शुक्रबार, असोज ९, २०७७

समुद्र अहिलेसम्मकै तातो

सन् २०१९ मा विश्वका समुद्र इतिहासकै तातो भएको वैज्ञानिकहरूले बताएका छन्। मानवसिर्जित उत्सर्जनले तातिएको समुद्रले पृथ्वीको जलवायुमा विध्वंसात्मक प्रभाव पार्ने उनीहरूले चेतावनी दिएका छन्।

हरित गृह ग्याँस उत्सर्जनले सिर्जना गरेको ९० प्रतिशत बढी ताप समुद्रले सोस्ने गर्छन्। पछिल्ला वर्षहरूमा समुद्र कति तातियो भनेर मुल्याङ्कन गर्दा वैज्ञानिकहरूले ग्लोबल वार्मिङको दर ठ्याक्कै पत्ता लगाउँछन्।

विश्वभरिका विज्ञहरूको टोलीले चीनको इन्स्टिट्युट अफ एटमोस्फेरिक फिजिक्स (आइएपी) ले संकलन गरेको तथ्याङ्क विश्लेषण गरी थुप्रै दशकदेखि दुई मिटरसम्म समुद्र कति तातियो भन्ने पत्ता लगाएका छन्।

पोहोर साल समुद्र अहिलेसम्मकै तातो भएको उनीहरूले पत्ता लगाए। फलस्वरूप कठोर मौसम, समुद्र सतहको वृद्धि र समुद्री जीवन क्षति भइरहेको छ। एड्भान्सेस इन एटमोस्फेरिक साइन्सेस जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा सन् १९८१- २०१० को ऐतिहासिक औसतभन्दा ०.०७५ डिग्री तातो भएको उल्लेख छ। विश्वभरिका समुद्रले पछिल्ला दशकहरूमा २२८ जेट्टा जुल उर्जा सोसेको छ।

“यो भनेको ठूलो अंक हो,” आइएपीको इन्टरनेसनल सेन्टर फर क्लाइमेट एन्ड इन्भाइरोन्मेन्टल साइन्सेसका सहायक प्राध्यापक तथा अध्ययन प्रतिवेदनका मुख्य लेखक चेङ लिजिङले भने,“गएको २५ वर्षमा हामीले विश्वका समुद्रमा हिरोशिमामा खसेको ३.६ अर्ब वटा एटम बम बराबर ताप प्रवेश गराएका छौं।”

अध्ययनले बितेका पाँच वर्ष समुद्र सबैभन्दा धेरै तातिएको अध्ययनले पत्ता लगाएको छ। “यो भनेको एक वर्षसम्म सय ओटा हेयरड्रायर वा सय ओठा माइक्रोवेभ निरन्तर चलाए बराबर हो,” पेन स्टेटको अर्थ सिस्टम साइन्सेस सेन्टरका निर्देशक माइकल म्यानले भने। 

सन् २०१५ गरिएको पेरिस सम्झौताले विश्वव्यापी तापक्रम वृद्धिलाई दुई डिग्री र सम्भव भए डेढ डिग्रीमा सीमित राख्ने लक्ष्य लिएको छ। प्राग औद्यीगिक समयदेखि मात्रै एक डिग्रीको तापक्रम वृद्धिले सुखा, बाढी र डढेलोजस्ता जलवायु परिवर्तनका प्रभाव देखिएका छन्।

अध्ययनका लेखकहरूले जलवायु परिवर्तम सम्बन्धी विपद् र समुद्र तातिनुबीच प्रष्ट सम्बन्ध भएको बताएका छन्। अष्ट्रेलियामा लागेको डढेलो त्यसकै उदाहरण हो। समुद्र तातिनु अझै धेरै वाष्पिकरण भएको म्यानले बताए।

“यसले पानी धेरै पर्नेछ तर वायुमण्डलमा वाष्पिकरण पनि उत्तिकै बढ्नेछ,” उनले भने,“यसले महादेशहरू सुख्खा हुनेछन्। यही कारणले क्यालिफोर्निया र अष्ट्रेलिया लगायत एमजनदेखि आर्कटिकसम्म डढेलो लागेको हो।”

तातो समुद्र विस्तार पनि हुन्छ। यसले समुद्रको सतह बढ्छ। समुद्री सतह बढ्दै गएकाले समुद्र किनारबाट करोडौं मानिसहरू शताब्दीको अन्त्यसम्म विस्थापित हुने संयुक्त राष्ट्र संघको इन्टरगभर्न्मेन्टल प्यानल अन क्लाइमेट चेञ्जले पोहोर सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

वायुमण्डलभन्दा समुद्रको ताप सोस्ने क्षमता बढी भएकोले पेरिस सम्झौताको लक्ष्य अनुरूप उर्त्सजन घटाए पनि समुद्र तात्ने क्रम नरोकिने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।

“कार्बन उत्सर्जनले पृथ्वी तातिने क्रम नरोके ९० प्रतिशत ताप समुद्रमा जाने अनुमान छ,” म्यानले भने। “पृथ्वीलाई तात्नबाट रोक्नसके ताप समुद्रको गहिराइमा प्रसार हुनेछ। अन्तत: स्थिर पनि हुनेछ।”
 

 Published Date: Sunday, 19th January 2020 1:51:27 am