मंगलबार, जेठ २०, २०७७

कोरोना भाइरसको खोप विकास भएन भने के हुन्छ?

| तस्वीर:फाइल

संसारमा बन्दाबन्दी छ। अर्बौं मानिसको जीविका गुमेको छ। यही बखत कोरोना भाइरस महाव्याधिको समाधान  खोपको खोजी पनि जारी छ।

तर यहाँ अर्को दु:खद सम्भावना पनि छ   खोप बनेन भने? 

कोभिड १९ पूर्ण रूपमा उन्मूलन गर्नुभन्दा समाजले योसँगै बाँच्न सिक्नसक्छ। विज्ञहरूको सल्लाह र सुझाव पालन गरे थोरै भए पनि खुकुलो हुनेछ। विस्तारै शहरहरू खुल्नेछन् र स्वतन्त्रता फेरि फिर्ता हुनेछ। अल्पकालका लागि परीक्षण र “फिजिकल ट्रेसिङ” जीवनको अंग बन्नेछ। कतिपय देशमा कुनै पनि समय “सेल्फ आइसोलेसन” को निर्देशन जारी हुनसक्छ। उपचार विकास हुनसक्छ तर हरेक वर्ष रोग फर्किनसक्छ। विश्वभरि ज्यान गुमाउनेको संख्या बढी रहनसक्छ।

यसबारे राजनेताले विरलै बोलेका छन्। खोप पत्ता लगाउने मानवीय परीक्षण सुरू भइसकेको भन्दै सकारात्मक कुरा गरिरहेका छन्। तर यो सम्भावनालाई धेरै विशेषज्ञले गम्भीर रूपमा लिएका छन्  किनभने पहिले पनि यस्तो भइसकेको छ। थुप्रै पटक।

“खोप नबनेका धेरै भाइरस अझै छन्,” इम्पिरियल कलेज लन्डनको सार्वजनिक स्वास्थ्यका प्राध्यापक डा. डेभिड नबार्रोले भने।  कोभिड १९ सम्बन्धी विश्व स्वास्थ्य संगठनको उनी विशेष दूत पनि हुन्। “खोप पत्ता लाग्नेछ भन्ने ठोकुवा गर्न सक्दैनौं। वा पत्ता लागे पनि प्रभावकारिता र सुरक्षाका सबै परीक्षण पार गर्ने पनि निश्चित छैन।”

एचआइभी र मलेरिया (औलो) मा जस्तो कोरोनाभाइरस तिव्र “म्युटेट” नहुने भएकाले होला अधिकांश विशेषज्ञहरू कोभिड १९ को खोप विकास हुनेमा विश्वस्त छन्।
नेसनल इन्स्टिट्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजेटका निर्देशक डा. एन्थोनी फौची लगायत धेरैले एक वर्षदेखि १८ महिनाभित्र खोप बन्नसक्ने बताउँछन्।

बेलायतका चिफ मेडिकल अफिसर क्रिस व्हिट्टीजस्ता अन्य भने एक वर्ष चाँडै हुने बताउँछन्। तर खोप बने पनि यो समयसीमाभित्र सार्वजनिक स्वास्थ्यको प्रयोजनका ल्याउनु आफैंमा अभूतपूर्व हुनेछ।

“हामीले एक वर्षदेखि १८ महिनाभित्र कुनै खोप बनाएका छैनौं,” डा. पीटर होटेजले भने। उनी ह्युस्टनस्थित बेलर कलेज अफ ह्युस्टनको नेसनल स्कूल अफ ट्रपिकल मेडिसिनका डिन हुन्। “यसको अर्थ यो असम्भव छ भन्ने होइन तर आफैँमा ठूलो उपलब्धि हुनेछ।हामीलाई प्लान ए र प्लान बी चाहिएको छ,” उनले भने।

खोपले काम नगर्दा सन् १९८४ मा अमेरिकाको सेक्रेटरी अफ हेल्थ एन्ड ह्युमन सर्भिसेस मार्गरेट हेकलरले वाशिङ्टन डिसिमा भएको प्रेस सम्मेलनमा वैज्ञानिकहरूले एचआइभी भनेर पछि चिनिएको भाइरस पत्ता लगाएको र दुई वर्षको अवधिमा रोकथाम गर्ने खोपको परीक्षण पनि हुने बताएकी थिइन्।

झण्डै चार दशक बितिसक्यो। करिब तीन करोड २० लाखले ज्यान गुमाइसके। एचआइभी खोपको प्रतिक्षा अझै जारी छ। हेकलरको दाबीपछि “ब्रेकथ्रुप” को साटो समलिङ्गी पुरूषको एउटा पुस्ता नै गुम्यो। उनीहरूले लाञ्छना र विभेदको पीडादायी अनुभव गर्नुपर्‍यो। धेरै वर्षसम्म संक्रमित हुनु भनेकै मृत्युदण्ड बराबर थियो। जीवनको अन्तिम समय समुदायबाट बेवास्तामा बिताउनु निश्चित थियो। डाक्टरहरू एचआइभी संक्रमितलाई बचाउनुको अर्थबारे मेडिकल जर्नलमा बहस गरिरहे।

खोजी सन् १९८० को दशकमा सकिएन। सन् १९९७ मा राष्ट्रपति बिल क्लिन्टनले अमेरिकालाई एक दशकभित्र खोप बनाउने चुनौती दिए। चौध वर्षअघि वैज्ञानिकहरूले अझै १० वर्ष लाग्ने बताएका थिए। खोप पत्ता लगाउने कठिनाइ एचआइभी/एड्सको प्रकृतिबाटै सुरू भएको थियो। “इन्फ्लुएन्जा अर्को वर्ष पुग्दा परिवर्नत हुन्छ। त्यसैले प्राकृतिक संक्रमणबाट वा अघिल्लो वर्ष लगाएको खोपले सो वर्ष सुरक्षित भइन्छ। एचआइभीले यस्तो एकै सङ्क्रमणमा गर्छ,” पल ओफ्फिटले भने। उनी बालरोग र संक्रामक रोगका विशेषज्ञ हुन् जसले रोटाभाइरस खोप सह आविष्कार गरेका थिए।

“यो शरीरमा म्युटेट भइरहन्छ। त्यसैले संक्रमितको शरीरमा हजारौं विभिन्न एचआइभीले आक्रमण गरिरहेजस्तो हुन्छ। यसले रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर बनाइरहेको हुन्छ।” एचआइभीले विशिष्ट कठिनाइ छन्। कोभिड १९ त्यस्तो छैन। त्यसैले विशेषज्ञहरू खोप पत्ता लगाउनेबारे सकारात्मक देखिएका हुन्।

वैज्ञानिक र मानव शरीरलाई अलमलाउने अरू रोग पनि छन्। विश्व स्वास्थ्य संगठनले जनाए अनुसार डेङ्गीबाट हरेक वर्ष चार लाख संक्रमित हुन्छन्। यसले डाक्टरलाई दशकौंदेखि झुक्याइरहेको छ। सन् २०१७ मा गरिएको ठूलो प्रयास रोगको लक्षण गम्भीर बनाउने देखिएपछि स्थगित गरिएको थियो।

त्यसैगरी राइनो भाइरस र एडिनो भाइरसको खोप बनाउन पनि कठिनाइ भइरहेको छ। यी भाइरसले पनि कोरोना भाइरसजस्तै रूघा लाग्छ। एडिनो भाइरसको दुई “स्ट्रेन” रोकथाम गर्ने एउटा मात्रै खोप छ जुन व्यावसायिक रूपमा उपलब्ध छैन।

“धेरै आशा गरिन्छ अनि भत्किन्छ,” खोप विकास गर्ने ढिलो र पीडादाय प्रक्रिया उद्धृत गर्दै नबार्रोले भने, “हामी जैविक प्रणालीको सामना गरिरहेका छौं। यान्त्रिक प्रणाली होइन। शरीरले कसरी प्रतिक्रिया जनाउँछ, धेरै यसैमा भर पर्छ।”

बेलायतमा अक्सफोर्ड विश्वविद्यालयले चिम्पान्जीको भाइरसबाट बनाएको र अमेरिकामा पनि मोडेर्नाले उत्पादन गरेको अर्को खोपको परीक्षण भइरहेको छ। तर यो परीक्षण प्रक्रिया हो   विकासको होइन। यसमा ढिलाइ हुनसक्छ। असफलता पनि पाइन्छ। सार्सको खोपका लागि पनि काम गरेका होटेजले भने,“खोपले काम गर्छ र सुरक्षित छ भनेर पुष्टि गर्न सक्छु भनेर देखाउनु गाह्रो काम हो।”

प्लान बी

कोभिड १९ खोपको विकास पनि यस्तै परिस्थिति भए भाइरस धेरै वर्षसम्म हामीसँगै रहनेछ। तर एचआइभी/एड्सको उपचार विधीले पराजित गर्न नसकिने रोगसँग लड्ने बाटो देखाएको छ।

“एन्टिभाइरलले एचआइभीलाई दीर्घरोग बनाएको छ। क्यान्सरमा जे गर्न चाहन्थ्यौं, सफल भएका छौं,” ओफ्फिट भन्छन्,“सन् १९८० को दशकमा जस्तो यो मृत्युदण्ड होइन।”

दैनिक सेवन गर्नुपर्ने प्रि एक्सपोजर प्रोफाइल्याक्सिस वा प्रेप भनिने औषधिले एचआइभी सङ्क्रमणको जोखिममा रहेका लाखौंलाई सुरक्षा दिएको छ।

कोभिड १९ का लागि यस्ता थुप्रै उपचारको परीक्षण भइरहेको छ। खोपको परीक्षणसँगै वैज्ञानिकहरू प्लान बी पनि खोजिरहेका छन्। तर सबै परीक्षण प्रारम्भिक चरणमै छन्। एकातिर इबोलाको उपचारमा प्रयोग हुने रेम्डेसिभिरको पनि अनुसन्धान भइरहेको छ, अर्कोतिर “ब्लड प्लाज्मा” उपचारको विधि पनि अध्ययन भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “गेमचेञ्जर” बताएको हाइड्रोक्सीक्लोरोक्विनले गम्भीर बिमार भए काम नगर्ने देखिएको छ।

“छनोट गरिएका औषधि उत्कृष्ट छ्,” किथ निलले भने। उनी नटिङहम विश्वविद्यालयको एपिडेमियोलोजी अफ इन्फेक्सियस डिजिजेजका एमरिटस प्रोफेसर हुन्। खण्ड खण्डमा गरिने परीक्षण पद्धति नै समस्या भएको उनी बताउँछन्।

“हामीले र्‍याम्डमाइज्ड कन्ट्रोल्ड ट्रायल गर्नुपर्छ। हालै मात्र हामीले यसलाई व्यवस्थित गर्न सकेका छौं,” मेडिकल जर्नलमा राख्नलाई त्यस्ता परीक्षण समीक्षा गर्ने नीलले भने,“मैले हेर्ने अध्ययनका कार्यपत्रहरू उपयुक्त ढङ्गले नगरेकोमा रद्द गर्दैछु।”

अब पूर्ण परीक्षण सुरू भएको र तीमध्ये कुनै प्रभावकारी भए केही साताभित्रै सङ्केत पाइने नीलले बताए। पहिलो नतिजा आइसकेको पनि हुनसक्छ। अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले बिरामीका लागि रेम्डेसिभिर उपलब्ध गराउनेबारे वार्ता भइरहेको जनाएको छ। कोरोनाभाइरसको संक्रमण निको हुने अवधि रेम्डेसिभिरले बढाउने देखिएको छ।

कुनै औषधिले सघन उपचार कक्षमा बिरामीले बिताउने औसत अवधि केही दिनले मात्रै घटाए पनि अस्पतालको क्षमता बढ्नेछ। सरकार पनि समाजलाई खुकुलो बनाउन इच्छुक देखिनेछ। सफल उपचारको प्रभाव व्यापक हुनेछ। तर रेम्डेसिभिरको अन्तर्राष्ट्रिय वितरण धेरै छैन। यसको उत्पादन बढाए समस्या आउन सक्छ।

महत्त्वपूर्ण कुरा जुनसुकै उपचारले समाजमा संक्रमण उत्पन्न हुनबाट रोक्न सक्दैन। अर्थात् कोरोना भाइरस व्यवस्थापन सजिलो हुनेछ र महाव्याधि पनि घट्नेछ तर रोग भने हामीसँगै वर्षौंसम्म रहनेछ।

खोप बिनाको जीवन कस्तो हुन्छ

खोप बनाउन नसके, जीवन अहिलेजस्तो हुने छैन। सामान्यतर्फ बढ्न पनि समय लाग्नेछ।

“बन्दाबन्दी आर्थिक र सायद राजनीतिक रूपले पनि दिगो छैन,” नीलले भने,“त्यसैले यसलाई नियन्त्रण गर्न हामीलाई अरू कुराको आवश्यकता छ।”

देशहरू पक्षघातबाट बामे सर्दै गर्दा विशेषज्ञहरूले सरकारले नयाँ तर अनौठो जीवनशैली कार्यान्वयन गर्न दबाव दिनेछन्। कोभिड १९ लाई कुनै खोपले उन्मूलन नगरेसम्म महिना, वर्ष वा दशकौंसम्म समय लिनलाई अन्तर्क्रियाका अन्य उपाय सुझाउने छन्।

“कोभिड तयार रहनु अत्यावश्यक छ,” नबार्रोले भने। उनी नयाँ सामाजिक सम्झौताको प्रस्ताव गर्छन्। त्यस्तो सम्झौता जहाँ रोगको लक्षण देखिए वा सम्भावित संक्रमितको सम्पर्कमा आए स्वयंलाई आइसोलेट गर्ने व्यक्तिगत जिम्मेवारी नागरिकले लिनेछन्।

अर्थात् खोकी लागे वा रूघाखोकीको सामान्य लक्षण देखिए बेवास्ता गर्ने र काममा फर्किने सँस्कृति अन्त्य गर्नुपर्छ। विशेषज्ञहरूले कार्यालय नगइ काम गर्ने शैलीप्रति सोंचमा स्थायी परिवर्तन आउने पूर्वानुमान गर्छन्। कम्तिमा केही दिन भए पनि घरैबाट काम गर्ने नयाँ जीवनशैली बन्नसक्छ। कम्पनीहरूले कार्यालय कहिले नभरिने गरि कर्मचारीको उपस्थिती र कामको व्यवस्थापन गर्नेछन्।

“व्यक्तिगत जिम्मेवारी लिनुपर्छ। आइसोलेसनमा बसेकालाई हिरोको रूपमा हेर्नुपर्छ। भाइरसको जोखिममा जीवन रक्षा र स्वास्थ्यका लागि यो सामुहिक गठबन्धन हुनुपर्छ,” नबार्रोले भने।

“गरिब देशका लागि कठिनाइ हुनेछ,” उनी भन्छन्। त्यसैले विकासोन्मुख देशलाई सहयोग गर्ने तरिका पत्ता लगाउनु राजनीतिक रूपमा जटिल तर निकै महत्त्वपूर्ण हुनेछ। शरणार्थी र आप्रवासीको बसोबास धेरै भएको क्षेत्र चिन्ताजनक हुनसक्छन्।

अल्पकालका लागि कोभिड १९ सँगै जीवन चलाउनलाई परीक्षण र कन्ट्याक्ट ट्रेसिङको विशाल र व्यापक कार्यक्रम लागु गर्नुपर्ने नबार्रोले बताए। कुनै महामारी विरूद्ध यस्तो कार्यक्रम पहिले कहिले लागु गरिएको थिएन। अमेरिका र संयुक्त अधिराज्यमा तयारी सुरू भइसकेको छ।

“कार्यस्थलमा कन्ट्याक्ट ट्रेसिङ, निदान, लक्षणको निगरानीको अनुगमन, सामाजिक दुरी फेरि लागु गर्नुपर्नेबारे पूर्व सञ्चार लगायतको व्यवस्थाप भएको सार्वजनिक स्वास्थ्य प्रणाली असाध्यै महत्त्वपूर्ण छ,” होटेजले भने,“यस्तो गर्न सकिन्छ तर जटिल छ र पहिले गरेका छैनौं।”

यस्ता प्रणालीले केही सामाजिक अन्तर्क्रिया खुल्नसक्छ। 

“न्युन सङ्क्रमण भए खेलकुदका गतिविधी र अन्य ठूला भेला खुल्ने सम्भावना हुनसक्ने होटेजले बताए। तर यो स्थायी हुनेछैन। सरकार र सार्वजनिक स्वास्थ्य निकायले निरन्तर मूल्याङ्कन गरिरहनेछ। खेलाडीको निरन्तर परीक्षण भए प्रिमियर लिग, एनएफएल र अन्य ठूला कार्यक्रम तालिका अनुसार सञ्चालन हुनसक्छ। तर जोखिम बढेसँगै रंगशालाहरू फेरि बन्द हुनेछन्।

“बार र पब सूचीको अन्त्यमा छन्। त्यहाँ अत्यधिक भीड हुन्छ,” नीलले भने,“सामाजिक दूरी कायम गरे रेस्टुरेन्टका रूपमा खुल्न सक्छन्।”

केही युरोपेली देशले रेस्टुरेन्टलाई निकै कम क्षमतामा खोल्न दिने सङ्केत दिएका छन्। जाडोमा प्रतिबन्ध फेरि आउनसक्छ। खोप नआएसम्म कोभिड १९ हरेक जाडोमा बढ्ने होटेजले सङ्केत दिएका छन्।

त्यसो भए खुल्ने तयारीमा रहेका कतिपय बन्दाबन्दी फेरि जुनसुकै समयमा लागु हुनसक्छ। “समयसमयमा महामारी हुनेछ। हिँडडुल निषेध हुनेछ। यस्तो देशको कुनै भाग वा पुरै दशेमा पनि लागु हुनसक्छ,” नबार्रोले भने।

समय बित्दै जाँदा, “हर्ड कम्युनिटी” को बहस पनि बढ्दै जानेछ। कुनै संक्रमणप्रति निश्चित जनसंख्याको ७० देखि ९० प्रतिशत “इम्युन” वा उनीहरूको प्रतिरोधी क्षमता बढ्नुलाई हर्ड कम्युनिटी भनिन्छ। “यसले केही मात्रामा भए पनि रोग फैलिन दिदैन,” ओफ्फिटले भने,“तर खोप नै सर्वोत्तम समाधान हो।”

दादुरा यसको राम्रो उदाहरण भएको ओफ्फिट बताउँछन्। खोप उपलब्ध नभएसम्म प्रत्येक वर्ष २० देखि ३० लाखलाई दादुराको संक्रमण हुन्थ्यो। अर्को शब्दमा, जनसंख्याको ठूलो भाग जोखिममा नभए पनि कोभिड १९ बाट हुने मृत्यु र पीडा विशाल हुनेछ।

“खोप बन्छ। लगानी प्रशस्त छ, इच्छा पनि पर्याप्त छ र लक्ष्य पनि प्रष्ट छ,” ओफ्फिटले भने।

तर अघिल्ला महामारीले खोपको खोजी अप्रत्याशित भएको पुष्टि गरेको छ। “कुनै खोप पनि चाँडो विकास भएजस्तो मलाई लाग्दैन। १८ महिनामै केही बने मलाई अचम्म लाग्नेछ,” उनले भने। 
 

 Published Date: Friday, 8th May 06:34:11 AM