कोरोना खोप : वृद्ध-वृद्धामा कम प्रभावकारी हुनसक्ने
क्यानडाको युनिभर्सिटी अफ ग्वेल्फमा खोपविज्ञानका प्राध्यापक सायन सरिफ भन्छन्, ‘वृद्धवृद्धाका लागि सोचेर बनाइएका खोप हामीसँग निकै कम छन्। गत शताब्दीमा धेरैजसो खोप बाल्यकालमा लाग्ने रोगलाई लक्षित गरेर तयार पारिएका छन्।’भक्तपुर, कात्तिक ४ : अहिले विश्वभरका अनुसन्धानकर्ताहरु कोरोनाको खोप बनाउने तयारीमा जुटेका छन्। खोप कहिले र कहाँ बन्छ भन्ने ठोस निष्कर्षमा पुग्न सकेका छैनन्। यदि बनिहालेमा पनि वृद्धवृद्धाका लागि कम प्रभावकारी हुनसक्ने विज्ञहरु बताउँछन्।
अनुसन्धानकर्ताहरुले कोरोनाको खोप बनेमा उपचारमा संलग्न फ्रन्टलाइनका स्वास्थ्यकर्मीलाई प्राथममिकतामा राखेर वितरण गरिनुपर्ने सुझाव दिइरहेका छन्। तर, विज्ञहरु कतिपय खोपहरु बृद्धबृद्धाका लागि छुट्टै बनाउनु पर्ने र कोरोनाको खोपको विषयमा पनि बृद्धबृद्धाहरुलाई पनि ध्यानमा राखेर बनाउनुपर्ने बताउँछन्।
जसले यो काम कठिन रहेको क्यानडाको युनिभर्सिटी अफ ग्वेल्फमा खोपविज्ञानका प्राध्यापक सायन सरिफ बताउँछन्। ‘बृद्धबृद्धाका लागि सोचेर बनाइएका खोप हामीसँग निकै कम छन्,’ प्राध्यापक सरिफ बीबीसी फ्युचरसँग भन्छन्, ‘गत शताब्दीमा धेरैजसो खोप बाल्यकालमा लाग्ने रोगलाई लक्षित गरेर तयार पारिएका छन्।’
यस्तै, रोग प्रतिरक्षासम्बन्धी बनेका खोपहरुमा प्रायः बालबालिकालाई ध्यानमा राखेर बनाइने र अपवादका रुपमा वयस्क अवस्थामा देखिने मेनिन्जाइटिस वा ह्युमन प्यापिलोमा भाइरसजस्ता केही रोगका लागि एक–दुई वटा मात्र खोपहरु बनेको उनको भनाइ छ। ‘बाल्यकालमा लाग्ने रोगबारे हामीसँग प्रशस्त ज्ञान छ, तर युवा, तन्नेरी र वृद्धवृद्धामा लाग्ने रोगबारे हामीसँग धेरै अनुभव छैन,’ उनी भन्छन्।
विज्ञहरुको अनुसार युवाको तुलनामा वृद्धवृद्धामा धेरैजसो सरुवा रोगहरुको असर गम्भीर देखिने गरेको पाइएको छ। जसले वृद्धवृद्धाको स्वास्थ्यमा जोखिम समेत निम्त्याउने गरेको छ। त्यस्तै, बृद्ध अवस्थामा उनीहरुको प्रतिरक्षा प्रणाली समेत कमजोर हुने भएकाले संक्रमणबाट जोगिन झन कठिन हुन्छ।
उमेरसँगै प्रतिरक्षा प्रणाली कमजोर हुँदै जाने भएपनि त्यसले सबै मानिसलाई समान असर गर्दैन। एकै उमेरका मानिसहरुमा पनि कोही कमजोर भएका हुन्छन् भने कोही स्वस्थ र स्फुर्त हुन्छन्। आफू कमजोर भयो भन्दैमा आत्तिनु पर्दैन। किनभने हाम्रो प्रतिरक्षा प्रणालीको केही भाग यस्ता पनि छन्, जुन उमेरसँगै बलियो हुँदै पनि जान्छन्।
‘हाम्रो प्रतिरक्षा प्रणालीमा केही त्यस्ता कोशिकाहरू छन्, जो बढ्दो उमेरसँगै झन् बलियो बन्छन्,’ प्राध्यापक सरिफ भन्छन्, ‘यदि हामी थुप्रै रोग कारक तत्वको सम्पर्कमा आयौँ भने हामीमा प्रतिरक्षाको एकखाले स्मरण बन्छ र रोगसँग जुध्न हामीसँग कोशिकाहरूको भण्डार आवश्यक पर्दैन।’
तर, कोभिड–१९ यसअघि हाम्रो शरीरले सामना नगरेको भाइरस भएकाले त्यसको स्मरण हाम्रो कोशिकामा नभएको उनी बताउँछन्। त्यसैले कोरोना भाइरससँग लड्न शरीरले रोगप्रतिरोधात्मक क्षमता विकास गर्न नसकेको उनको भनाइ छ।
अहिले धेरै देशहरुमा कोरोनाको खोप बनेपनि सबै खोपहरु कोरोनाको नियन्त्रणका लागि उपयुक्त नहुने अनुसन्धनकर्ताहरुको भनाइ छ। प्राध्यापक सरिफका अनुसार, अहिलेसम्म शतप्रतिशत प्रभावकारिता दिने कुनैपनि खोप बनेको छैनन्।
उनी भन्छन्, ‘जब सबै खोपहरू स्वीकृत हुन्छन्, तिनीहरुले रोगबाट जोगाउन कस्तो भूमिका खेल्छ, त्यसमा ध्यान दिन जरुरी छ । किनभने सबै मानिसहरुमा यसको एउटै प्रभाव नपर्न सक्छ।’ केही मानिसमा मात्र यसले नकारात्मक असर पु¥याएपनि यसको प्रयोग उचित मान्न नसकिने उनको भनाइ छ।
उनी खोप लगाएका व्यक्तिमा पनि भाइरस रहनसक्ने र उसले आसपासका मानिसमा सक्रमण फैलाउन सक्ने जोखिम रहने बताउँछन्। त्यसैकारण कोरोनाको खोप बनेको खण्डमा मानिसहरूमा कसरी र केका आधारमा खोप लगाउने भन्ने विषयमा पूर्ण अध्ययन गरेरमात्र खोप वितरण थाल्नुपर्ने प्राध्यापक सरिफ बताउँछन्। (एजेन्सीको सहयोगमा)