Kathmandu Press

संवैधानिक आयोगको औचित्यमा प्रश्न उठ्ने गरी नियुक्तिमा भागबन्डा नगरियोस् : पौडेल

काठमाडौं, असोज १२ : संवैधानिक आयोगका औचित्यमा प्रश्न उठ्ने नगरी नियुक्तिमा भागबन्डा नगर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार सामाजिक सञ्जालमा...
संवैधानिक आयोगको औचित्यमा प्रश्न उठ्ने गरी नियुक्तिमा भागबन्डा नगरियोस् : पौडेल

काठमाडौं, असोज १२ : संवैधानिक आयोगका औचित्यमा प्रश्न उठ्ने नगरी नियुक्तिमा भागबन्डा नगर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको ध्यानाकर्षण गराएका छन्। 

सोमबार सामाजिक सञ्जालमा संवैधानिक नियुक्तिमा भइरहेको भागबन्डाबारे टिप्पणी गर्दै नेता पौडेलले आफू अनुकूलका मानिस सिफारिस गर्नका लागि सत्तासँग साझेदारी नगर्न सरकार र आफ्नै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।

संवैधानिक निकायका नियुक्ति संविधानको मापदण्ड अनुसार हुनुपर्ने पौडेलको भनाइ छ। ती निकायका निष्पक्षता, तटस्थता र स्वतन्त्रतामा आँच पुग्ने गरी नियुक्तिको काम गर्न नहुने उनको मत छ।

‘देश र जनतालाई सुशासन दिलाउन अख्तियार लगायतका संवैधानिक निकायको निष्पक्षता, तटस्थता र स्वतन्त्रता अपरिहार्य छ,’पौडेलले भनेका छन्,'त्यसका लागि संविधानले तोकेको मापदण्डबाट यताउति नगरी संवैधानिक परिषद्‍ले समाजका विश्वसनीय र भरपर्दा व्यक्ति खोजेर आयोगहरुका प्रमुख आयुक्त र आयुक्तहरु नियुक्त गर्नु पर्छ।’

प्रधानमन्त्री, विपक्षी दलको नेता वा सभामुखले आफ्नै अनुकूलका मान्छे खोज्न लाग्दा आयोगहरुको औचित्य नै नरहने पौडलको तर्क छ। 
संवैधानिक निकायमा नियुक्तिका लागि प्रधानमन्त्री केपी ओलीसँग सभापति शेरबहादुर देउवाबीच निरन्तर छलफल हुन थालेपछि पौडेलले संवैधानिक आयोगको औचित्यमा प्रश्न उठ्ने गरी सत्तासँग कुनै सम्झौता नगर्न भनेका हुन्।

संवैधानिक आयोगहरुमा संवैधानिक परिषद्ले नियुक्ति गर्दछ। त्यसमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र  कानूनमन्त्री सदस्य हुन्छन्।
 

प्रकाशित मिति: २३:०४ बजे, सोमबार, असोज १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्