Kathmandu Press

नर्भिक अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न न्यूनतम एक लाख रूपैयाँ

नर्भिक अस्पतालमा उपचारका लागि गएका एक जना कोरोना संक्रमित सुरुमै एक लाख रुपैयाँ जम्मा गर्नु पर्ने हुँदा फिर्ता हुनुपरेको छ।
नर्भिक अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न न्यूनतम एक लाख रूपैयाँ
Hardik ivfHardik ivf

काठमाडौं, असोज ७ : कोरोना उपचारका लागि काठमाडौंका केही निजी  अस्पतालले सामान विक्री गरेझैँ ‘प्याकेज’ घोषणा गर्दै न्यूनतम एक लाख रुपैयाँ  तिर्नु पर्ने नियम बनाएका छन्। 

कोरोना कहरमा जनतालाई सहज र सुशलभ सेवा दिनु पर्ने निजी तथा सरकारी दुवै स्वास्थ्य संस्थाको दायित्व भए पनि यो संकटका बेला नाफा कमाउन केही निजी अस्पतालले संक्रमितको उपचारका नाममा चर्को शुल्क उठाउन थालेका छन्।

नर्भिक अस्पतालमा उपचारका लागि गएका एक जना कोरोना संक्रमित सुरुमै एक लाख रुपैयाँ जम्मा गर्नु पर्ने हुँदा फिर्ता हुनुपरेको छ। ‘म कोरोना पोजेटिभ भएर श्वास फेर्न अप्ठ्यारो भएपछि नर्भिक अस्पतालमा उपचारका लागि पुगेँ,’ उनले भने, ‘तर सुरुमै एक लाख जम्मा नगरी मलाई हेर्न पनि कोही डाक्टरहरुले मानेनन्, मसँग तत्कालै एक लाख नभएपछि फिर्ता भएँ।’

नर्भिक इन्टरनेश्नल अस्पतालले अघिल्लो हप्ता कोरोना उपचारका लागि कम्तिमा एक लाख रुपैयाँ शुल्क लाग्ने गरी प्याकेज घोषणा गरेको छ। जस अन्तर्गत बिरामीले प्रतिप्याकेज कम्तिमा एकदेखि एक लाख ४० हजार रुपैयाँसम्म तिर्नु पर्ने हुन्छ। नर्भिकले १४ दिनका लागि मान्य हुने गरी आइसोलेशन प्याकेज, सेमी प्याकेज, प्राइभेट प्याकेज र डिलक्स प्याकेज गरी चार वटा प्याकेज ल्याएको छ। कतिपयले भने सामाजिक दायित्व बोकेका अस्पतालहरुले कोरोना महाब्याधिमा व्यापार गर्न खोज्नु गलत भएको बताउँछन्।

‘नर्भिक मात्रै होइन, ग्राण्डी, ह्याम्स लगायतका अस्पतालले पनि चर्को शुल्क लिएर कोरोना संक्रमितको उपचारका लागि प्याकेज बनाएका छन्। महाव्याधीको उपचार पैसा हुनेले गर्न पाउने र नहुनेले गर्न नसक्ने गरी विभाजन गर्नु हुँदैन,’ स्वास्थ्य मन्त्रालयका एक पूर्वसचिवले भने,‘जसरी अहिले सरकारी अस्पतालमा बेड खाली नभएको मौका छोपेर निजी अस्पतालले महँगो प्याकेज घोषणा गरेका छन्। त्यो गलत हो। अत्यावश्यक सेवा अन्तर्गत बढी शुल्क लिनेलाई कारबाही गर्नुपर्छ।’

कोरोना संक्रमितको उपचारमा लागेको खर्च सरकारले ब्यहोर्ने निर्णय दुई हप्ता अघि सरकारले फिर्ता लिएपछि निजी अस्पतालले महँगो शुल्क उठाउन थालेका हुन्। 

नर्भिकमा कुन प्याकेज कति?

१. आइसोलेसन प्याकेज : यो प्याकेजमा बिरामीले एक लाख रुपैयाँ तिर्नु पर्ने हुन्छ। १४ दिनका लागि मान्य यो प्याकेजमा एउटा कोठामा तीनदेखि चार वटा बेडको व्यवस्था गरिएको हुन्छ। अस्पतालसँग यो प्याकेजका लागि जम्मा १४ वटा बेड छन्। 

२. सेमी प्याकेज : यो प्याकेज लिए बापत बिरामीले एक लाख १० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। १४ दिनका लागि मान्य यो प्याकेजमा एउटा कोठामा दुई वटासम्म बेड राखिने अस्पतालले जनाएको छ। अस्पतालसँग यो प्याकेजका लागि जम्मा १० वटा बेड छन्।  

३.प्राइभेट प्याकेज : एक लाख २५ हजार रुपैयाँ पर्ने यो प्याकेजमा एउटा कोठामा एक जनालाई मात्र राख्ने व्यवस्था गरिएपनि आवश्यक परेमा दुई वटासम्म बेडहरु रहनेछन्। यो पनि १४ दिनका लागि मात्र मान्य हुनेछ। अस्पतालसँग यो प्याकेजका लागि १० वटा बेड रहेका छन्।

४. डिलक्स प्याकेज : यो प्याकेज अन्तर्गत बिरामीले एक लाख ४० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। एउटा कोठामा एक जनालाई मात्र राख्ने व्यवस्था गरिएको छ। यो प्याकेजमा अस्पतालले दुई वटा बेड छुट्याएको छ। 

बिरामीले जुन प्याकेज लिएपनि डिस्चार्ज हुने बेला भने नर्सिङ भिजिट, डाक्टर भिजिट, औषधि खर्च र परीक्षण खर्च छुट्टै तिर्ने व्यवस्था अस्पतालले गरेको छ। यसो गर्दा प्याकेजको शुल्कभन्दा तेब्बरसम्म तिर्नुपर्ने हुन्छ। बिरामी १४ दिनभन्दा अघि नै निको भएमा रिफन्डको व्यवस्था नरहेको अस्पतालले जनाएको छ।

यस्तै, यदि सुरुमा कम खर्चिलो प्याकेज लिएर अस्पतालमा बसेका बिरामीमा पछि स्वास्थ्य समस्या देखा परे अर्को प्याकेजको कोठामा सारिने र त्यसको पनि छुट्टै रकम बिरामीले व्यहोर्नु पर्ने अस्पतालको भनाइ छ।
 

प्रकाशित मिति: ००:४८ बजे, बिहीबार, असोज ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्