Kathmandu Press

स्याङ्जा प्रवेशमा पिसिआर रिपोर्ट अनिवार्य, राजनीतिक दलले कुनै कार्यक्रम नगर्ने 

काठमाडौं, कात्तिक १ : आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोभिड...
स्याङ्जा प्रवेशमा पिसिआर रिपोर्ट अनिवार्य, राजनीतिक दलले कुनै कार्यक्रम नगर्ने 
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक १ : आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोभिड १९ बाट नागरिकलाई सुरक्षित राख्न नयाँ व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले बताए । 

उच्च जोखिम भएका स्थानबाट जिल्ला प्रवेश गर्दा गएराति १२ बजेदेखि लागू हुने गरी उक्त नियम अनिवार्य गरिएको हो । “जिल्ला प्रवेश गर्दा अनिवार्यरुपमा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट ल्याउनुपर्छ, नल्याएका तोकिएको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्छ”, प्रजिअ बस्नेतको भनाइ थियो  । जिल्लास्थित सर्वदलीय बैठकले चाडपर्व नजिकिँदै गरेको अवस्थामा नागरिकको आवागमन स्वभावतः बढ्ने भएकाले जोखिम बढ्ने भन्दै जिल्लामा कडाई गर्ने निर्णय गरेको प्रजिअ बस्नेतले बताए । 

स्याङ्जा जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० को दफा ३ र ४ बमोजिम अधिकार प्रयोग गरी आदेश जारी गरिएको प्रशासनले जनाएको छ । प्रशासनले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन, सभा समारोह भेला तथा भिडभाड नगर्न नगराउन, स्वास्थ्यसम्बन्धी आवश्यक सम्पूर्ण सावधानीहरु अपनाउन आग्रह गरेको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस स्याङ्जाले संयुक्त विज्ञप्ति निकालेर जिल्लामा सभा, सम्मेलन, भेला तथा औपचारिक कार्यक्रम नगर्ने प्रतिवद्धता जनाएका छन् । नेकपा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे पारस र काँग्रेस जिल्ला कार्यबाहक सभापति बुद्धिबहादुर रानाले कोभिड १९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै पार्टीका गतिविधि स्थगन गर्ने निर्णय गरेका हुन् । 

दुबै दलको संयुक्त बैठकपछि सार्वजनिक गरिएको विज्ञप्तिमा चाडपर्वको बेला नियमित हुँदै आएको शुभकामना आदान प्रदान तथा सामूहिक भेटघाट नगर्ने निर्णय भएको नेकपा जिल्ला अध्यक्ष गैह्रेले बताए। दुबै दलले आ–आफ्ना मातहतका समितिलाई पनि पार्टी गतिविधि नगर्न नगराउन अनुरोध गर्ने निर्णयलाई कडाइसाथ कार्यान्वयन गर्न लगाएको काँग्रेस कार्यबाहक सभापति रानाले बताए । (रासस)  

प्रकाशित मिति: १३:४९ बजे, शनिबार, कात्तिक १, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्