Kathmandu Press

फ्रन्टलाइनमा खटिएका धुलिखेल अस्पतालका चिकित्सकले तलब पाएनन्

काठमाडौं, असोज ११ : धुलिखेल अस्पतालले कोरोना भाइरसविरुद्ध फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीलाई नियमित तलब दिएको छैन।काठमाडौं विश्व विद्यालय अन्तर्गत स्कुल अफ मेडिकल साइन्सेजमा नियमित तलब...
फ्रन्टलाइनमा खटिएका धुलिखेल अस्पतालका चिकित्सकले तलब पाएनन्
Hardik ivfHardik ivf

काठमाडौं, असोज १२ : धुलिखेल अस्पतालले कोरोना भाइरसविरुद्ध फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीलाई नियमित तलब दिएको छैन।

काठमाडौं विश्व विद्यालय अन्तर्गत स्कुल अफ मेडिकल साइन्सेजमा नियमित तलब नदिँदा प्राध्यापकदेखि चिकित्सकसम्म मर्कामा परेका छन्।  

गत चैत ११ गते सुरु भएको लकडाउन यता मेडिकल स्कुलमा तलब नियमित छैन। त्यसअघि हरेक महिनाको १ गते तलब भुक्तानी हुँदै आएकोमा अहिले २५ गतेसम्म पनि भुक्तानी नहुने अवस्था सिर्जना भएको अस्पतालका चिकित्सकहरु बताउँछन्।  

स्कुल अफ मेडिकल साइन्सका प्रध्यापकहरुका अनुसार साउन महिनाको तलब भदौ २५ गते मात्रै दिइएको छ। यस्तै चैत महिना देखि नै २५ प्रतिशत तलब कटौती गरिएको छ।  

‘तलब नियमित छैन। आएपनि २५ प्रतिशत तलब कटौती गरिएको छ,’ स्कुल अफ मेडिकल साइन्स प्रध्यापक संघका सभापति प्रध्यापक डाक्टर मनोज हुमागाईँले भने, ‘हुन त अहिले अस्पताल राम्रोसँग चलेको छैन। सरकारले कोभिड अस्पतालका लागि भनेर दिने अनुदान पनि दिएको छैन। जसको मार यहाँ कार्यरतहरुले खेप्नु परेको छ।’

अस्पतालमा कार्यरत चिकित्सक कर्मचारीले नियमित तलब नपाउँदा र तलब कटौतीहुँदा आफुहरु मर्कामा परेको बताएका छन्। ‘पहिलेदेखि नै यसबारेमा सोच्न पर्ने हो। इकोनोमिक क्राइसिस आयो भने त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा पनि ध्यान दिनुपर्ने हो,’ एक चिकित्सकले भने, ‘तर अहिले समयमा तलब नदिने, कटौती गर्ने काम भइरहेको छ। यसले हामी जस्ता दिनरात काम गर्नहरुलाई समस्या भइरहेको छ।’

केयूका एक प्रध्यापकले धुलिखेल अस्पताल टाट पल्टिने अवस्था आउनुको पछाडिको कारण खोजिनुपर्ने बताए। ‘विद्यार्थीबाट संकलन हुने रकम, सरकारी अनुदान र अस्पताल संचालन आदीबाट उठ्ने रकमलाई हेर्ने हो भने धुलिखेल अस्पताल टाट पल्टनुपर्ने संस्था होइन,’ ती प्रध्यापकले भने, ‘अहिलेको अवस्थामा आइपुग्नुको मुख्य कारण आर्थिक अपचलन बाहेक अर्को हुनै सक्दैन।’

स्कुल अफ मेडिकल साइन्समा मात्रै होइन विश्व विद्यालयका रिसर्चरले समेत समयमा तलब पाएका छैनन्। उनीहरुको समेत तलब कटौती हुँदै आएको छ। एक रिसर्चरका अनुसार मासिक ३० प्रतिशत तलब कटौती गरेर भुक्तानी दिइने गरिएको छ। ‘सय प्रतिशतमा हस्ताक्षर गराउने र ७० प्रतिशत मात्रै भुक्तानी दिइने गरिएको छ। यसले ठूलो मार परेको छ,’ ती रिसर्चरले भने।

यी दुई मात्रै होइन अन्य स्कुलमा समेत तलब भत्ता कटौती गर्ने संकेत विश्व विद्यालय व्यवस्थापनले गरेको छ। विश्व विद्यालयका रजिस्ट्रार प्रध्यापक डाक्टर सुवोध शर्माले भदौ २८ गते सबै स्कुललाई पत्र लेख्दै तलब भत्ताका सम्बन्धमा छलफल गर्नु पर्ने अवस्था आएको बताएका छन्। उनले लेखेको पत्रमा सरकारले ६ महिनादेखि गरेको लकडाउन र निषेधाज्ञाले वैकल्पिक व्यवस्थापनमा जाँदा के–के अप्ठ्यारो पर्छ कर्मचारी र शिक्षकबीच छलफल गरी आवश्यक सुझाव पेश गर्न स्कुलका डिनलाई निर्देशन दिइएको छ।  

रजिस्ट्रारले तलब भत्ताका विषयमा छलफल गरेर सुझाव पेश गर्न भने लगत्तै प्राध्यापकहरुले भने विरोध गरेका छन्। परिपत्रले तलब कटौतीको संकेत गरेको भन्दै विरोध गरेका हुन्। प्रध्यापक संघले विज्ञप्ती नै जारी गरेर रजिस्ट्रारको परिपत्रको विरोध गरेको छ।  

प्रध्यापकहरुले स्कुल अफ मेडिकल साइन्सका डिन राजेन्द्र कोजुले तलब कटौती गरिरहेको र त्यही अनुसार अन्य स्कुलमासमेत तलब कटौती गर्न सुझाव दिएको हुन सक्ने आँकलन गरेका छन्। ‘राजेन्द्र कोजुले स्कुल अफ मेडिकल साइन्समा तलब कटौती गरेका छन्। उनैको सुझाव बमोजिम रजिस्ट्रारको सर्कुलर आएको हुन सक्छ, एक प्रध्यापकले भने।
यस विषयमा रजिष्ट्रार शर्मासँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन।  

प्रकाशित मिति: १८:३५ बजे, सोमबार, असोज १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्