मंगलबार, मंसिर १६, २०७७

आईपीएलमा बैँगलोरको पाँचौँ जित

काठमाडौं, असोज २७ : रोयल च्यालेन्जर्स बैंगलोरले यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ ।

कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौँ जित निकालेको हो । सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए । यस्तै राहुल त्रिपाठी र आन्द्रे रसेलले १६/१६ रन बनाए । कोलकाताका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २/२ विकेट लिए । यस्तै मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आरोन फिन्चले ४७ रन जोड्दा देवदुत पडीक्कलले ३२ रन बनाए ।

जितसँगै बैंगलोरले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा समेत उक्लिएको छ । ७ खेलमा ८ अंक जोडेको कोलकाता भने हारका बाबजुद चौथो स्थानमा रहेको छ ।

 Published Date: Tuesday, 13th October 2020 6:45:00 am