Kathmandu Press

नेपाल आइडलमा किरणको लुकिछिपी...

नेपाल आइडलमा किरणकुमार भुजेलको यात्रा कम रोमाञ्चक छैन। कहिले सपना टुटेको छ, कहिले प्रशंसाले घेरिएका छन्, त कहिले फाइनलिस्ट बन्दा असिमित खुसी पाएका छन्।
नेपाल आइडलमा किरणको लुकिछिपी...

काठमाडाैं, भदाै ९ : टप ७ बाट आउट, वाइल्ड कार्डमार्फत् शीर्ष पाँचमा इन्ट्री र फाइनलिस्टसम्मको यात्रा । नेपाल आइडलमा किरणकुमार भुजेलको यात्रा कम रोमाञ्चक छैन। कहिले सपना टुटेको छ, कहिले प्रशंसाले घेरिएका छन्, त कहिले फाइनलिस्ट बन्दा असिमित खुसी पाएका छन् उनले। त्यसैले त किरणले निर्णायक र दर्शक दुवैको मन जितेका छन्।

वर्षौदेखिको मेहनत र संघर्ष, दर्जनौं पटकका हन्डरबाट खारिएका किरणको टुटिसकेको सपना पुनः जागृत बनेको छ- नेपाल आइडलकाे तेस्राे सिजनमा। उनको यात्रा गन्तव्यबाट केवल एक कदम पछाडि छ। र, उनका प्रतिस्पर्धी छन्, प्रवीन बेडवाल र सज्जा चौलागार्ईं।

प्रस्तुति हेर्दा लाग्छ यी तीनबीच काँटाको टक्कर छ। तर, जीत-हार त उही दर्शकको हातमा न छ। 

किरणसँगै प्रवीन र सज्जाले अडिसनदेखि फाइनलसम्मको यात्रामा थुप्रै उत्कृष्ट प्रस्तुति दिएका छन्, र आफूलाई अब्बल प्रमाणित गरेका छन्। उत्कृष्ट गायन कलाकै कारण फाइनलसम्म पुगेका उनीहरुलाई नेपाल आइडलको ताज पहिरिन भने गला मात्रै होइन, दर्शकको भोट पनि अवाश्यक छ। 

जीवनमा जस्तै आइडलको यात्रामा ‘दुःख–सुख’लाई आत्मसाथ गरेका किरण अघिल्ला राउन्डहरुमा जस्तै फाइनलमा पनि दर्शकको साथ पाउनेमा आशावादी छन्। ‘बाहिरिसकेको प्रस्तिपर्धी दर्शक स्रोताकै मायाका कारण आइडलमा रि इन्ट्री पाएँ,’ किरण भन्छन्, ‘दर्शकको माया र मेरो मेहनतकै कारण फाइनलसम्म पुगेको छु। फाइनलमा पनि साथ दिनुहोला।’

‘रि इन्ट्रीपछि फाइनलमा पुग्नेमा ढुक्क थिएँ’ 

काठमाडौं अडिसनबाट नेपाल आइडलको यात्रा थालेका मोहत्तरी बर्दिबासका किरणले अडिसनबाटै आफूलाई उत्कृष्ट प्रमाणित गरे। उनले प्रत्येकपल्ट उत्कृष्ट प्रस्तुति दिए, तीनै जना जजको मन जिते। र, सहज रुपमा टप ७ सम्मको यात्रा तय गरे। 

टप ७ मा किरणले भक्तराज अचार्यको ‘जती चोट दिन्छौं मायालु..’ र ज्योती घिमिरेको ‘नसालु तिम्रो आँखैले..’ गाए। टप ७ को प्रर्फमेन्स र एलिमिनेसन चरणमा जजको निकै तारिफ पाए। प्रस्तुति त धमाकेदार भयो, तर भोटले उनलाई ठग्यो। उनको यात्रा तत्काललाई टप ७ मै राेकियाे । राम्रो गाउँदा गाउँदै, जजको मन जित्दाजित्दै आइडलको मञ्च छोड्नु पर्दा किरणलाई कस्तो अनुभव भएको थियो होला? सहजै अनुमान गर्न सकिन्छ। 

तर, हरेक असफलताको अन्त्य पनि सफलतामा टुंगिन्छ भन्ने बुझेका किरणले हरेस खाएनन्। थप मेहनत गर्न थाले। किनकी उनलाई थाहा थियो, आइडलमा पुन: प्रवेश पाउने एउटा ढोका अझै बाँकी छ- वाइल्ड कार्ड। 

‘आउट हुँदा एक प्रकारले दुःखी त भएँ, तर त्यती धेरै भने होइन,’ किरण भन्छन्, ‘आइडलमा रि इन्ट्री गर्न गोल्डेन चान्स छ, वाइल्ड कार्ड। यो अन्तिम मौका हो, यसलाई मिस गर्नु हुन्न भन्ने थियो, आउट भएपछि त्यसकै तयारी गरेँ।’

वाइल्ड कार्डका लागि ५ जना प्रतिस्पर्धी थिए, किरण, रचना रिमाल, ममता गुरुङ, मेघा श्रेष्ठ र मिङ्मा लामा।

यो राउण्डमा उनले चलचित्र नेपाली बाबुको ‘म हुँ नेपाली बाबु’ गाए। धमकेदार प्रस्तुति दिएपछि जज र दर्शक दुबै उनकाे फ्यान बने । त्यसैले त दर्शकले उनलाई सर्वाधिक भोट दिएर आइडलमा पुनः इन्ट्री गराए। टप ७ मा सकिएको उनको यात्रा टप ५ मा पुगेर जोडियो। तर, रोचक वाइल्ड कार्डको नतिजा थाहा पाउन किरणले चार महिना कुर्नु पर्‍यो, कोरोना महामारी। 

‘वाइल्ड कार्डको लागि गरिएको पर्फमेन्स राम्रो भएको थियो,’ उनी भन्छन्, ‘त्यसैले प्रतियोगितामा रि इन्ट्री पाउँछु भन्ने थियो। आखिरीमा त्यही नै भयो। दर्शक, स्रोतका मायाकै कारण यो सम्भव भयो।’ 

उनै किरण अहिले फाइनलमा पुगेका छन्, र सपना साकार पार्ने प्रयासको अन्तिम खुड्किलाेमा छन्। आइडलमा रि इन्ट्री गरेपछि फाइनलमा पुग्छु भन्ने लागेको थियो? भन्ने प्रश्नमा किरण भन्छन्, ‘रि इन्ट्री भएपछि चाहिँ फाइनल पुग्छु नै भन्ने थियो। मेहनत पनि गरेको थिएँ, त्यसैले फाइनल पुग्न कसैले रोक्न सक्दैनन्, भन्ने थियो। म कन्फिडेन्ट थिएँ।’

नेपाल आइडलको फाइनलसम्मको यात्रा तय गरेका उनमा एक्साइटमेन्ट बढेको छ, जीतको भोक जागेको छ। नजागोस् पनि कसरी? उनको एक दशक बढीको मेहनत र संघर्षले मुर्तरुप लिँदैछ। त्यसैले त उनलाई लाग्न थालेको छ, ‘म कतै सपनामा त छैन!’

फाइनल पुग्दा किरणले के सम्झिए, कस्तो अनुभव गरे त? ‘प्रस्तुति सकिएपछि चारै जनालाई स्टेजमा बोलाइयो। मुटुको गति बढेको थियो, दिमाग शुन्य थियो। सायद अरुलाई पनि यस्तै भएको थियो,’ उनी भन्छन्, ‘आसिफ दाइले फाइनल पुग्ने पहिलो प्रस्तिपर्धीका रुपमा प्रविनको नाम लिनु भयो। मुटुको गति झनै बढ्यो। आसिफ दाइले फाइनल पुग्ने दोस्रो नाम लिनु भयो, किकुभु अर्थात् किरणकुमार भुजेल। टप थ्रीमा म। खुसीको सीमा नै थिएन।’

भोटका लागि दौडधुप गरिरहेका किरण भन्छन्, ‘१२–१३ वर्षअघि सोचेको कुरा पुरा हुन लागेको छ। पहिला–पहिलाका आइडलहरुको ‘चार्म’ देख्दा आफूलाई पनि त्यस्तै कल्पना गर्थें। त्यही कुरा आज आफैंले भोगिरहेको छु, त्यसैले घरीघरी सपनामै छु कि जस्तो लागेर आफूले आफैलाई चिमोट्ने गर्छु ।’


‘आउट भएको घरमा पत्याउनु भएनन्’

हरेक एपिसोडमा जजको प्रशंसा र बाहिर पनि उत्तिकै चर्चा। यही प्रशंसा र चर्चाका बीच किरण टप–७ बाट आउट भए। आउट भएपछि किरण त दुःखी भए नै, त्योभन्दा बढी उनका आमा–बुबा दुःखी भए। 

‘प्रस्तुति राम्रो भएपनि भोटिङका आधारमा टप–७ बाट आउट भएँ, ममी–बाबा आश्चर्यमा पर्नु भयो। कसरी आउट भइस्, राम्रो गाइरहेको थिइस् भन्नु भयो। त्योबेला निकै दुःखी हुनु भएको थियो,’ किरण भन्छन्, ‘मैले राम्रो गरिरहेका थिएँ, त्यहीबेला आउट भएँ। त्यसैले म आउट भएँ भन्ने पत्याउनु भएन।’ १२–१३ वर्ष छोराले गरेको मेहनत त्यसै खेर जाँदा आमा बुबा दुःखी हुनु स्वभाविक ठान्छन् किरण।

राम्रो पर्फमेन्स गर्दा–गर्दै आउट हुँदा किरण पनि केही दुःखी भए। उनलाई अलिकति नराम्रो पनि लाग्यो। ‘ला म कसरी आउट भएँ, किन आउट भएँ भन्ने हुँदो रहेछ। तर, यो प्रतियोगिताको फम्र्याट, भोटिङले निर्णय थियो,’ उनले भने, ‘मलाई धेरैले दर्शक स्रोताले सपोर्ट गर्नुभयो, भोट गर्नुभयो । तर, भोट अरुको भन्दा कम भएकाले मात्र आउट भएँ।’ गीत रेकर्ड र वाइल्ड कार्डको तयारीले गर्दा आउट हुँदै धेरै पीडा नभएको उनले सुनाए। 

किरणको संगीत संघर्ष

एलएससी सकेपछि २०६५ मा काठमाडौं आए। अनि सुरु भयो किरणको सांगीतिक क्षेत्रमा संघर्ष। उनी १२/१३ वर्षदेखि संगीतमै छन्, अहिले बल्ल सफलता हात पारेका छन्। यसबीचमा किरणले भारतीय रियारिटी शो सारेगमापा, खोेजी प्रतिभाको र नेपाल आइडलको प्रथम सिजनमा पनि भाग लिँदै आफूलाई निखारे। 

किरणले प्लस टु र स्नातक संगीतमै गरेका छन्, ललितकला क्याम्पसबाट। काठमाडौं बसाइका सुरुवाती दिन पीडादायी नै भएको उनले सुनाए। ‘आफ्नो कमाइ थिएन, घरबाट ल्याएको ३ हजारले कोठाभाडादेखि कलेजको फि र म्युजिक क्लास सबै पु¥याउनु पर्ने साह्रै गाह्रो थियो,’ किरणले संघर्षका दिन सम्झिए। 

४–५ वर्षपछि स्कुलमा संगीत सिकाउन थालेपछि केही सहज भएको उनले बताए। ‘विस्तारै गीतहरु पनि रेकर्ड गराएँ, त्यसले केही चर्चा पाएँ। योबीच धेरै उतारचढाब भोगियो। त्यही संघर्षले आज यो स्थानमा छु,’ किरण भन्छन्। 

किरणले गाउन सुरु गरेको ६ कक्षा पढ्दादेखि नै हो। उनी भन्छन्, ‘६ कक्षामा पढ्दादेखि हो, गाउन थालेको। त्यतीखेर स्कुलका प्रोगामहरुमा खुब गाइन्थ्यो, त्यसपछि संगीतले मलाई तान्यो। एसएलसीपछि चाहिँ संगीतमै केही गर्नु पर्छ भन्ने लाग्यो। ७/८ वर्षदेखि व्यवसायिक रुपमै म्युजिक फिल्डमा छु।’

०००

नेपाल आइडलमा आउनुअघि नै किरणले करिब ५ दर्जन जति गीत रेकर्ड गराइसकेका थिए। ती गीतले सोचोजस्तो चर्चा भने पाएनन्, तर पनि उनी संगीतमै लागिरहे। नेपाल आइडलमा उनको धमाकेदार प्रस्तुतिले चर्चा चुलियो । सँगै उनका ती पुराना गीतले पनि विस्तारै ठाउँ पाउन थाले। त्यसले किरणलाई थप खुसी दियो, मेहनत खेर नगएको महसुस गरे।

‘त्यतीबेला ती गीतले त्यती चर्चा पाएनन्, तर नेपाल आइडलमा आएपछि भने पुराना गीतले निकै चर्चा पाएका छन्, दर्शकले खोजेर सुन्न हेर्न थाल्नु भएको छ, खुसी छु,’ किरण भन्छन्।  

६० वटाजती गीतमा आफ्नो स्वर दिइसकेका किरणले गीत गाउने थुप्रै अफरहरु आइरहेको सुनाए। उनी अफर आउने बित्तिकै गीत गाइहाल्ने पक्षमा छैनन्। उनी भन्छन्, ‘थुप्रै अफर आइरहेको छन्। तर, छानेर आफूलाई सुहाउने गीतहरु गाइरहेको छु। संख्यामा भन्दा गुणास्तरमा जोड दिन्छु।’
 
अडिसनदेखि फाइनलसम्मको यात्रामा किरणले थुप्रै यादगार क्षण बिताएका छन्। ती क्षणले उनलाई जीवनभर खुसी दिनेछ, उनको ओठमा मुस्कान छर्ने छ। ‘यो यात्रामा त्यस्ता क्षणहरु थुप्रैै क्षण छन्, जसले मलाई रोमाञ्चित बनाउँछ। मिस नेपालहरुलाई स्टेजमा नचाएको, वाइल्ड कार्डमार्फत रि–इन्ट्री, फाइनल पुग्दाको क्षण। यी क्षण एकदमै अविस्मरणीय छन्, रहिरने छन्,’ मन्द मुस्कानका साथ किरणले भने।

प्रतिस्पर्धी दुवै अब्बल छन्

आफ्नो दुई प्रतिस्पर्धी प्रविन र सज्जाका विषयमा किरणको धारणा छ–दुवै राम्रा र अब्बल गायक हुन्। ‘उनीहरु दुवै आ–आफ्नो विधानमा अब्बल छन्। प्रविन बेडवाल क्लासिकलमा एकदमै राम्रा हुनुहुन्छ भने सज्जा बहिनी रक–पपमा उत्कृष्ट छिन्,’ किरण भन्छन्, ‘मलाईचाहिँ प्लेब्याक सिङगिङमा राम्राे छ भन्छन्  त्यसैले हामी तीनै जना आ–आफ्नो विधामा उत्कृष्ट छौं।’ 

उचार चढाबसहितको नेपाल आइडलको यो यात्रा उनका लागि निकै रमाइलो र अविस्मरणीय बनेको छ। ‘यो यात्रामा उतारचढाव थियो, सँगै दुःख र सुख पनि। दुःख–सुख मिश्रित रमाइलो यात्रा हो, यो,’ किरण भन्छन्। 

अन्त्यमा किरणलाई हामीले सोध्यौं, ‘तपाईंले जित्नु भएन भने कसले जित्छ नेपाल आइडलको ताज?

ठट्यौलीपारामै किरणले उत्तर दिए, ‘म भइनँ भने किरण भुजेल हुन्छ, किरण भएन भने म!’

प्रकाशित मिति: ०७:४५ बजे, बुधबार, भदौ १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्