शुक्रबार, असोज २, २०७७

‘बामदेव गौतम सत्ताबाहिर बस्नै सक्दैनन्, नेकपा सत्तामोहीको रंगमञ्च हो’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै सत्तामा लिप्त पार्टी बनेको छ। पार्टीभित्र सत्तामा जान हानाथाप छ। प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाएर आलोपालो सहमति अनुसार आफू सत्ताको नेतृत्व गर्न प्रचण्ड तम्सिए।

प्रचण्डको प्रधानमन्त्री बन्ने चाहनालाई ओलीले पूरा हुन दिएनन्। आफ्नो सत्ता उनले अनेक तिकडम लगाएर जोगाए। सत्ताको लडाइँ नेकपाभित्र ओली र प्रचण्डबीच मात्रै होइन, सचिवालय सदस्यदेखि पहुँच भएका अन्य नेताहरुबीच पनि छ। ओलीले सत्ता नछाड्ने भएपछि विभिन्न भेला गरेर उनको विरोध गरेर आफ्नो भाग खोज्ने काम नेकपाभित्र भयो।

सत्तामुखी चरित्रमा बामदेव गौतम कसरी अपवाद रहन सक्थें। इतिहासको कालखण्डमा कुशल संगठक रहेका गौतमले महाकाली सन्धि राष्ट्रघाती रहेको भन्दै विरोध गरे। त्यसको भण्डाफोर गर्न भन्दै पार्टी विभाजनमा समेत भूमिका निर्वाह गरे। केही समय राष्ट्रवादी देखिए। विस्तारै गौतममा सत्ता मोह  पलाउन थाल्यो। राष्ट्रवादबाट सत्ता प्राप्ति नहुने भएपछि उनले आफ्नो अडान विर्सिए। अहिले पनि सत्ताका प्राप्तिका लागि आफ्नो अडान बारम्बार भुल्ने गरेका छन्।

पार्टीको सरकारमा अवसर पाइरहने गौतमले प्रतिनिधिसभाको निर्वाचनमा पराजय व्यहोरे। यदि उनले निर्वाचनमा जित हासिल गरेका थिए भने पार्टी विभाजनमा शक्तिको रुपमा खडा हुन सक्थें। पार्टीभित्र विवाद चर्किँदै गएपछि गौतमलाई आफूतिर तान्न प्रधानमन्त्रीको लालसा देखाइयो।

सत्ता प्राप्तिका लागि बामदेव गौतम जता पनि लाग्छन्। कहिले उनी प्रचण्ड-माधव समूहमा देखा पर्छन् त कहिले ओलीसँग नजिकिन्छन्। प्रचण्ड-माधव समूहले उनलाई राष्ट्रियसभामा लगेर संविधान संशोधन गर्दै प्रधानमन्त्री बनाउने आश्वासन देखाए। उनले ओलीको विरोध गर्न थाले। ओलीले उनलाई पार्टीको उपाध्यक्ष बनाउँदै प्रचण्ड-माधव समूहको प्रस्तावलाई अनुमोदन गरे, उनले ओलीको विरोध गर्न छाडे। 

नेकपामा बामदेव गौतम अहिले भकुण्डो भएका छन्। सत्ताको लोभ देखाएर कहिले ओलीले कहिले ओलीइतर समूहले उनलाई प्रयोग गरिरहेका छन्।
ओली र प्रचण्ड दुवैले  उनलाई राष्ट्रियसभामा ल्याएर  प्रधानमन्त्री बनाउने भने पनि कार्यान्वयन गर्न सकेनन्। न त बामदेव गौतमले डोल्पा गएर उपनिर्वाचन लड्ने परिस्थिति नै सिर्जना भयो।

प्रधानमन्त्री बन्न नपाएपनि उपप्रधानसहित रोजेको मन्त्रालयमा जान सक्ने भएकाले प्रधानमन्त्री हुन नपाए राष्ट्रियसभामा नजाने पुरानो अडान बिर्सिएर फेरि खुट्टा उचालेका हुन्।  बामदेव सत्ता बाहिर रहन सक्दैनन् भन्ने आलोचनालाई उनी स्वयंले बारम्बार पुष्टि गर्दै आएका छन्। कुनै समयका सहयोद्धा, एक कुशल संगठक तथा नेताको सत्तामोह देख्दा म उनको पछि किन लागेँ भनेर बारम्बार आफैँ लज्जा महसुस गरेको छु। तर, उनले लाज मानेका छैनन्।

उनलाई अब अर्थमन्त्री हुने चाहना छ। अर्थमन्त्री भएर मार्स्कवादी अर्थशास्त्र लागू गराउँछु भन्ने भ्रम गौतममा छ। गौतमले कृषिमन्त्री घनश्याम भुसालको अवस्था हेरेका छैनन्। भुसालले पनि मन्त्री भएपछि योजनाका निकै गफ दिए। कार्यान्वयनको अवस्था हेर्‍यौं भने निकै लाजमर्दो अवस्थामा छ। बामदेव गौतम वा अरु कसैले पनि  बुझ्नुपर्ने कुरा के हो भने ओलीको क्याबिनेटमा गएर जागिर खानेबाहेकको अरू काम हुनै सक्दैनन् किनकी अरुबाटै निर्देशित हुनुपर्छ। मन्त्रीहरुले स्व:विवेकले काम गर्न पाउँदैनन्।

नेकपा अहिले पञ्चायतकालीन राप्रपा जस्तै भएको छ। त्यतिबेला सूर्यबहादुर थापा प्रधानमन्त्री रहँदा धेरै उनकै आशिर्वादले मन्त्री भएका थिए। अहिले ओलीको आशिर्वादका लागि नेताहरु हानाथाप गरिरहेका छन्। नेकपाले राष्ट्र रुपान्तरणको एजेण्डा विसर्जन गरिसकेको छ। नत्र आठ लाख क्रियाशील सदस्य रहेको पार्टीले खोईं आफ्ना कार्यकर्तालाई महामारीविरुद्ध जनचेतना फैलाउन खटाएको, प्राकृतिक विपद्‍मा खोई उनीहरुलाई पठाएको?

पार्टीभित्र यत्रो विवाद हुँदा समाधानका लागि कार्यदल गठन भयो। विवाद समाधान कार्यदलको प्रतिवेदनको हालत ओली र प्रचण्डको स्वार्थ अनुमोदनमात्रै छ। ६ सदस्यीय कार्यदलले आफ्नो स्थान सुरक्षित गरिसकेपछि गतिलो प्रतिवेदन पनि कसरी प्रस्तुत गरुन्। सत्तामुखी चिन्तनको चरित्र भएका पात्र बामदेव गौतम निश्चय पनि हुन्। 

तर, नेकपा नै एउटा त्यस्तो रंगमञ्च हो जहाँ सत्ताका लागि विभिन्न नाटक भइरहेका छन्। सत्तामा हुनेहरु मोजमस्ती गरेर बसिरहेका छन्। सत्तामा जान नपाएकाहरु भाग पाइएन भनेर विरोध गरिरहेका छन्। कसैले सत्ता सुरक्षित गरिसकेका छन्।

(मैनालीसँग काठमाडौं प्रेसले गरेको कुराकानीमा आधारित)
 

 Published Date: Tuesday, 1st September 2020 2:38:00 pm