Kathmandu Press

कांग्रेसको प्रश्न- महामारीमा जनताको उपचार नगर्ने सरकार किन चाहियो ?

काठमाडौं, कात्तिक ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीबाट जनतालाई जोगाउन सरकार असफल प्रमाणित भइसकेकाले परीक्षण र उपचारको दायित्वबाट पन्छिएको आरोप...
कांग्रेसको प्रश्न- महामारीमा जनताको उपचार नगर्ने सरकार किन चाहियो ?
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा।
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीबाट जनतालाई जोगाउन सरकार असफल प्रमाणित भइसकेकाले परीक्षण र उपचारको दायित्वबाट पन्छिएको आरोप लगाएको छ। 

कांग्रेसले महामारीका समयमा जनताको परीक्षण र उपचारको दायित्वबाट पन्छिने सरकारको निर्णय गैरजिम्मेवार भएको बताएको छ। सोमबार प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी जनताको उपचारको दायित्वबाट पन्छिए पछि  ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफैँ उद्दत रहेको पुष्टि भएको बताएका छन्।

‘कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरु तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेम्डेसिभिरको कालोबजारी, अव्यवस्थित क्वारेन्टाइन र शव व्यवस्थापनमा लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह’ खडा गरिसकेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘ उपचारको दायित्वबाट पन्छिए पश्चात् त ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफै उद्दत रहेको पुष्टि भएको छ।’

उनले कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको भएकाले संक्रामक रोग उपचारको कानूनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएका छन्।

‘सर्वोच्च अदालतले केही अघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ,’ शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

जनताको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य भएको भन्दै कांग्रेसले कर्तव्य आत्मसात गरेर काम गर्न चेतवानी सरकारलाई दिएको छ।

‘कांग्रेस कोरोना परीक्षण र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन विशेष संवेदनशीलताका लागि प्रधानमन्त्रीजी एवं उहाँको नेतृत्वको सरकारलाई अपील र आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

हेर्नुस् विज्ञप्ति : 

प्रकाशित मिति: २१:०८ बजे, सोमबार, कात्तिक ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्