दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई आईपीएलको शीर्ष स्थानमा
काठमाडौं, असोज २६ : मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। साविक विजेता मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो।
अबुधाबीमा आइतबार राति नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौँ जित निकालेको हो । दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।
मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादबले अर्धशतकीय इनिङ्स खेले । दुबै खेलाडी समान ५३ रन बनाएर आउट भए । यस्तै इशान किशनले २८ रन जोड्दा कप्तान रोहित शर्मा ५ रनमा आउट भए । कुर्नाल पाण्डय १२ रनमा अविजित रहदा केइरन पोलार्ड ११ रनमा अविजित रहे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जितसँगै ७ खेलमा समाप्तिमा दुबै टोलीको १०१० अंक भएको छ । तर, रनरेटका आधारमा मुम्बई तालिकाको शीर्ष स्थानमा छ भने दिल्ली दोस्रो स्थानमा छ ।