शनिबार, चैत्र २२, २०७६

कोरोनाको पहिलो पीडित विश्व नेतृत्व

चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण अहिले सिमारहित भएको छ। अन्टार्काटिका महादेशबाहेक सबै क्षेत्रमा यसको प्रभाव देखिएको छ। आम मानिसको दैनिकी, विश्व अर्थतन्त्रको स्थितिदेखि विश्व राजनीति सबैतिर कोरोनाको असर देखापरेको छ।

कोभिड–१९ ले विश्‍व राजनीति ७५ वर्ष यताकै अध्यारो स्थितिमा प्रवेश गरेको टिप्पणी हुन थालेको छ। विश्व राजनीतिका आइकन मानिने बेइजिङदेखि ब्रसेल्स र लण्डनदेखि वासिङ्टनका नेतृत्वमा कोरोनाले संकट निम्त्याएको छ। सबै मिलेर संकटलाई शक्तिमा बदल्नुका साटो उनीहरु टिठलाग्दो आरोप प्रत्यारोपमा उत्रिएका छन्।

भाइरसको जननी चीनको वुहान थियो। चिनियाँ नेतृत्वले आफ्नो असक्षमता बाहिर नदेखियोस् भन्ने ध्येयले संक्रमणपछि उत्पन्न परिस्थितिको सूचना निकैबेर लुकाए। वुहानको संक्रमण विश्वभर फैलिएजस्तै आफ्नो असक्षमता ढाकछोप गर्न खोज्ने चिनियाँ रणनीति पनि विश्वभर फैलियो।

निरन्तर हास्यास्पद अभिव्यक्ति दिँदै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त कोरोना भाइरसबाट अमेरिका असुरक्षित छ भन्ने हल्ला प्रजातान्त्रिक (डेमोक्रेटिक पार्टी) धारका समूहले फैलाएको हल्ला मात्र हो भन्न समेत भ्याए। जादुको चुट्की जस्तै कोरोना हराउने ट्रम्पको दाबी थियो। कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिको जिम्मेवारी आफूले मात्र लिन नसक्ने भाषणसमेत गरे। आफ्नो कमजोरी लुकाउन अरुमाथि दोषारोपण गर्ने ट्रम्पको ट्रेडमार्क नै हो। ‘मै मात्रै सबै जिम्मेवारी लिन सक्दिनँ’ ह्वाइटहाउसबाट कडा हाउभाउमा दिएको यो कमजोर अभिव्यक्ति अमेरिकी राजनीतिक वृत्तमा स्मरणीय हुनेछ।

अमेरिकी प्रशासन यतिबेला कोरोना संक्रमणका लागि अमेरिका आफैँ सक्षम छ भन्ने देखाउन चाहन्छ। ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त जर्मन टेष्ट किट खरिद नगर्ने निर्णय गर्‍यो। अमेरिकाले उत्पादन गरेको किटलाई विश्व स्वास्थ्य संगठनले अझै मान्यता दिएको छैन। ट्रम्प प्रशासनको निर्णयले अमेरिकामा कोरोना परीक्षण गर्न ढिलाइ भयो।

दक्षिण कोरियाले प्रतिदिन गर्ने परीक्षण संख्या अमेरिकामा प्रतिहप्तामा हुने भन्दा बढी छ। यति हुँदा पनि ट्रम्प भनिरहेका छन्- अमेरिकामा कोरोना परीक्षण सहज र तीव्र रुपमा भइरहेको छ। कोरोनाबारे हास्यास्पद अभिव्यक्ति दिनेमा ट्रम्पमात्र एक्ला होइनन्। बेलायती नेतृत्वमा पनि यस्तै समस्या छ।

बेलायती नेतृत्व प्रधानमन्त्री नभई प्रेत जस्तो

बेलायती प्रधानमन्त्री बोरिस जोनसोन आफूलाई विस्टन चर्चिलसँग तुलना गर्न रुचाउँछन्। चर्चिल ‘म्यान अफ वर्ड एण्ड याक्शन’  का रुपमा चर्चित छन्।

बेलायतमा कोरोना संक्रमणपछिको परिस्थितिमा जोनसोनको भूमिका प्रधानमन्त्री कम र प्रेत ज्याँदा देखिएको छ। उनले आफ्ना नागरिकलाई सान्त्वना दिनुको सट्टा तर्साउने काम गरेका छन्। गत हप्ता टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री जोनशोनले भने,‘समय अगावै तपाईंहरुले प्रिय मानिसहरु गुमाउनुहुनेछ।’

यसले प्रष्ट पारेको छ जोनशोसनसँग कोरोना संक्रमणपछि प्रभाव रोक्न केही योजना छैन। ‘कोभिड– १९ नियन्त्रण गर्न बेलायत पूर्ण असक्षम छ’ सन्डे टाइम्सले दाबी गरेको छ। बेलायतमा २६ सय २६ मानिस कोरोना भाइरसबाट संक्रमित भएको  पुष्टि भएको र यसको संख्या ५० हजारसम्म पुग्न सक्ने बीबीसीले उल्लेख गरेको छ। बेलायतमा १ सय ४ जना मानिसको मृत्यु भएको छ।

मर्केले अर्थतन्त्र समान्य बनाउन केन्द्रित

सन् २००८ को वित्तीय संकटदेखि सन् २०१५ मा शरणार्थीका कारण उत्पन्न परिस्थितिलाई एञ्जेला मर्केलको नेतृत्वले कुशल अवतरण गरेको थियो।

जर्मनमा सफल विरासत कायम गरेकी मर्केललाई समेत कोरोनाले अप्ठ्यारोमा पारेको छ। मर्केलले पर्दा पछाडिबाट आफूले संकट नियालिरहेको अभिव्यक्ति दिएकी छिन्। ‘म परिस्थिति अनुसार निर्णय लिन्छु, अहिले नै अत्तालिनुपर्ने स्थिति छैन,’ उनले भनेकी छिन्।

मर्केल कोरोनाको संकटभन्दा शरणार्थी समस्या अझै बढी केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। जर्मनको वित्तीय क्षेत्रमा गत साता देखिएको उतारचढाव पछि मात्रै मर्केलले कोरोनाको प्रभावलाई गम्भीर रुपमा लिएकी छिन्। जर्मन कम्पनीहरुमा संकट उत्पनन् हुन थालेपछि सरकारले बकुजा नामक प्याकेज अघि सारेको छ। यो योजनाले संकटमा रहेका कम्पनीहरुलाई ऋण दिनेछ। यसका लागि ४ सय ६० अर्ब युरो खर्च हुनेछ।

आम मानिसको जनजीवन समान्य बनाउनभन्दा बढी वित्तीय क्षेत्र सामान्य बनाउनतर्फ मर्केल नेतृत्व केन्द्रित रहेको भन्दै आलोचना भएको छ। जर्मनीमा ९ हजार ८ सय ७७ कोरोनाबाट संक्रमित रहेको पुष्टि भएको छ। सरकारले संक्रमण रोक्न प्रभावकारी कदम नचाले तीन महिनाभित्र १ करोड मानिसमा संक्रमण फैलने चेतावनी त्यहाँको सरुवा रोग नियन्त्रण केन्द्रले चेतावनी दिएको छ।

१६ राज्य रहेको जर्मनमा समन्वय नहुँदा कहीँ आमभेला भइरहेका छन् भने कतै बार सिनेमा हल खुल्लै छन्।
 

 Published Date: Friday, 20th March 06:31:36 AM