शुक्रबार, फागुन १६, २०७६

व्यायामले मस्तिष्कको कार्यसम्पादनमा भिन्न प्रभाव पार्ने 

| तस्वीर:फाइल

अनुसन्धाताले पहिलो पटक न्यून र उच्च प्रबलताका व्यायामले मस्तिष्कको कार्यसम्पादनमा भिन्न प्रभाव पार्ने पत्ता लगाएका छन्।

नतिजाले मानसिक रोग वा मस्तिष्कको चोटबाट स्वास्थ्यलाभ गर्दै गरेका बिरामीलाई शारीरिक गतिविधिको प्रभावकारी क्लिनिकल प्रयोगको बाटो देखाउनेछ।

ब्रेन प्लास्टिसिटी नामक जर्नलमा प्रकाशित अध्ययनले “रेस्टिङ स्टेट फङ्कसनल म्याग्नेटिक रेजनेन्स इमेजिङ” अर्थात् (आरएस एफएमआरआइ) प्रयोग गरेर विचार नियन्त्रण र एकाग्रताको प्रशोधन गर्ने मस्तिष्कको स्नायु सञ्जाललाई न्यून प्रबलताको व्यायामले कसरी प्रभावित गर्दछ भन्ने देखाएका छन्।

अर्कोतिर उच्च प्रबलताको व्यायामले भावनाको प्रशोधन गर्ने सञ्जाललाई सक्रिय बनाउँछ। “फङ्कसनल न्यूरोइमेजिङले शरीर र मष्तिष्कको अन्तर्क्रिया पत्ता लगाउन ठूलो योगदान पुग्ने हाम्रो विश्वास छ,” जर्मनीस्थित बोन विश्वविद्यालयकी एञ्जेलिका स्मिटले भनिन्, “यो विधिले खेलाडीहरूको एउटा समूहको मस्तिष्कमा प्रत्यक्ष हेर्न सहयोग पुगेको छ। अझ महत्वपूर्ण त के छ भने, निष्क्रिय जीवनशैलीबाट स्वस्थ जीवनशैली अपनाउँदा मस्तिष्कको संरचनामा हुने परिवर्तन र कार्यसम्पादन बुझ्न पनि मद्दत पुगेको छ।”

अध्ययनमा २५ जना पुरूष खेलाडी सहभागी थिए। उनीहरूले एक दिन बिराएर ३० मिनेटका लागि न्यून र उच्च प्रबलताका व्यायाम गरेको अनुसन्धाताले बताए। आरएस एफएमआरआई प्रयोग गरेर वैज्ञानिकहरूले सहभागी व्यायाम गर्नु अघि र पछि मस्तिष्कको विभिन्न क्षेत्रबीच हुने सम्पर्क परीक्षण गरे।

व्यायाम गर्नु अघि र पछि मुडमा आउने सकारात्मक र नकारात्मक परिवर्तन मापन गर्ने सहभागीले प्रश्नावलीको उत्तर पनि दिएका थिए। अध्ययन अनुसार न्यून प्रबलताको व्यायामले विचार र एकाग्रता प्रशोधन गर्ने मष्तिष्कको सम्पर्क सञ्जाल बढाएको छ। उच्च प्रबलताका व्यायामले भावनात्मक प्रक्रियासम्बन्धी सञ्जाल बढाएको वैज्ञानिकले बताए। यसले शारीरिक चालसँग जोडिउका क्षेत्रमा सम्पर्क घटाएको पनि देखिएको छ।

निश्चित व्यवहार भएका व्यक्तिलाई कुन प्रकारको व्यायाम उपयुक्त हुन्छ त्यसबारे थप अन्वेषण गर्न पनि अनुसन्धानले सहयो गर्ने अनुसन्धाताको विश्वास छ।

 Published Date: Tuesday, 11th February 06:31:20 AM