Kathmandu Press

मध्यपहाडी राजमार्ग निर्माणकाे गति सुस्त

काठमाडौं, कात्तिक ३ : राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको अधिकांश स्थानमा निर्माणको काम हुन सकेको छैन। कोभिड–१९ सङ्क्रमण फैलिरहँदा स्थानीय तहले आफ्नो क्षेत्र बाहिरका...
मध्यपहाडी राजमार्ग निर्माणकाे गति सुस्त

काठमाडौं, कात्तिक ३ : राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको अधिकांश स्थानमा निर्माणको काम हुन सकेको छैन। कोभिड–१९ सङ्क्रमण फैलिरहँदा स्थानीय तहले आफ्नो क्षेत्र बाहिरका व्यक्तिलाई प्रवेशमा गरेको कडाइका कारण अपेक्षाकृतरुपमा काम हुन नसकेको जनाएको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भौतिक प्रगति न्यून मात्रै रहेको मध्यपहाडी सडक आयोजना निर्देशनालयका प्रमुख दीपक केसीले बताए। उनका अनुसार पहिलो चौमासिकमा ५० किमी कालोपत्र गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म झण्डै दुई किमी मात्रै सडक कालोपत्र भएको छ। अबको एक महिना दशैँ, तिहार, छठलगायत चाडपर्व भएकाले निर्माण गर्न अझै कठिन हुने उनले बताए।

पहिलो चौमासिकमा अपेक्षा गरेभन्दा धेरै कम मात्रै काम भएको उनको भनाइ छ। एकातिर कामदार आफैँ पनि घर बाहिर जान त्रसित भएको र अर्कातिर सम्बन्धित स्थानीय तहले आवतजावतमा कडाइ गरेकाले अधिकांश स्थानमा निर्माण अघि बढाउन नसकिएको प्रमुख केसीले बताए।

धेरै स्थानीय तहले नयाँ मान्छे आउनै नदिने वा आइहालेमा दुई साता क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको छ। मजदूर आफैँ पनि सकेसम्म घरपरिवार छाडेर काम गर्न नचाहेका उनले बताए।

आयोजनामा गत वर्ष कोभिड–१९ का कारण लक्ष्यभन्दा एक तिहाइ मात्रै कालोपत्र भएको थियो। तीन सय किमी कालोपत्रको लक्ष्य लिइएकामा ११३ किमी सडकमा कालोपत्र भएको थियो।

गत वर्ष कालोपत्र गर्ने लक्ष्य लिएकोमा सडकमा आवश्यक सबै तयारी भइसकेकाले अहिले सहज अवस्था हुनासाथ कामले गति लिने पनि प्रमुख केसीले बताए। पहाडी क्षेत्रलाई पूर्वदेखि पश्चिमसम्म जोड्ने आयोजना आगामी आव २०७९÷८० मा सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाले जनाएको छ। (रासस)

प्रकाशित मिति: १९:५९ बजे, सोमबार, कात्तिक ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्