Kathmandu Press

कोरोना संक्रमितको उपचार गर्ने दायित्वबाट पन्छियो सरकार, आजैदेखि परीक्षण र उपचारमा शुल्क लाग्ने

काठमाडौं, कात्तिक २ : कोरोना परीक्षण र उपचार गर्ने दायित्वबाट सरकार पन्छिएको छ। असोज १० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आर्थिकरुपमा विपन्न, असक्त, असाह...
कोरोना संक्रमितको उपचार गर्ने दायित्वबाट पन्छियो सरकार, आजैदेखि परीक्षण र उपचारमा शुल्क लाग्ने

काठमाडौं, कात्तिक २ : कोरोना परीक्षण र उपचार गर्ने दायित्वबाट सरकार पन्छिएको छ। असोज १० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आर्थिकरुपमा विपन्न, असक्त, असाह एकल महिला, अति अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी बाहेकका अन्य सबै व्यक्तिले कोरोना परीक्षण वा उपचारको खर्च आजैदेखि तिर्नुपर्ने भएको छ।  

‘निशुल्क परीक्षण र उपचार गर्ने भनिएका व्यक्तिहरुको कोरोना बीमा गरिएको भए बीमा रकमबाट उपचार खर्च बेहोरिनेछ। निशुल्क उपचार गर्ने भनिएका व्यक्तिहरु बाहेक सबैले आजैका मितिबाट सरकारी, निजी सबै अस्पतालमा परीक्षण र उपचार गरेको शुल्क व्यहोर्नुपर्ने व्यवस्था लागू हुनेछ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने। 

यसअघि सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्दै आएको थियो।  

यस्तै स्वास्थ्य मन्त्रालयले कोरोनाको उपचारमा प्रयोग हुने रेम्डेसेभिर औषधि कोरोना संक्रमितको उपचार गर्ने अस्पतालको फार्मेसीबाट बिक्री वितरण गर्न अनुमति दिने निर्णय समेत गरेको गौतमले बताए।  

यस्तै सबै अस्पतालहरुले कोरोना संक्रमितको उपचारका लागि ५० प्रतिशत सबै किसिमका शैय्या छुट्टाउनुपर्ने निर्णयसमेत भएको गौतमले जनाकारी दिए। लक्षण नभएका कोरोना संक्रमितलाई अस्पतालबाट १० दिनमा डिस्चार्ज गर्ने निर्णय समेत मन्त्रालयले गरेको छ। ‘यसअघि लक्षण नभएका संक्रमितलाई १४ दिनमा डिस्चार्ज गर्ने निर्णय भएकोमा अब पछिल्लो तीन दिनमा लक्षण नदेखिए १० दिनमा डिस्चार्ज गर्ने र डिस्चार्ज भएको व्यक्ति कम्तीमा सात दिन होम आइसोलेसनमा बस्नुपर्ने निर्णय भएको छ,’ गौतमले भने।

प्रकाशित मिति: २२:३६ बजे, आइतबार, कात्तिक २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्