Kathmandu Press

रानी एश्वर्यले अध्ययन गरेको काठमाडौंको ऐतिहासिक विद्यालय बन्द हुँदै

सामान्य जनतादेखि रानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह लगायत राजपरिवारका सदस्यले समेत शिक्षा पाएको यो ऐतिहासिक विद्यालय सञ्चालनको सात दशकपछि अन्ततः बन्द हुने अवस्थामा पुगेको छ।
रानी एश्वर्यले अध्ययन गरेको काठमाडौंको ऐतिहासिक विद्यालय बन्द हुँदै
Hardik ivfHardik ivf

काठमाडौं, साउन १० : काठमाडौंको मुटु मानिने वसन्तपुर दरबार क्षेत्रभित्र एउटा पुरानो विद्यालय छ- कान्ति ईश्वरी राज्यलक्ष्मी माध्यमिक विद्यालय।

जीर्ण अवस्थामा रहेको यो विद्यालय २००७ सालमा राजा त्रिभुवनको सक्रियतामा खुलेको हो। यो विद्यालय खोल्नुको उद्देश्य थियो- नारी शिक्षा। 

राणा शासनको अन्त्य भएर प्रजातन्त्र स्थापना भएसँगै जनताले शिक्षाको उज्यालो देख्न पाएका थिए। गाउँमा विद्यालय खुल्ने क्रम सुरु भएको थियो। राणाकालमा देशमा नारी शिक्षा त परैको कुरा, शिक्षा प्राप्त गर्ने मानिसहरूको संख्या नै निकै कम थियो। यस्तो समयमा खोलिएको यो विद्यालयले नारीलाई शिक्षा प्रदान गरी देशको शिक्षा क्षेत्रलाई उकास्न निकै सहयोग गर्‍यो।

सामान्य जनतादेखि रानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह लगायत राजपरिवारका सदस्यले समेत शिक्षा पाएको यो ऐतिहासिक विद्यालय सञ्चालनको सात दशकपछि अन्ततः बन्द हुने अवस्थामा पुगेको छ।

विद्यालयका प्रधानाध्यापक रामशरण खनाल नारी शिक्षाबिना देश विकास हुँदैन भनेर उद्देश्यका साथ खोलिएको विद्यालय बन्द हुन नहुने बताउँछन्। खनाल भन्छन्, ‘यस्तो ऐतिहासिक विद्यालय बन्द नगराउन हामीले धेरै पहल गर्‍यौँ। वडा, शिक्षा विभाग, काठमाडौंको मेयर, उप–मेयर र शिक्षामन्त्रीसम्म पुग्यौँ तर सम्बन्धित निकायले यस विषयमा खासै चासो दिएन।’

शिक्षा विभागले गत जेठ २२ गते यो विद्यालय बन्द गर्ने निर्णय गरेको छ।  भूकम्पबाट क्षतिग्रस्त भएको विद्यालय भवनमा पठनपाठन सम्भव नभएको भन्दै विभागले शैक्षिक सत्र २०७७ मा कुनै पनि भर्ना नलिन, विद्यालयलाई पूर्ण रूपमा बन्द गर्न, विद्यार्थीलाई शान्ति निकुञ्जमा सार्न, विद्यालयको सामान अन्य विद्यालयलाई हस्तान्तरण गर्न भनेको छ।

यो विद्यालय सुरु हुँदा शारदाप्रसाद उपाध्याय प्रधानाध्यापक थिए। त्यसपछि शिक्षा विभागका निर्देशक समेत रहेका उनले नेपालको शिक्षा क्षेत्रलाई नै नयाँ स्वरूप दिने गरी यो स्कूल अघि बढाएका थिए।

यही स्कूलबाट एसएलसी पास गरेकी अष्टलक्ष्मी शाक्यले सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की स्थापित नेतृ हुन्। उनले यो विद्यालयलाई जोगाइराख्नुपर्ने बताउँछिन्।

‘यो विद्यालयमा पढेरै धेरै महिलाले उच्च पद हासिल गरेका छन्। ऐतिहासिक महत्व रहेको यो विद्यालय बन्द गर्नु हुँदैन,’ उनी भन्छिन्, ‘बन्द गर्नुपर्ने कारण र बन्द गर्न नहुने कारणलाई नियालेर मात्र उचित कदम चाल्नु आवश्यक छ।’

 

अहिले विद्यालय बन्द गर्न महानगरले दबाब दिइरहेको कान्ति ईश्वरी पूर्वविद्यार्थी संघकी अध्यक्ष शारदा मरहठा बताउँछिन्। ऐतिहासिक विद्यालयको रूपमा संरक्षण गर्नुको साटो नामोनिसान नै हटाउन खोजेको भन्दै हाल विद्यालयमा कार्यरत कर्मचारीले विरोध जनाएका छन्।

विद्यालय बन्द गराउन कुनै प्रक्रिया नै नचाली एक्कासी नगर कार्यपालिकाको कार्यालय, शिक्षा विभागबाट विद्यालय बन्द गर्न पत्र पठाइएको मरहठाको भनाइ छ। ‘शिक्षा विभागको पत्र पाएपछि मात्र हामीले विद्यालय बन्द गर्न लागिएको थाहा पायौँ,’ उनले भनिन्।

शिक्षा विभागबाट आएको पत्रमा वैशाख १४ गते विद्यालय व्यवस्थापन समितिको समेत उपस्थिति रहेको उल्लेख गरिएको छ। जबकि विद्यालयको जिम्मा स्थानीय सरकारलाई दिएपछि विद्यालय व्यवस्थापन समिति गठन नगरिएको मरहठा बताउँछिन्। समिति गठन गर्ने प्रस्ताव लिएर वडामा धेरै पटक धाउँदा पनि अहिले बेला भएको छैन भन्दै फर्काइएको र केही समयपछि विद्यालयका अधिकारीलाई थाहै नदिई समिति गठन गरिएको मरहठाको भनाइ छ।

हाल कक्षा १० सम्म पढाइ हुने यस विद्यालयमा एक सय ४० विद्यार्थी अध्ययनरत छन्। विद्यालयको ऐतिहासिक महत्व भए पनि विश्वसम्पदामा सूचीकृत क्षेत्रभित्र परेको र भूकम्पपछि पूर्णरुपमा जीर्ण भएकाले बन्द गर्न लागिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए।

‘सम्पदा क्षेत्रभित्र परेको भएरै विद्यालय हटाएर ठाउँ खाली गर्न लागेका हौं,’ उनले काठमाडौं प्रेससँग भने, ‘करिब डेढ महिनासम्म विद्यालय भएको स्थान खाली गराउँछौँ।’ यद्यपी हालसम्म यो विद्यालयलाई अन्य विद्यालयसँग मर्ज गर्ने वा पूर्ण रूपमा बन्द गर्ने भन्ने विषयमा भने छलफल भइरहेको डंगोलले बताए।

विद्यालयको नाम नगुम्ने गरी अन्य कुनै ठाउँमा जग्गा दिएर भवन बनाउन समेत आफूहरु तयार रहे पनि सम्बन्धित निकायबाट केही प्रतिक्रिया नआएको मरहठा बताउँछिन्।
 

प्रकाशित मिति: १३:२० बजे, आइतबार, साउन ११, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्