Kathmandu Press

यी हुन् आईपिएलका तोड्न असम्भव रेकर्ड

काठमाडौं, असोज ३ : आईपिएलको १३ औं संस्करण आज साँझबाट सुरु हुँदैछ। कोरोना महामारीका कारण यो पटक आईपिएलमा कुनै तामझाम हुने छैन।युएईका तीन शहरमा...
यी हुन् आईपिएलका तोड्न असम्भव रेकर्ड

काठमाडौं, असोज ३ : आईपिएलको १३ औं संस्करण आज साँझबाट सुरु हुँदैछ। कोरोना महामारीका कारण यो पटक आईपिएलमा कुनै तामझाम हुने छैन।

युएईका तीन शहरमा बन्द रंगशालामा हुने आईपिएलमा फेरि एक पटक दिग्गज महेन्द्रसिंह धोनीको शान्त स्वभाव, विरोट कोहलीको आक्रामकता र रोहित शर्माको कप्तानीमा सबैको नजर हुनेछ। 

शनिबार राति ७ : ४५ बजे अवुधाबीमा गत सिजनको फाइनलिष्टद्वय मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीचको खेलसँगै आईपिएलको रौनक क्रिकेटप्रेमीमा छाउने छ। तर, कोरोना त्रासका कारण मैदानमै गएर दर्शकले प्रत्यक्ष आईपिएलको मज्जा भने लिन पाउने छैनन्। १३ औं संस्करणसम्म आइपुग्दा आईपिएलमा थुप्रै रेकर्ड बनेका छन्। तीमध्ये केही यस्ता रेकर्ड छन्, जसलाई तोड्न असम्भव जस्तै छ।

यस्ता छन् रेकर्ड :

सर्वाधिक र कम स्कोर

भारतीय टिमका कप्तान विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंग्लोरका नाममा आईपिएलमा थुप्रै रेकर्ड दर्ज छन्।

तीमध्ये दुई रेकर्ड हुन्, सर्वाधिक धेरै स्कोर र कम स्कोर। सन् २०१३ मा बेंग्लोरले पुने वारियर्सविरुद्ध २६३ रनको विशाल पारी खेलेको थियो, यो आईपिएलमा इतिहासकै सर्वाधिक उच्च स्कोर हो। यस्तै, सन् २०१६ मा गुजराज लायन्सविरुद्ध पनि उसले २४८ रन बनाएको थियो।

आईपिएलमा कम योगफलमा समेटिने टिम पनि बेंग्लोर नै हो। सन् २०१७ मा कोलकाता नाइट राइडर्सविरुद्ध बेंग्लोरको पुरा टिम ४९ रनमा अलआउट भएको थियो। कम योगफलमा समेटिनेमा दोस्रोमा राजस्थान रोयल्स र तेस्रोमा दिल्ली क्यापिटल्स छन्। सन् २००९ मा बेंग्लोरविरुद्ध राजस्थान ५८ रनमा अलाआउट हुँदा सन् २०१७ मा मुम्बईविरुद्ध दिल्ली ६६ रनमा समेटिएको थियो।

सर्वाधिक ठूलो जित 

मुम्बई इन्डियन्स आईपिएलको सर्वाधिक सफल टिम हो। उसले सर्वाधिक चार पटक उपाधि जितेको छ। रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले आईपिएलमा सर्वाधिक ठूलो जितको कीर्तिमान आफ्नो नाममा लेखाएको छ। सन् २०१७ मा दिल्लीविरुद्ध १४६ रनको जित निकालेको थियो। त्यो आईपिएल इतिहासकै सर्वाधिक फराकिलो जित हो। यस्तै, कोलकाताले सन् २०१६ मा गुजरात लायन्सविरुद्ध १४४ रनको जित निकालेको थियो। 

अहिलेसम्म आईपिएलका ८ खेलका फैसला सुपर ओभरमा भएको छ। जसमा ३ कोलकताले खेलेको छ। त्यसमध्ये सन् २००८ मा भएको डेकन चार्जसविरुद्धको सुपरओभरमा कोलाकताले २८ रन खर्चिएको थियो। यो सुपरओभरमा कुनै पनि टिमले खर्चिएको सर्वाधिक रन हो। दोस्रो स्थानमा किंग्स इलाभेन पञ्जाव छ। उसले सन् २०११ मा बेंग्लोरविरुद्ध २७ रन खर्चिएको थियो।

कोहलीको नाममा आईपिएलको सर्वाधिक रन

बेंग्लोरका कप्तान विराट कोहली आईपिएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले प्रतियोगिताका १२ सिजनमा ५ हजार ४  सय १२ रन बनाएका छन्। उनले १७७ खेलमा ५ शतक र २६ अर्धशक प्रहार गरेका छन्। सर्वाधिक रन बनाउनेको सूचीमा ५ हजार ३ सय ६८ रन बनाएका सुरेश रैना दोस्रो र ४ हजार ८ सय ९८ रन बनाएका रोहित शर्मा तेस्रो स्थानमा छन्। 

व्यक्तिगत उच्च स्कोर र सर्वाधिक छक्का

आईपिएलमा व्यक्ति गत उच्च स्कोर र सर्वाधिक छक्का प्रहार गर्ने दुवै कीर्तिमान विस्फोटक ब्याट्सम्यान क्रिस गेलको नाममा छ। बेंग्लोरका गेलले सन् २०१३ मा पुने वारियर्सविरुद्ध ६६ बलमा १७५ रनको विस्फोटक इनिङ खेलेका थिए, यो व्यक्तिगत सर्वाधिक उच्च योगफल हो। कोलकताका ब्रेन्डन म्याकुलम (१५८) दोस्रो र बेंग्लोरकै एबी डिभिलियर्स (१३३) तेस्रो स्थानमा छन्।

यसैगरी आईपिएल इतिहासमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी पनि हुन् गेल। उनले १२५ खेल खेल्दै ३२६ छक्का प्रहार गरेका छन्। २१२ छक्का प्रहार गरेका भिलियर्स दोस्रो स्थानमा छन् भने २०९ छक्काका साथ महेन्द्रसिंह धेनी तेस्रो स्थानमा छन्।  यस्तै, गेलकै नाममा आईपिएलमा सर्वाधिक शतक बनाउने कीर्तिमान पनि छ। उनले प्रतियोगतामा ६ शतक बनाएका छन्। कोहलीले ५ तथा सेन वाट्सन र डेविड वार्नरले समान ४ शतक प्रहार गरेका छन्।

यस्तै, आईपिएलमा सर्वाधिक चौका प्रहार गर्ने खेलाडी शिखर धवन हुन्। उनले १५९ खेलमा ५२४ चौका प्रहार गरेका छन्। यस्तै, ४९३ चौका प्रहार गरेका सुरेश रैना दोस्रो र ४९१ चौका प्रहार गरेर गौतम गम्भीर तेस्रो स्थानमा छन्।

छिटो शतक र अर्धशतक

आईपिएलमा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी गेल हुन् भने सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमान केएल राहुलको नाममा छ। बेंग्लोरका लागि सन् २०१३ मा पुने वारियर्सविरुद्ध गेल ३० बलमा शतक बनाउँदै सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान राखेका थिए। सो इनिङमा उनले १७ छक्का र १३ चौका प्रहार गरेका थिए। ३७ बलमा शतक बनाएका युसुफ पठान दोस्रो र ३८ बलमा शतक बनाएका भिलियर्स तेस्रो स्थानमा छन्। 

यस्तै, पञ्जावका कप्तान केएल राहुलले सन् २०१८ मा १४ बलमा ५१ रन बनाउँदै सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमान बनाएका छन्। कोलकताका सुनिल नारिन र युसुफ पठानले १५ बलमा अर्धशतक प्रहार गरेका छन्।

मालिंगा सर्वाधिक विकेट लिने खेलाडी

मुम्बईका भेट्रान फास्टबलर लासिथ  मालिंगा आईपिएलका सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले मुम्बईका लागि १२२ खेल खेल्दै १७० विकेट लिएका छन्। उनको इकोनोमी ७.१४ छ। १५७ विकेट लिएका दिल्लीका अमित मिश्रा दोस्रो र १५० विकेट लिएका चेन्नईका हरभजन सिंह तेस्रो स्थानमा छन्। मालिंगा र हरभजन दुवैले यो सिजन भने आईपिएल खेल्ने छैनन्।

सर्वश्रेष्ठ बलिङ रेकर्ड

वेष्ट इन्डिजका १८ वर्षीय युवा खेलाडी अल्जारी जोसेफले गत सिजन मुम्बईबाट आईपिएलमा डेब्यू गरे। उनले डेब्यू खेलमै उत्कृष्ट प्रदर्शन गरे र एउटा अभूतपूर्व रेकर्ड आफ्नो नाममा लेखाए। उनले सनराइजर्स हैदरावादविरुद्ध ३.४ ओभरमा १२ रन खर्चेर ६ विकेट लिए। यो आईपिएल इतिहासकै उत्कृष्ट बलिङ रेडर्क हो।

चार ओभरमा १४ रन खर्चेर ६ विकेट लिएका इमरान ताहिर दोस्रो स्थानमा छन् भने ४ ओभरमा १९ रन खर्चेर ६ विकेट नै लिएका एडम जम्पाको स्पेल तेस्रो स्थानमा छ। आईपिएलमा सर्वाधिक राम्रो इकोनोमी भएका बलर रसिद खान हुन्। ४६ खेल खेलेका उनको इकोनोमी ६.५५ छ। यस्तै, ६.५७ इकोनोमी भएका अनिल कुम्बले दोस्रो र ६.६१ इकोनोमी भएका ग्लेन म्याग्राथ तेस्रो स्थानमा छन्।

यस्तै, आईपिएलमा सर्वाधिक डटबल गर्ने खेलाडी मुम्बई तथा चेन्नईका हरभजन सिंह हुन्। १६० खेलमा ५६२.२ ओभर बलिङ गरेका उनले १२४९ बल डट गरेका छन्। यस्तै, दिल्लीका कागिसो रबाडा उत्कृष्ट बलिङ एभरेज भएका खेलाडी हुन्। १८ खेल खेलका उनको बलिङ एभरेज १७.९३ छ। 

मिश्राको नाममा तीन ह्याट्रिक

दिल्ली क्यापिटल्सका लेगस्पिनर अमित मिश्रा आईपिएलमा सर्वाधिक ह्याट्रिक लिने खेलाडी हुन्। उनले १४७ खेलमा ३ ह्याट्रिक लिएका छन्। यस्तै, मुम्बईका पूर्व खेलाडी युवराज सिंहले २ र चेन्नईका साम कुरानले एक ह्याट्रिक लिएका छन्। कोलकाताका स्पिनर सुनिल नारिनले सर्वाधिक ६ पटक ४ विकेट लिएका छन्। यस्तै, प्रविन कुमारले ११९ खेलमा सर्वाधिक १४ ओभर मेडन गरेका छन्।

(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: २०:४० बजे, शनिबार, असोज ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्