Kathmandu Press

गोर्खा ब्रुअरीको ४ लाख ३७ हजार बक्स वियर भण्डार गरेको गोदाममा राजश्वको सिल 

गोर्खा ब्रुअरीले गुणस्तर घटेको आन्तरिक राजश्व विभागको निरीक्षणबाट फेला परेपछि अहिले भने मापदण्ड अनुसारको उत्पादन सुरु गरेको छ।
गोर्खा ब्रुअरीको ४ लाख ३७ हजार बक्स वियर भण्डार गरेको गोदाममा राजश्वको सिल 

काठमाडौं, कात्तिक २ : आन्तरिक राजश्व विभागले गुणस्तर नपुगेको भन्दै बजारमा लैजान रोक लगाएको गोर्खा ब्रुअरीको ४ लाख ३७ हजार बक्स वियर गोदाममै सिल गरेको छ। ब्रुअरीको नवलपरासी गोदाममा विभागले सिल गरेको हो।

गुणस्तर घटाएर ५० प्रतिशतभन्दा कम जौको मात्रा प्रयोग गरी उत्पादन गरेका सानमिगल, टुबोर्ग, काल्सवर्ग र गोर्खा वियर बजारमा लैजान रोक लगाएर गादामै सिल गरेको आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले काठमाडौं प्रेसलाई बताए। 

‘गुणस्तर घटाएका गोर्खा ब्रुअरीका वियर राखेको नवलपरासी गोदाम हामीले सिल गरेका छौ’, कुँवरले भने, ‘गुणस्तर घटेपछि सोही अनुसार अन्तशुल्क नतिरेसम्म सिल हट्दैन।’

भाग १ : गोर्खा ब्रुअरीका काल्सवर्ग, टुबोर्ग, गोर्खा र सानमिगल वियरको गुणस्तर लोकल रक्सी सरह भएको विभागको ठहर

विभागले वियरको लागि आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी जौको मात्रा राख्नु पर्नेमा ५० प्रतिशतभन्दा बढी कनिका राखेर उत्पादन गरेको भेटेपछि बजारमा लैजान रोक लगाएको हो। 

गोर्खा ब्रुअरीले गुणस्तर घटेको आन्तरिक राजश्व विभागको निरीक्षणबाट फेला परेपछि अहिले भने मापदण्ड अनुसारको उत्पादन सुरु गरेको छ। विभागले मापदण्ड पुरा गरेर उत्पादन गरेका बियर भने बजारमा लैजान खुला गरेको छ। ‘नयाँ उत्पादनमा मापदण्ड पुरा भए ती बजारमा जान पाउँछन्’ कुवँरले भने। 

गोर्खाले उत्पादन गरेर यसअघिनै बजारमा पठाएका टुवोर्ग, सानमिगल, काल्र्सवर्ग र गोर्खा वियरमा पनि कनिकाको मात्रा बढी भएको हुन सक्ने विभागले जनाएको छ। ‘अहिले बजारमा भएका वियरहरुमा पनि मापदण्ड नपुगेको हुन सक्छ’ विभागका एक अर्का अधिकारीले भने, ‘त्यसमा पनि हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौ, उपभोक्ताबाट पनि सहयोग होस् भन्ने हाम्रो चाहना छ।’

भाग २ : ९० करोड अन्तःशुल्क नतिरे गोर्खा ब्रुअरीको वियर बजारमा जान नपाउने

गोर्खा बु्रअरी नेपाली वियर बजारमा सबैभन्दा धेरै क्षेत्र ओगटेको कम्पनी हो। गोर्खाका चार वटै वियरले राम्रो बजार हिस्सा लिएका छन्। तर कम्पनीले गुणस्तरमा सम्झौता गरेका कारण सरकारले अहिले अतिरिक्त अन्तशुल्क लगाउने निर्णय गरेको हो। 

कानुन अनुसार ५० प्रतिशतभन्दा बढी जौको मात्रा राखेर बनेको वियरमा प्रतिलिटर १ सय ६५ रुपैयाँ अन्तशुल्क लाग्छ भने ५० प्रतिशतभन्दा कम जौको मात्रा प्रयोग भएमा प्रति लिटर ४ सय २३ रुपैयाँ अन्तशुल्क लाग्छ। 

गोर्खा ब्रुअरीले स्टकमा राखेको ४ लाख ३७ हजार बक्सको मात्रै अतिरिक्त अन्तशुल्क ९० करोड रुपैयाँ हुन आउँछ। विभागले ९० करोड रुपैयाँ अन्तशुल्क नतिरेसम्मे नवलपरासीको गोदाम नखोल्ने जनाएको छ।

सन् १९८९ मा खेतान समूह र काल्सवर्ग समूहको सयुक्त लगानीमा गोर्खा ब्रुअरी सुरु भएको हो। सन् २०१० मा काल्सवर्ग समूहले अधिकांश शेयर खरिद गरेर व्यवस्थापन सम्हालेको थियो। गोर्खा ब्रुअरी यसअघि पनि कर छलिको अनुसन्धानमा परिसकेको छ।

प्रकाशित मिति: २३:५८ बजे, आइतबार, कात्तिक २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्