शनिबार, साउन ३१, २०७७

बलात्कारसम्बन्धी समाचारको चित्र वा ग्राफिक्स कस्तो हुनुपर्छ ?

डिसेम्बर २०१२ मा दिल्लीमा एक जना विद्यार्थीको बलात्कार र हत्या भएपछि भारतमा यौन दुव्र्यवहार विशेष गरि बलात्कारसम्बन्धी समाचार सम्प्रेषण बढेको छ । दुर्भाग्यवश समाचार सम्प्रेषण गर्दा संवेदनशीलता सधैं अपनाइएको छैन । थुप्रै भारतीय समाचार संस्थाहरू बलात्कार चित्रण गर्नलाई भयावह “स्टक इमेज” अझै प्रयोग गरिरहेका छन्।

जुलाइ २०१६ मा बीबीसी संवाददाता तथा दक्षिण एसियाका पूर्व सम्पादक जोआन्ना जोलीले कोलम्बिया जर्नलिजम रिभ्युमा सन् २०१२ यता भारतको अङ्ग्रेजी भाषाका शीर्ष चार समाचारपत्रमा बलात्कारसम्बन्धी समाचारलाई बढि स्थान दिइएको लेखिन् । तर उनीहरूको भाष्य असंवेदनशील बन्दै गइरहेका थिए । “फल्स रेप” (वा अदालतले फैसला गर्नुअघि नै पीडितले मुद्दा फिर्ता लिएका घटना) का समाचार बढ्नुले यो प्रष्ट भइसकेको छ । जोलीले अर्काे समस्या पनि भेटिन्ः

“अश्लिल र सनसनीपूर्ण कवरेज रोकथाम गर्ने उपयुक्त नियमन, रिपोर्टिङ गर्दा बढि संवेदनशीलता, नन–पिएलयु (पिपल लाइक अस) समावेशिकरण, लैङ्गिकतासम्बन्धी समाचार सङ्कलन गर्ने विशेष रिपोर्टर, र बलात्कारलाई वासनासम्बन्धी अपराधभन्दा एउटा राजनीतिक, आर्थिक र सामाजिक घटनाको रूपमा चित्रण गर्ने लगायतका काम गर्न सकिन्छ ।”

यहि फेब्रुअरीमा यौन दुव्र्यवहारसम्बन्धी एउटा समाचारलाई लिएर मलायालम समाचार च्यानल कैराली टिभी विवादमा आयो । बलात्कारसम्बन्धी रिपोर्टिङ गर्दा विश्वभरिका सञ्चार माध्यमले उस्तै गल्ती गर्छन् । पीडितलाई दोषारोपण गर्नेदेखि व्यक्तिगत गोपनियता भङ्ग गरिएको छ।

अप्रिल १६ मा फोटोग्राफर, ग्राफिक डिजाइनर, कलाकार, पत्रकार र सामाजिक कार्यकर्ता एक दिने कार्यशालाका लागि भेला भए । यौन दुव्र्यवहार, लैङ्गिक हिंसा र बलात्कारका घटनालाई  मूलधारका मिडियामा गरिने चित्रण कसरी संशोधन गर्न सकिन्छ भनेर छलफल गरे । ब्रेकथ्रु डट टिभी र इन्स्टाग्रामले आयोजना गरेको उक्त कार्यशालालाई इन्टरनेसनल सेन्टर फर जर्नलिस्टले सहयोग गरेको थियो । ह्याशट्याग रिड्रमिसोजिनी शीर्षकको सो कार्यशालाको दुईटा उद्देश्य थियो ः लैङ्गिक तथा यौन हिंसाको चित्रणमा अहिले के गलत भइरहेको छ, पत्ता लगाउने र त्यसको विकल्प प्रस्तुत गर्ने – जसले पीडितलाई थप पीडा दिने वा बेइज्जत गर्नेभन्दा दोषी केन्द्रित भएर बलात्कारको भाष्य परिवर्तन गर्न सकोस्।

“प्रायः तस्बिर वा चित्रको केन्द्रमा पीडित देखिन्छ । दोषी छायाँमा हुन्छ । नभए एकातिर कुनाबाट दोषीको हात आइरहेको चित्रण गरिन्छ,” बे्रकथ्रु डट टिभीका ग्राफिक्स डिजाइनर शाश्वत नोभाले कार्यशालामा भने।

यसरी तयार पारिएको चित्र वा तस्बिरको “क्लिषे” फाइदा पक्कै छः त्यस्तो तस्बिर वा चित्र लैङ्गिक हिंसासम्बन्धी हो भनेर पाठकले सजिलै चिन्छन् । स्टक फोटो र इमेज बैङ्कमा सर्च गर्ने र दिनमा दर्जनौं लेख प्रशोधन गर्ने “कपि एडिटर”का लागि यो सजिलो उपाय पनि हो।

“यस्ता तस्बिरले महिलाको लाचारी र पुरूषको प्रधानताबारे मन–मष्तिष्कमा थाहै नपाइ एउटा भाष्य निर्माण गर्छ,” नोभाले भने।

तर दृष्टिकोणलाई परिवर्तन गरे दोषीतर्फ ध्यानाकर्षण गर्न सकिन्छ । केहि समयका लागि भए पनि यस्ता चित्रणले नयाँ दृष्टिकोण दिनुका साथै पीडितबाट अनावश्यक ध्यान हटाएर दोषीतर्फ ध्यानाकर्षण गर्दछ ।

ट्रिगर वार्निङ

मे २००२ मा मेलबोर्न ल स्कूलकी सहायक प्राध्यापक वेन्डी लार्कोम्बले फेनिस्टि लिगल स्टडिजमा दि ‘आइडियल’ भिक्टिम भर्सेस सक्केसफुल रेप कम्प्लेनेन्ट्सः नट व्हाट यु माइट एक्सपेक्ट शीर्षकमा एउटा लेख छापिन् । उक्त कार्यपत्रले बलात्कार ‘सर्भाइभर’ बाट अपेक्षा गरिएका व्यवहारसम्बन्धी पूर्वाग्रह प्रष्ट्याएको छ । अदालतमा समेत दोषसिद्ध गराउनलाई आवरणको भारबारे पनि त्यसमा प्रष्ट पारिएको छ।

“महिलावादी कानूनी विश्लेषणमा ‘जेनुइन’ वा वास्तविक बलात्कार पीडितको प्राचीन ‘स्टिरियोटाइप’ पछ्याउन असफल भए महिला फरियादी÷वादी बदनाम हुनुपर्ने परिणाम स्थापित छ,” लार्काेम्बले लेखेकी छिन् । “यी पीडित नैतिक र यौनिक रूपले सम्मानित मात्रै नभएर सावधान, अडिग र सुसंगत पनि छन् । बलात्कारको गवाहीलाई खारेज÷बदनाम गर्ने प्रतिवादी रणनीतिमा वादीले पीडितको मानक अनुसार यौनिक र व्यावहारिक मापदण्ड पूरा नगरेको कथित असफलतालाई एक्सपोज गर्ने पनि पर्दछ।”

घटनालाई फेरि सिर्जना गर्न प्रयास गर्ने वा आफ्नो संसार लथालिङ्ग भएकी व्याकुल महिला देखाउने वा रगत अथवा केहि अशुभ दर्शाउने रातो र कालो रंग प्रयोग गर्ने तस्बिरले “रिकभरी” को प्रक्रियामा ढिलाइ गर्नसक्छ।

“यस्तो चित्रण देख्दा बलात्कार ‘सर्भाइभर’ लाई कस्तो अनुभव हुन्छ होला कल्पना गर्नुहोस् त,” नोभाले भनिन्,“तपाईंले फेरि सन्त्रास सिर्जना गर्दै हुनुहुन्छ।”

त्यसैले ब्रेकथ्रु टिमले बलात्कारका ‘सर्भाइभर” को सहयोग संचरना दर्शाउने चित्र बनाउन सुझाव दिएका छन् । त्यसमा परिवार, स्वास्थ्यकर्मी र प्रहरी, न्याय प्रणाली वा सहयोग समूह हुनसक्छन् । नभए घटनाभन्दा परको पीडितको जीवनमा केन्द्रित हुने चित्र पनि बनाउन सकिन्छ।
 
ग्राफिक डिजाइनर भानुप्रतापले सहानुभूति, न्याय र एजेन्सीको अवधारणालाई चित्र बनाउने प्रक्रियामा लागु गर्नुपर्ने आवश्यकताबारे कार्यशालाबाट थाहा पाएको बताए । चित्रलाई उपयुक्त “कि–वर्ड” ले ट्याग गर्नुपर्ने उनको दोश्रो सिकाइ रह्यो।

“तस्बिर प्रयोग हुनसक्ने सन्दर्भलाई अनिश्चितकालसम्म नियन्त्रण गर्न सकिदैंन भन्ने हुँदैन । तस्बिरलाई उपयुक्त रूपमा ट्याग गर्न सकिन्छ । कुन सन्दर्भमा त्यस्ता तस्बिर सिर्जना गरिएको खुलाउन सकिन्छ,” उनले भने।

अगाडिको बाटो

बलात्कृत विद्यार्थीका लागि न्याय माग्न जनवरी २०१३ मा दिल्लीको सडकमा ओर्लिएका प्रदर्शनकारीको फाइल तस्बिर लैङ्गिक हिंसासम्बन्धी समाचार र स्तम्भमा यदाकदा अझै प्रयोग गरिन्छ । तर निश्चित सन्दर्भका लागि तस्बिर र चित्रण गर्ने संवेदनशील र ‘टु दि प्वोइन्ट’ तरिका पनि छन्।

घटनास्थलमा उपस्थित दर्शकको भूमिका देखाउने, ‘रिकभरी’ प्रक्रिया दर्शाउनलाई सहयोग समूहमा केन्द्रित हुने र सामान्यीकरण गरिएका तर गर्न नहुने व्यवहार झल्काउने तस्बिरको बैङ्क बनाउने –कार्यशालाबाट निस्किएका केहि रोचक ‘आइडिया’ हुन्।

लैङ्गिक हिंसासम्बन्धी तस्बिर कस्तो हुनुपर्छ ? – वृहत ‘गाइडलाइन’ तयार गर्न कार्यशाला तयार गरिएको हो । पीडितलाई असहाय बनाउने, आक्रमण फेरि सिर्जना गर्ने, पीडितको लाचारी वा बलात्कारसँग प्रायः जोडिएर आउने लाज र लान्छनालाई निरन्तरता दिनेजस्ता पासोबाट डिजाइनर, कलाकार र लेखकलाई टाढै रहन सहयोग पुगोस् भनेर कार्यशाला आयोजना गरिएको हो।

दुई सातापछि फेरि कलाकार र डिजाइनरसँग ब्रेकथ्रुको भेट हुनेछ । उनीहरूले क्रिएटिभ कमन्स लाइन्सेस अन्तर्गत र सञ्चारगृहसँग गरेको काम शेयर गर्नेछन्।


 

 Published Date: Tuesday, 16th June 07:14:24 AM