Kathmandu Press

भरतपुर अस्पतालमा कोरोना संक्रमितका बिरामी घटे

चितवन, असोज १२ : कोरोना संक्रमण सुरुआती चरणमा सबै संक्रमितको उपचार गरेको भरतपुर अस्पतालमा पछिल्लो समय संक्रमित बिरामी घट्दै गएको छ। अन्य रोगका...
भरतपुर अस्पतालमा कोरोना संक्रमितका बिरामी घटे
Hardik ivfHardik ivf

चितवन, असोज १२ : कोरोना संक्रमण सुरुआती चरणमा सबै संक्रमितको उपचार गरेको भरतपुर अस्पतालमा पछिल्लो समय संक्रमित बिरामी घट्दै गएको छ। अन्य रोगका बिरामी भने बढ्न थालेका छन्।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आज अस्पतालमा १७ जना मात्रै कोरोना संक्रमित बिरामी छन्। यो संख्या ८३ जनासम्म पुगेको थियो। संक्रमितहरु स्थानीय तहका आइसोलेसन, निजी मेडिकल कलेज तथा घरमा बस्न थालेपछि सरकारी अस्पतालमा यो संख्या घटेको हो।

पौडेलका अनुसार अस्पतालले हालसम्म ३३७ जना संक्रमितको उपचार गरिसकेको छ। यसमध्ये १३ जनाको मृत्यु भएको थियो। मृत्यु भएकामध्ये १० जना चितवनकै र अन्य कैलाली, गोरखा र मकवानपुरका रहेका छन्।

संक्रमितको संख्या घटेसँगै अस्पतालले संक्रमित राख्न प्रयोग गरेको २३ वटा क्याबिन निर्मलीकरण गरेर अन्य रोगका बिरामी राख्न शुरु गरेको छ। पौडेलका अनुसार पछिल्ला दिनमा बहिरङ्ग सेवाका बिरामी बढेर गएका छन्। आइतबार मात्रै ४७३ जनाले बहिरङ्गबाट र १०३ जनाले आकस्मिकबाट सेवा लिएका थिए।

यसअघि गएको शुक्रबार बहिरङ्ग सेवामा २४१ र आकस्मिकमा ९९ जना बिरामी मात्रै आएका थिए। बिहीबार यो संख्या १५० र ११४ रहेको थियो। अस्पतालले ‘ए’ ब्लकको भुइँतलामा रहेको हाडजोर्नी र सर्जिकल विभागमा संक्रमित राखेको छ। त्यसैगरी पुरानो क्याबिनमा पनि संक्रमित छन् । क्रमशः बिरामी घट्दै जाँदा ती ठाउँमा पनि अन्य बिरामी राखिने अस्पतालले जनाएको छ।

अस्पतालको आन्तरिक विभागका श्ययाहरुमा पनि बिरामी भरिन थालेका छन्। अस्पतालका वरिष्ठ कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाका अनुसार क्याबिनहरु सुरु भएपछि प्रसूति गराउन आउनेहरु लाभान्वित भएका छन्।

जिल्ला र बाहिरका बिरामीहरुले प्रसूतिका लागि भरतपुर अस्पताल रोज्न गर्दछन्। सबै क्याबिन कोभिडका बिरामीका लागि प्रयोग भएपछि प्रसूति गराउन आउनेहरुले समस्या भोगेका थिए। उनले भने, ‘अब यहाँ प्रसूति गराउन आउनेहरुको संख्या अरू बढ्छ।’ अहिले दैनिक ४० जनाको हाराहारीले प्रसूति सेवा लिने गरेका छन्।

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जलि ढकालका अनुसार हाल जिल्लामा रहेका संक्रमितमध्ये अस्पताल र स्थानीय तहका आइसोलेसनहरुमा ३२३ जना छन्। होमआइसोलेसनमा यो संख्या ६५८ रहेको छ। घरमा बस्दा छिटो निको भएको अनुभव संक्रमितहरुले गरेको उनको भनाइ छ।

उनले भनिन्, ‘घरको वातावरण आफू अनुकूल हुने भएकाले सम्भव भएकाहरु घरमा बस्ने क्रम बढेको छ।’ लक्षण देखिएकाहरु मात्रै अस्पताल आउन थालेका छन्। पछिल्ला दिनहरुमा संक्रमितहरुलाई मनोवैज्ञानिक त्रास घटेको छ भने सामाजिक विभेद पनि कम हुँदै गएको छ।

प्रकाशित मिति: २०:२५ बजे, सोमबार, असोज १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्