मंगलबार, भदौ ३, २०७६

एक चौथाइ विश्व पानीको संकटमा

चेन्नाईमा पानीको लाईनमो स्थानीयहरु

पृथ्वीको एक चौथाइ जनसंख्या पानीको बढ्दो संकटमा छन्। भारत, इरान र अफ्रिकाको बोत्स्वाना लगायत विश्वभरिका १७ ओटा देशमा हाल पानी अत्यधिक अभाव छ। 

वर्ल्ड रिसोर्स इन्स्टिट्युटले मंगलबार प्रकाशन गरेको नयाँ डाटा अनुसार ती देशहरूले आफूसँग भएका करिब सबै पानी प्रयोग गरिरहेका छन्।

धेरै देश सुख्खा छन्। केहिले भएको पानी खेर फालिरहेका छन्। अन्य थुप्रै जमिनको पानीमा अत्यधिक निर्भर छन्। त्यसो गर्नुको साटो उनीहरूले सुख्खाको समयमा प्रयोग गर्नलाई बचाउने र संरक्षण गर्नुपर्छ।

ती देशहरूका थुप्रै ठूला शहर काकाकुल छन्। ब्राजिलको साउ पाउलो भारतको चेन्नई र केप टाउनले सन् २०१८ मा बडो मुश्किलले “डे जिरो” पन्छाए। सबै बाँधका पानी सुकेर जाने दिनलाई “डे जिरो” भनिन्छ।

“भविष्यमा यस्ता थुप्रै डे जिरो देख्न बाँकी नै छ,” वर्ल्ड रिसोर्स इन्स्टिट्युटमा विश्व पानी कार्यक्रमकी निर्देशक बेट्सी ओट्टोले बताइन्। “विश्वका धेरै स्थानमा चिन्ताजनक अवस्था छ।”
जलवायु परिवर्तनले जोखिम अझ बढाउँछ। अनियमित वर्षाले पानीको आपुर्ति विश्वसनीय हुँदैन। दिन तातो हुँदै जाँदा पानी वाफ बनेर उडेर जान्छ। उता पानीको माग बढेको बढ्यै हुन्छ।

पानीको अभाव भएका स्थानमा दुईओटा चरम जोखिमको सम्भावना हुन्छ। धाराहरू झण्डै सुकेपछि साउ पाउलो बाढीले डुबायो। चार वर्षअघि चेन्नई पनि बाढीले चुर्लुम्मै थियो। अहिले त्यहाँको पानीको मुहान झण्डै खालीजस्तै छ।

जमिनको पानी छिटो रित्तिदैं

मेक्सिकोको राजधानी मेक्सिको सिटीले जमिनको पानी यति छिटो तान्दैछ कि शहर नै डुब्दैछ। बंगलादेशको ढाका पनि स्थानीय र गार्मेन्ट उद्योगका लागि जमिनको पानीमै निर्भर छ। गार्मेन्ट उद्योगले अत्यधिक पानी खपत गर्दछ।

त्यहाँ सयौं फिट गहिरोबाट जमिनको पानी निकालिएको छ। तिर्खाएका चेन्नईवासी वर्षौंदेखि जमिनकै पानीमा निर्भर थिए। अब त्यहाँ पनि पानी आउन छोडेको छ। भारत र पाकिस्तानमा रूवा र चामलजस्ता अत्यधिक पानी चाहिने बाली लगाउन जमिनको पानी प्रयोग गरिरहेका छन्।

अभाव अझै बढ्ने

तीस लाखभन्दा धेरै जनसंख्या भएका ३३ ओटा शहरमा आज पानीको तिव्र संकट छ। ती सबै शहरको कुल जनसंख्या २५ करोड ५० लाखभन्दा धेरै छ। वर्ल्ड रिसर्च इन्स्टिट्युटका अनुसन्धाताका अनुसार यसले सार्वजनिक स्वास्थ्य प्रभावित हुनुका साथै सामाजिक अशान्ति बढाइरहेको छ।

सन् २०३० सम्म पानीको अत्यधिक संकट भएका शहरको संख्या ४५ पुग्ने अनुमान छ भने करिब ४७ करोड जनसंख्या प्रभावित हुनेछन्।

समस्या कसरी समाधान गर्ने?

पानीको संकट भएका स्थानमा ठूलो जोखिम छ। उपलब्ध सबै पानी प्रयोग गर्ने शहर वा देशमा सुख्खा वा अनावृष्टि भए विनाशकारी हुनेछ।

तीन वर्षको सुखापछि केप टाउनले सन् २०१८ मा असाधारण उपाय प्रयोग गर्न बाध्य भयो। बचेको पानी प्रयोगमा सीमा तोकियो। पानीको गम्भीर संकट अझ ठूलो र दीर्घकालीन चुनौती थप्यो। केप टाउनका ४० लाख स्थानीय र कृषक पानीको सीमित श्रोतका लागि तँछाड मछाड गरिरहेका छन्।

लस एन्जल्र्समा पनि उस्तै हालत छ। पछिल्लो सुख्खा यहि वर्ष सकियो। तर बढ्दो माग अनुसार पानी आपुर्ति भएको छैन। घरमा निजी स्वीमिङ पुल राख्ने मोहले पनि कुनै सहयोग पुग्दैन।
बैंग्लोरमा केही वर्ष खासै पानी परेन। पानी व्यवस्थापन कति खराब थियो भन्ने खुल्यो। शहरमा कुनै समय जताततै देखिने ताल र वरपरका क्षेत्र कि त पुनर्निर्माण गरिएका छन् कि फोहोरले पुरिएका छन्। अब त्यसमा वर्षाको पानी सङ्कलन हुने छैन। त्यहि भएर ८४ लाख स्थानीयवासीका लागि पानी पुर्याउन निकै टाढासम्म पुग्नुपर्छ। त्यो पानी पनि आउँदा आउँदै चुहिन्छ।

तर पानी व्यवस्थापनमा सुधार ल्याउन धेरै काम गर्न सकिन्छ।

पहिलो, पानी वितरण प्रणालीको चुहावट बन्द गर्नुपर्छ। फोहोर पानी प्रशोधन गर्न सकिन्छ। वर्षाको पानी सङ्कलन गरेर अप्ठ्यारो समयमा प्रयोग गर्न सकिन्छ। ताल र सिमसार क्षेत्रको सफाइ र पुराना इनार पुनर्निर्माण गर्न सकिन्छ। कृषकले पनि धेरै पानी चाहिने चामलभन्दा mष्ििभत जस्ता थोरै पानी खपत गर्ने बाली लगाउन सक्छन्।

“पानी स्थानीय समस्या हो र यसका लागि स्थानीय समाधान नै आवश्यक हुन्छ,” अशोका ट्रष्ट फर रिसर्च इन इकोलोजी एन्ड द इन्भाइरोन्मेन्ट, बैंग्लोरकी फेलो प्रियङ्का जम्वालले बताइन्।

न्यूयोर्क टाइम्सबाट नेपाली अनुवाद

 Published Date: Wednesday, 7th August 07:23:18 AM