Kathmandu Press

ओम्नी समूहले ६ महिनासम्म तिरेन चार्टर्ड फ्लाइटको भाडा, पौने दुई करोड भाडा उडाउन निगमलाई हम्मे

स्वास्थ्य सामाग्री खरिदका लागि निमगले रकम नपाइ उडान नभर्ने बताएपछि पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई जमानी बसेर विमान चार्टर गरिएको थियो।
ओम्नी समूहले ६ महिनासम्म तिरेन चार्टर्ड फ्लाइटको भाडा, पौने दुई करोड भाडा उडाउन निगमलाई हम्मे

काठमाडौं, असोज २५ : स्वास्थ्य सामाग्री खरिद प्रक्रिया विवादमा परेको ओम्‍नी ग्रुपले नेपाल वायुसेवा निगमको जहाज चार्टर गरेवापतको ढुवानी भाडा ६ महिनासम्म तिरेको छैन। 

गत चैत १५ गते ओम्नीले चीनबाट स्वास्थ्य सामग्री ल्याउँदा नेपाल वायुसेवा निगमको जहाज चार्टर्ड गरेको थियो। स्वास्थ्य सामाग्री खरिदका लागि निमगले रकम नपाइ उडान नभर्ने बताएपछि पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई जमानी बसेर विमान चार्टर गरिएको थियो।

तर मन्त्री नै जमानी बसेर गरेको उडानको भाडा निगमले पाउने हो की हैन भन्ने आशंका पैदा भएको छ। किनकी ओम्नीले चीनबाट स्वास्थ्य सामग्री ल्याएको ६ महिना बितिसकेको छ। यसबीचमा निगमले भाडाका लागि पटक पटक ताकेता गरेको छ। तर भाडा अझै उठाउन सकेको छैन। ‘ओम्नीले चार्टर्ड गरेको जहाजको भाडा अझै आएको छैन,’नेपाल वायु सेवा निगमकी प्रवक्ता अर्चना खड्काले काठमाडौं प्रेससँग भनिन्, ‘घण्टाको हिसाबले भाडा लिने हो। भाडाका लागि हामीले ताकेता गरिरहेका छौं। तर कहिले प्राप्त हुन्छ, भन्न सकिन्न।’ 

ओम्नीले स्वास्थ्य सामग्री ल्याउन चार्टर्ड गरिएको नेपाल एयरलाइन्सको जहाज ८ घण्टा ३० मिनेट उडेको थियो। त्यसको भाडा १ लाख ५३ हजार ८ सय ५० अमेरिकी डलर छ। जुन चार्टर्ड उडान भएको डलर रेट अनुसार एक करोड ८४ लाख ६२ हजार नेपाली रुपैयाँ हुन आउँछ। त्यतिबेला ओम्नीले भाडा दिन नसके आफूले दिने भन्दै पर्यटनमन्त्री भट्टराई जमानी बसेका थिए।
चार्टर्ड फ्लाइटको बिल निगमले सोही बेला पर्यटन मन्त्रालयलाई पठाइसकेको छ।‘चार्टर्ड फ्लाइटको बिल त्यती बेला नै निगमले पर्यटन मन्त्रालयलाई पठाएको हो,’निगमका एक निर्देशकले भने, ‘मन्त्री जवानी बसेको भाडा पनि अहिलेसम्म निगमले पाएको छैन।’

ओम्नी समूहसँग स्वास्थ्य सेवा विभागले गरेको ठेक्का सम्झौता अनुसार स्वास्थ्य सामग्री ल्याउन विमान चार्टर्ड गर्दा लाग्ने भाडा ओम्नीले नै तिर्ने उल्लेख थियो। सम्झौता अनुसारको रकम ओम्नी समूहले नै निगमलाई तिर्ने हो। तर, मन्त्री आफैं जमानी बसेर विमान उडाए पनि भाडा भने अझै असुल हुन सकेको छैन।

ओम्नीसँगको ठेक्का सम्झौता रद्द भइसकेको र मन्त्री आफैँ जमानी बसेर विमान उडाएका कारण पनि निगमलाई ओम्नीसँग ताकेता गर्न समस्या भएको छ।

‘निजी कम्पनीले सामान ल्याउँदा तालुकदार मन्त्रालयका मन्त्री नै जमानी बसेका थिए,’ती निर्देशकले भने, ‘६ महिना भइसक्यो। भाडा आएको छैन। अब कसलाई गएर भन्ने?’

ओम्नी समूहले प्रचलित बजार मूल्यभन्दा महँगोमा एन–९५ मास्क, सर्जिकल मास्क, फेस मास्क, पीपीई, थर्मल गनलगायतका स्वास्थ्य  सामग्री ल्याउने ठेक्का पाएको थियो।

तर, स्वास्थ्य सामग्री खरिदको ठेक्कामा भ्रष्टाचार भएको भन्दै चौतर्फी आलोचना बढेपछि सरकारले चैत १९ गते सरकारले ओम्नीसँगको सम्झौता रद्द गरेको थियो। ठेक्का सम्झौता रद्द गर्दै ६ करोड रुपैयाँ धरौटी रकम जफत गरिएको छ। ओम्नी समूहले चीनबाट १८ करोड बराबरको सामान आयात गरेको थियो। 

पर्यटन मन्त्रालय भन्छ - जानकारी छैन 

निगमले भाडा वापतको एक करोड ८४ लाख ६२ हजार रुपैयाँ उठाउन मन्त्रालयलाई ताकेता गरिरहेको छ। ‘हामीले मन्त्रालयमा ताकेता गरिरहेका छौं। तर, भाडा वापतको रकम प्राप्त हुन सकेको छैन,’निगमकी प्रवक्ता खड्काले भनिन्।  
ओम्नी समूहको ठेक्का सम्झौता रद्द भइसकेको र धरौटीसमेत जफत भएका कारण निगमले भाडा उठाउन मन्त्रालयलाई ताकेता गरिरहेको हो। तर मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईले भने यो विषयमा आफू बेखबर रहेको बताए। ‘मलाई यो विषयमा जानकारी छैन,’उनले भने।

प्रकाशित मिति: २०:४८ बजे, आइतबार, असोज २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्