सोमबार, भदौ ३०, २०७६

सिङ्गल युज प्लास्टिकको प्रयोग निषेध गर्ने मोदीको प्रतिबद्धता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दिल्लीमा भएको स्वतन्त्रता दिवसको भाषणमा “सिङ्गल युज प्लास्टिक” प्रतिबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

देशबाट प्लास्टिकजन्य फोहोर हटाउने प्रयासमा आम भारतीय नागरिकलाई सहभागी हुन मोदीले आव्हान गरेका छन्। अक्टोबर २ देखि सिङ्गल युज प्लास्टिकलाई विदा गर्ने पहिलो बलियो पाइलाको सम्भावनाबारे कुरा उठाएका छन्।

देशले उपभोग गर्ने करिब ७० प्रतिशत प्लास्टिक त्यसै फ्याकिन्छ। वातावरण मन्त्रालयको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार अधिकांश शहरमा फोहोर प्रशोधन पनि हुँदैन।

फलस्वरूप विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रका प्रमुख शहरमा फोहोरका ठूला पहाड उत्पादन हुन्छ। प्लास्टिकका विशाल परिमाण गंगा नदीमा पुग्छ। सन् २०१७ को एउटा अध्ययन अनुसार चीनको याङ्जेपछि विश्वका समुद्रमा धेरै प्लास्टिक थुपार्ने गंगा दोश्रो नदी हो।

बढ्दो समस्या समाधान गर्न उनले जनताको सहयोग आवश्यक पर्ने अपिल गरेका छन्।

“घर वा सडकमा सिङ्गल युज प्लास्टिकक देख्नुभयो भने, तपाईंको गाउँ र शहरमा भएका नगर अधिकारीलाई सफा गर्न सहयोग गर्नुहोस्,” उनले भने।
“भारतलाई सिङ्गल युज प्लास्टिकमुक्त बनाऔं, हुन्न?”

यसमा व्यापारीले पनि सहयोग गर्नुपर्ने मोदीको आव्हान थियो।

“म स्टार्ट अप संस्थापक, प्राविधिक र उद्योगपतिलाई प्लास्टिक रिसाइकल गर्ने उपाय पत्ता लगाउन आग्रह गर्दछु,” उनले भने।
“सिङ्गल युज प्लास्टिक नै हाम्रा धेरै समस्याको प्रमुख कारण हो तर समाधान हामीभित्रबाट आउनुपर्छ।”

एक पटक मात्रै प्रयोग हुने प्लास्टिक निषेध विशाल मुद्दाको सामना गर्ने महत्त्वपूर्ण पाइला हुनसक्छ।

नयाँ दिल्लीपूर्व गाजीपुर भन्ने ठाउँको कुख्यात फोहोरको पहाड अब केहि महिनामै ताज महलभन्दा अग्लो हुने बताइएको छ। अहिले त्यसको उचाइँ ७३ मिटर छ।

प्लास्टिकजन्य फोहोरको मुद्दा व्यवस्थापन गर्ने मोदीको यो पहिलो वाचा भने होइन्। सन् २०१८ को जूनमा उनले प्लास्टिकजन्य प्रदुषण नियन्त्रणका लागि आव्हान गर्दै सन् २०२२ सम्म भारतले “सिङ्गल युज प्लास्टिक”को प्रयोग उन्मूलन गर्ने बताएका थिए।
 

 Published Date: Friday, 16th August 07:54:45 AM