Kathmandu Press

कांग्रेसले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने

‘संसदको विषेश अधिवेशन माग गर्नेबारे केन्द्रीय समिति बैठकबाट संस्थागत निर्णय भएपछि संसदीय दलले आवश्यक प्रक्रिया अघि बढाउने छ,’ उनले भने।
कांग्रेसले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने
कांग्रेस सभापति शेरबहादुर देउवा। फाइल तस्वीर।

काठमाडौं, असोज १४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने भएको छ। 

बुधबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको संस्थापन पक्षधर पदाधिकारी बैठकले सरकारको अर्कमण्यता भ्रष्टाचारकाण्ड विरुद्ध छलफल गर्न संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने निष्कर्ष निकालेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

उनका अनुसार संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने निर्णय औपचारिक रुपमा असोज १९ का लागि बोलाइएको केन्द्रीय समितिको बैठकले गर्नेछ।

‘संसदको विषेश अधिवेशन माग गर्नेबारे केन्द्रीय समिति बैठकबाट संस्थागत निर्णय भएपछि संसदीय दलले आवश्यक प्रक्रिया अघि बढाउने छ,’ उनले भने,‘ आजको बैठकले संसदको विशेष अधिवेशन बोलाउनु पर्ने आवश्यकता भएको निष्कर्ष निकालेको छ। त्यही अनुसार अब हामी अघि बढ्छौँ।’ 

संसद अधिवेशन बोलाउने विषयमा अन्य विपक्षी दलको पनि साथ लिइने उनले बताए। कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्दा ठूलो भ्रष्टाचार भएका घटना बाहिर आएका थिए।

‘सरकार कोरोना नियन्त्रण गर्न भन्दा पनि भ्रष्टचार गर्नमा बढी केन्द्रीत भयो। जनताप्रति सरकार अनुत्तरदायी भयो,’ उनले भने,‘त्यसैले अब यी विषयमा छलफल आवश्यक भएको छ।’

पार्टीभित्र संसदको विषेश महाधिवेशन बोलाउन माग गर्नु पर्ने आवाज सांसदहरुले उठाउँदै आएका छन्।

यस्तै, बैठकले सरकारका अर्कमण्यता र भ्रष्ट्राचारविरुद्ध सडक आन्दोलन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

‘सदनबाट मात्रै आवाज उठाएर पुग्दैन,’ महतले भने,‘सदनसँगै सडकबाट पनि अब सरकारका अर्कमण्यता र भ्रष्ट्राचारविरुद्ध आवाज चर्काउनु पर्ने आवश्यकता छ।’ विरोधका कार्यक्रम कहिलेदेखि सुरु गर्ने भन्ने विषयमा केन्द्रीय समितिबाटै टुंगो लगाइने उनले बताए।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले दर्ता गराएको ज्ञापनपत्रका विषयमा पनि छलफल भएको उनले बताए। यसअघि वरिष्ठ नेता पौडेल पक्षधर २७ केन्द्रीय सदस्यले सभापति देउवाविरुद्ध पार्टी कार्यालयमा विरोध पत्र दर्ता गराएका थिए। 
 

प्रकाशित मिति: २१:३० बजे, बुधबार, असोज १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्