमा निर्णय लिएर फेरी विवाद निम्त्याउन खोजेको स्थायी कमिटी सदस्य भीम रावल बताउँछन्।

'विवाद समाधानका लागि गठित कार्यदलले दुई अध्यक्षको सहमतिमा निर्णय लिने सुझाव दिएको थियो त्यस विपरीत अर्का अध्यक्षको भूमिकालाई वेवास्ता गर्दै एकल निर्णय गर्दा यसले फेरि पार्टीमा संकट उत्पन्न गराउने खतरा छ,' रावलले भने।

मन्त्रिपरिषद् विस्तारदेखि राजनीतिक नियुक्तिमा मात्रै होइन ओलीले अब समीकरणनै बदल्ने गरी प्रचण्डलाई पेल्ने रणनीति बनाएका छन्। वरिष्ठ नेता माधवकुमार नेपाललाई मंगलबार बालुवाटारमा बोलाएर ओलीले आफूलाई सहयोग गर्न भनेका थिए। मंगलबारको बैठकमा ओलीले भनेका थिए,'पार्टीभित्रको विवाद समाधानका लागि छलफल गरौँ कमजोरी सच्याउँ मलाई सहयोग गर्नुस्।'

ओलीको भनाइपछि प्रतिक्रिया दिँदै नेता नेपालले पार्टीभित्रका मापदण्ड लागु गरेपछि र योग्यता क्षमताको अवमूल्यन गर्ने काम बन्द गरेको अवस्थामा आफूले सहयोग गर्ने बताएका थिए।'सबै समस्याको जड तपाइँ नै हो आफ्नो कार्यशैली सच्याउनुस त्यसपछि मात्रै मेरो सहयोग पाउनुहुन्छ,' उनले भनेका थिए।

कर्णाली प्रदेशको विवाद समाधानमा प्रचण्ड र नेपालले निर्वाह गरेको भूमिका चित्त नबुझेपछि ओलीले त्यस गठनबन्धनलाई तोड्नका लागि नेता नेपालसँग संवाद थालेको राजनीतिक विश्लेषक श्याम श्रेष्ठको बुझाइ छ।

ओलीले प्रचण्डलाई थप कमजोर तुल्याउन नेपालसँग सहकार्यको प्रस्ताव गरेको उनी बताउँछन्।'प्रचण्डको कार्यकारी भूमिका ओलीलाई चित्त बुझ्दैन त्यसैले कर्णालीको विवाद समाधानमा उनले निर्वाह गरेको भूमिकाप्रति उनको असन्तुष्टी छ। उनी प्रचण्डलाई कमजोर बनाउन चाहान्छ त्यसैले प्रचण्ड माधव गठबन्धन भत्काउने रणनीति अनुरुप सहकार्यको प्रस्ताव गरेका हुन्,' श्रेष्ठले भने।

अध्यक्ष ओली र प्रचण्डबीच मतभेदको स्थिति रहेको र प्रचण्डलाई पेल्न खोजेको कुरा कर्णाली प्रदेशको सन्दर्भमा जारी विज्ञप्तीबाटै प्रष्ट हुन्छ। दुई अध्यक्षबीच छलफल भएपछि प्रचण्डको सचिवालयले कर्णालीको पार्टी कार्यसमिति र संसदीय दलबाट विवाद समाधान गर्ने निर्णय भएको विज्ञप्ति निकालेको थियो भने यता प्रधानमन्त्री ओलीको सचिवालयले त्यसको खण्डन गर्दै चारबुँदे सहमति भएको विज्ञप्ति निकालेको थियो।

एकतालाई मजबुद बनाउने र एकीकरणका काम सक्ने जिम्मेवारी पाएका अध्यक्षद्वयबीच मतभेदको स्थितिले नेकपा पुरानैस्थितिमा फर्कन सक्ने नेताहरुको चिन्ता छ।

प्रकाशित मिति: १९:०४ बजे, बुधबार, कात्तिक ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्