Kathmandu Press

देउवालाई पौडेल समूहको एक हप्ते अल्टिमेटम, माग पूरा नभए वैधानिक संघर्ष गर्ने

काठमाडौं, असोज १२ :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवालाई आफ्ना माग एक हप्ताभित्र सम्बोधन गर्न अल्टिमेटम दिएको छ। पार्टी...
देउवालाई पौडेल समूहको एक हप्ते अल्टिमेटम, माग पूरा नभए वैधानिक संघर्ष गर्ने
पार्टी कार्यालय सानेपामा ज्ञापनपत्र दर्ता गर्दै पौडेल निकट केन्द्रीय सदस्यद्वय दीपक गिरी र नविन्द्रराज जोशी।

काठमाडौं, असोज १२ :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवालाई आफ्ना माग एक हप्ताभित्र सम्बोधन गर्न अल्टिमेटम दिएको छ। 

पार्टी कार्यालयमा सोमबार ज्ञापनपत्र दर्ता गर्दै  पौडेल समूहले १९ गतेका लागि बोलाइएको केन्द्रिय समिति बैठकअघि नै माग सम्बोधन नभए वैधानिकरुपमा संघर्ष गर्ने चेतावनी समेत दिएको छ। 

पौडेल समूहले पार्टीलाई विधिवत रुपमा सञ्चालन गर्दै १४ औँ महाधिवेशन समयमै सम्पन्न गर्नका लागि वातावरण निमार्ण गर्न सभापति देउवा समक्ष माग गरेको छ। यस्तै, देउवाले विधान विपरीत गठन गरेका विभाग तथा अन्य निर्णय सच्याउनुपर्ने त्यस समूहको माग छ। 

महाधिवेशनको औपचारिक प्रक्रिया शुरु भएपछि पार्टीलाई ध्रुवीकृत गराउन देउवा लागि परेको पौडेल समूहको आरोप छ।

‘’महाधिवेशनको औपचारिक प्रक्रिया शुरु भएपछि पार्टीको नेतृत्वप झन विधिविहीन, अराजकता, आपसी अविश्वास, द्वन्द्व, पक्ष-विपक्षको रुपमा ध्रुवीकृत भएको छ। यस्तो पक्षपात पूर्ण ढंगले महाधिवेशन गर्न खोज्नुले पार्टी कब्जा गर्ने नियत देखिन्छ,’ ज्ञापनपत्रमा भनिएको छ। 

महाधिवेशनको मिति तोकिएको अवस्थामा पार्टीका विभाग एवं अन्य संरचनामा विभिन्न नियुक्ति गर्नु वैधानिक व्यवस्था र  महाधिवेशनको आचारसंहिताको ठाडो उल्लंघन भएको पौडेल समूहको भनाइ छ। 

केन्द्रिय विभाग गठनका काम तत्काल रोक्नुपर्ने, विधान विपरीत भइरहेको क्रियाशील सदस्यता वितरण तत्काल बन्द गर्नुपर्ने त्यस समूहको माग छ।  देउवाको कार्यशैलीका कारण पार्टीका कार्यकर्ताबीच सम्बन्धमा द्वन्द्व र कटुता निम्तिएको पौडल समूहको भनाइ छ।

पार्टीभित्र बढ्दै गएको तिक्ततालाई वैधानिक प्रक्रिया र सामूहिक छलफलबाट समाधान गर्नुपर्ने माग उनीहरुको छ। त्यसका लागि समयमै महाधिवेशन हुनुपर्ने उनीहरुको माग छ। ‘नेता तथा कार्यकर्ताबीच सौहार्दपूर्ण सम्बन्ध कायम गर्नु आजको आवश्यकता हो त्यसकाल लागि निष्पक्ष पारदर्शी र सुसंगठित ढंषले महाधिवेशनलाई हौसालपूर्ण महोत्सवको रुपमा निर्धारित समयतालिका भित्रै सम्पन्न गर्नु पार्टीप्रति नेतृत्वको समर्पण भावको मापदपण्ड पनि हो,’ ज्ञापन पत्रमा भनिएको छ।

यस्तै, पार्टी सभापति देउवा पार्टी कब्जा गर्दै वर्चस्व कायम गर्न केन्द्रित हुँदा सकारका तमाम कमीकमजोरीमा सशक्त रुपमा आवाज उठाउन पार्टीले नसकेको पौडेल समूहको आरोप छ। नेतृत्वको शैलीकै कारण पार्टी अहिलेसम्मकै कमजोर प्रतिपक्षी बनेको पौडेल समूहको दाबी छ। 

'पार्टी विधान, परम्परा, र लोकतन्त्रका आधारभूत मान्यताका सीमा मेटाउने काम नेतृत्वबाट भइरहेको छ अर्कातिर प्रमुख प्रतिपक्षी पार्टीको जिम्मेवारी अनुरुप संसद र सडकबाट पनि सरकारका गतिविधिमाथि खबरदारी र नियन्त्रण गरी जनसमर्थन आफूतिर बढाउने भूमिकाबाट कर्तव्यच्यूत भएको ,‘ज्ञापनपत्रमा भनिएको छ।

पौडेल समूहले बुझाएको ज्ञापन पत्रमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित २७ जना केन्द्रिय सदस्यले हस्ताक्षर गरेका छन्।

हेर्नुस् ज्ञापनपत्रको पूर्णपाठ :


 

 

प्रकाशित मिति: २२:२६ बजे, सोमबार, असोज १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्