Kathmandu Press

कोटेश्वर-जडिबुटी सडक विस्तारको तयारी

कोटेश्वर-जडिबुटी सडक विस्तारको तयारी
Hardik ivfHardik ivf

काठमाडौं, असोज १३ : काठमाडौं उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडिबुटिसम्म सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ। हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम अघि बढेको छ। 

यो सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुनेछ। डिभिजन सडक कार्यालय काठमाडौँले गत महिनादेखि सडकका दुबैतर्फको निर्माणस्थल खाली गरिरहेको डिभिजन प्रमुख कुबेर नेपालीले बताए। सडक बनाउन अर्थ मन्त्रालयले बजेटको स्वीकृति दिइसकेको छ। उनले भने,“साइट क्लियर हुनासाथ ठेक्का प्रक्रियामा जानेछौँ।”

देशभरका अधिकांश सडक निर्माणमा त्यहाँ रहेका पूर्वाधार हटाउँदै काम अघि बढाइएको छ।  यहाँ भने सडकका संरचना हटिसकेपछि ठेक्का सम्झौता गरिनेछ। ६ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिनेछ। उनले भने,“संरचना हटिसकेपछि त्यति समयमा निर्माण सकिनेछ।” कोटेश्वरबाट जडिबुटितर्फ लाग्दा देब्रे (उत्तर) तर्फ एक लेन र दाहिने (दक्षिण) तर्फ दुई लेन थप्ने गरी निर्माणस्थल खाली भइरहेको छ। विमानस्थलको सुरक्षालाई ध्यान दिइएको छ। बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो। 

विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको हो। अहिले उत्तरतर्फको एउटा घरका कारण निर्माणस्थल खाली हुन नसक्ने देखिएकोले घरधनीसँग कुरा भइरहेको र सहमतिमा आएर जग्गा उपलब्ध गराउनेतर्फ प्रयास भइरहेको छ। सो सडक बनाउन केही साता भित्रै ठेक्का सम्झौता हुने प्रमुख नेपालीले जानकारी दिए।

दशैँ पहिले सम्झौता भए दशैँ–तिहार पछि निर्माण सुरु गर्ने तयारी छ। सडक निर्माणको केही समयमा भत्काउन नपरोस भनी सडकमा बिच्छयाउने संरचना पहिले नै राखिनेछ। यसका लागि विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायतका सेवा प्रदायक संस्थासँग समन्वय भइरहको छ। उनले भने,“उहाँहरु सबै संरचना जमिनमुनि राखेर सडक बनाउन सहमत हुनुहुन्छ।”

सडक निर्माणसँगै सो स्थानमा अपाङ्गतामैत्री सहितको पैदलयात्रुमार्ग र हरीयाली क्षेत्र हुनेछ। त्यसपछि जडिबुटिबाट आएका सवारीसाधन कोटेश्वर हुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका जडिबुटि हुँदै पेप्सीकोलातर्फ जान रोकिने छैनन्। चोक नै पार गर्नुपर्दा केही समय रोकिएपनि चोक पार नगर्ने सवारी भने राकिने छैनन्। सो सडक आगामी दिनमा मनोहरा पुलसम्म विस्तार गर्ने योजना छ। 

सामान्य अवस्थामा यो सडकमा लामो समयसम्म जाम हुँदा यात्रु र सवारीचालक हैरान थिए । तीनकुनेबाट लोकन्थलीसम्म नै जाम हुँदा नागरिकलाई केही किमी यात्रा गर्न घण्टौँ लाग्ने गरेको थियो। अहिलेको सडक विस्तार अल्पकालीन समाधान भएपनि दीर्घकालीन रुपमा यसको समाधान ‘फ्लाई ओभर’ नै भएको सडक विभागले बताउँदै आएको छ। यी संरचना बन्न अझै केही वर्ष लाग्नेछ। तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) ले सो स्थानमा ‘फ्लाई ओभर’ वा ‘अण्डर पास’ निर्माणका लागि अध्ययन गरिसकेको छ। रासस

प्रकाशित मिति: ०१:३९ बजे, बुधबार, असोज १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्