बिहीबार, साउन २, २०७६

‘ओयल मनी’ को विरोधमा बेलायती कलाकार

हातहतियारको कारोबार गर्ने कम्पनीको पैसा चलाउनु युरोपका अधिकांश कला संस्थाका लागि अकल्पनीय कुरा हो। यो वर्ष अफिमको संकटसँग जोडिएको स्याक्लर परिवारबाट लिइएको पैसा तीमध्ये धेरेका लागि ‘ट्याबु’ बन्यो।

अब कलाकार र अभियन्ताले तेल र ग्याँसको पैसा पनि त्यसमा समावेश गर्नुपर्ने बताइरहेका छन्। एन्टोनी गोम्रेली, अनिश कपुर र साराह लुकास लगायत ७८ जना बेलायती कलाकारले लण्डनको नेशनल पोट्रेट ग्यालरीलाई ब्रिटिश पेट्रोलियम (बीपी) सँग सम्बन्ध तोड्न आग्रह गरेको बताए। जलवायु संकट बढाउन खेलेको भूमिकाले कम्पनीको प्रायोजन अस्वीकार्य भएको उनीहरूले बताए।

‘लगानीको एउटा स्रोतका रूपमा बीपीलाई गुमाउनु हामीले बहन गर्नसक्ने लागत हो भन्ने हामीलाई विश्वास छ,’ संग्रहालयलाई बुझाएको खुलापत्रमा कलाकारहरूले उल्लेख गरेका छन्। जलवायु परिवर्तन ठूलो समस्या भएको बीपीले स्वीकारेको छ। कम्पनीले उपलब्ध पूँजीको तीन प्रतिशत मात्रै नवीकरणीय उर्जामा लगानी गरेको पत्रमा उल्लेख छ। यो ‘बोली र व्यवहारमा ठूलो विरोधाभाष’ भएको पत्रमा बताइएको छ।

बीपीले प्रायोजन गर्ने संग्रहालयको वार्षिक ‘पोर्ट्रेट अवार्ड’ले कम्पनीले सक्दो गरिरहेको भन्ने झूठो आश्वासनको साख जोगाइराखेको कलाकारले बताए। तेल कम्पनीको प्रायोजन पाइरहेका बेलायती कला संस्थाविरूद्ध पछिल्ला सातामा गरिएका विरोधमध्ये पत्र नयाँ हो।

जुनको अन्त्यमा एकेडेमी र टोनी अवार्ड विजेताका अभिनेता मार्क राइलन्सले रोयल शेक्सपियर कम्पनीको मानार्थ पदबाट राजीनामा दिए। कम्पनीले बीपीबाट पैसा लिएर युवा वर्गलाई टिकटमा सहुलियत दिएको थियो। ‘हतियार व्यापारीजस्तै म बीपीसँग पनि जोडिन चाहन्नँ,’ राइलन्सले राजीनामा पत्रमा लेखेका थिए, ‘शेक्सपियरले पनि यस्तै गर्थे भन्नेमा मलाई विश्वास छ।’ एउटा टेलिफोन अन्तर्वार्तामा बीपीसँग गरिएको प्रायोजन सम्झौता रद्द नगरेसम्म कम्पनीसँग काम नगर्ने राइलन्सले बताए।

लण्डनको रोयल ओपेरा हाउसलाई बीपीसँग गरिएको ‘आउटडोर ओपेरा’ र ‘ब्याले स्क्रिनिङ’ प्रायोजन अन्त्य गर्न आग्रह गरिएको छ। जलवायु परिवर्तन विरोध समूह ‘एक्सटिङ्कसन रिबेलियन’ले मंगलबार ओपेरा हाउसबाहिर फुटपाथमा सुतेर सानो ‘डाइ–इन’ प्रदर्शन गरेको छ। त्यो रात प्रदर्शन भइरहेको ‘कार्मेन’ हेर्न मुख्य प्रवेशद्वार भएर जाने दर्शकले प्रदर्शनकारीलाई नाघेर जानुपरेको थियो।

वर्षौंदेखि बेलायतमा यस्तै नाटकीय विरोध हुँदै आएको छ। तर, धेरैको ध्यान गएको छैन। नेशनल पोर्टेट ग्यालरीको वार्षिक बीपी पोर्ट्रेट अवार्डको विरोध पहिलो पटक सन् २००३ मा भएको थियो। सन् २०१६ मा बीपीले टेट ग्रुपको कला संग्रहालयसँग प्रायोजन सम्झौता तोडेको थियो। ‘पर्फमेन्स आर्ट’जस्तो देखिएपनि विरोधको श्रृङ्खलाका कारण प्रायोजन तोडिएको लिबरेट टेट नामक अभियन्ताको समूहले बतायो।

सन् २०१० मा अभियन्ताहरूले संग्रहालयको प्रवेशद्वारमा ‘मोलासेस’ पोखे। आमन्त्रित अतिथिलाई तेल पोखिएजस्तो देखाउन त्यसो गरिएको थियो। प्रायोजन अन्त्य गरेपछि ‘अत्यधिक चुनौतीपूर्ण व्यवसायिक वातावरण’को प्रतिक्रिया स्वरूप त्यस्तो भएको बीपीले ‘इन्डिपेन्डेन्ट’ समाचारपत्रलाई बतायो।

अमेरिकामा पनि जलवायु परिवर्तनसँग जोडिएका संग्रहालयमाथि प्रश्न उठाइएको छ। पोहोर, अमेरिकन म्यूजियम अफ नेचुरल हिस्ट्रीका ‘क्युरेटर’ लगायत दुई सयभन्दा धेरै वैज्ञानिकले बोर्डमा रेबेकाह मर्सरको उपस्थितिमाथि चासो व्यक्त गरेका थिए। मर्सर जलवायु परिवर्तन नमान्ने समूहहरूको प्रभावशाली दाता हुन्। संग्रहालयले विरोधको सामना गर्‍यो।

व्यक्तिको राजनीतिक दृष्टिकोणका आधारमा कसैलाई पनि बोर्डको सदस्य नियुक्त नगरिएको र दातालाई ‘क्युरेटोरियल’ निर्णयमा प्रभाव पार्न नदिने संग्रहालयले जनायो।

पछिल्ला महिनाहरूमा ख्यातिप्राप्त बेलायती कलाकार र अभिनेताको संलग्नताले अभियान बढ्दै गएको देखिन्छ। 

नेशनल पोट्र्रेट ग्यालरीलाई बुझाइएको खुलापत्र कलाकार ग्यारी ह्युमले आयोजना गरेका थिए। कार्यक्रमलाई कलामा जैविक इन्धनको प्रायोजनको विपक्षमा रहेको कल्चर अन्स्टेन्डले सहयोग गरेको थियो। ह्युम यो वर्षको बीपी पोर्टेट अवार्डका जज पनि हुन्। एक्सटिङ्कसन रेबिलियनले अप्रिलमा लण्डनमा आयोजना गरेको विरोधमा सहभागी भएपछि मात्रै जलवायु परिवर्तनको आकस्मिकता बुझेको उनले एउटा टेलिफोन अन्तर्वार्तामा बताएका छन्। त्योभन्दा निकै अघि नै निर्णायकको भूमिका पूरा गर्न उनले मञ्जुरी जनाएका थिए।

‘लगानी जुटाउन कति गाह्रो छ मलाई थाहा छ,’ ह्युमले भने,‘तर यो वास्तविक मुद्दा हो भनेर म विश्वस्त भएको छु।’ उनीजस्ता मानिस जो यस्ता अभियानमा सहभागी भएका थिएनन्, अब यसरी खुलेर आउनु अघिल्ला अभियानभन्दा मुख्य भिन्नता भएको उनले बताए।

म्यूजियम एसोसिएनका श्यारोन हिलले टेलिफोन अन्तर्वार्ताको क्रममा संग्रहालयको निर्णय प्रभावित गर्ने क्षमताबारे कलाकार सचेत हुँदै गएको बताइन्। फोटोग्राफर नान गोल्डिनले स्याक्लर परिवारको लगानी विरोध गरेको घटना उनले उद्धृत गरिन्। स्याक्लर परिवारको १३ लाख अमेरिकी डलर अनुदान विरोधकै कारण नेसनल पोर्टेट ग्यालरीले अस्वीकार गर्नुपर्‍यो। सबै संग्रहालयले तेल व्यापारको लगानीको उपयुक्ताबारे छलफल गर्ने हिलले बताइन्। तर यसमा संस्थाको निर्णय लागू हुनेछ।

बेलायतमा बीपीले प्रायोजन गरेका चार मुख्य संस्था– नेसनल पोर्टेट ग्यालरी, ब्रिटिश म्यूजियम, रोयल सेक्सपियर कम्पनी र रोयल ओपेरा हाउस – कसैले पनि तेलको व्यापार गर्ने कम्पनीले गरेको लगानी खोल्न चाहँदैनन्। ती संस्थाहरूले पाँच वर्षको अवधिमा करिब ९४ लाख अमेरिकी डलर पाउने गरेको सन् २०१६ मा प्रकाशित समाचारमा बीपीले जनाएको थियो।

चार वटै संस्थाले कम्पनीको प्रायोजनलाई निरन्तर स्वागत गरेको इमेलमार्फत जनाएका छन्। ‘जलवायु परिवर्तनको परिणाम र महत्वबारे हामी जानकार छौं। दिगो भविष्यका लागि अभियान चलाइरहेकाहरूको उद्देश्य र चासोप्रति सहमत पनि छौं,’ रोयल ओपेरा आउसका कार्यकारी प्रमुख एलेकस बियर्डले भने।

‘वातावरणप्रति हाम्रो उत्तरदायित्वलाई प्राथमिकता दिँदै हाम्रो कलामा निःशुल्क पहुँचका लागि बीपीको निरन्तर सहयोग सन्तुलन गर्छौं,’ उनले भने। तीस वर्षीय प्रायोजन अवधिमा करिब दश लाख मानिस लाभान्वित भएको उनले बताए।

बीपीको युरोप र संयुक्त अधिराज्यका क्षेत्रीय अध्यक्ष पिटर म्यादरले टेलिफोन अन्तर्वार्तामा बेलायती कला संस्थालाई सहयोग गर्ने कम्पनीको चाहनालाई विरोधले नघटाएको बताए। कम्पनीले प्रायोजन गर्ने संस्थासँग त्यस्ता कार्यक्रमबारे सधैं छलफल गर्ने गरेको उनले बताए। 

‘उनीहरूलाई अप्ठ्यारो होस् भन्ने हामी चाहँदैनौं,’ उनले भने। तर कुनै परिवर्तन गर्ने योजना पनि नभएको उनले बताए। ‘हामी कलालाई धेरैभन्दा धेरै मानिससम्म पु¥याउन सहयोग गर्नेछौं,’ म्यादरले भने,‘यो घमण्ड होइन।’ सन् १९८० को दशकदेखि नै रोयल ओपेरा हाउस र नेसनल पोर्ट्रेट ग्यालरीलाई बीपीले प्रायोजन गर्दै आएको उल्लेख गर्दै यो छवि बनाउने प्रयास पनि नभएको उनले बताए।

उनले भने,‘समीकरणबाट कम्पनीहरूलाई हटाइए सरकारमाथि निर्भर हुनुपर्छ। सरकारसँग त्यति धेरै लगानी गर्ने क्षमता भएजस्तो मलाई लाग्दैन।’

बेलायती कलाकार जेरेमी डेलर सन् २००७ देखि २०११ सम्म टेट ट्रस्टी थिए। बीपीसँग प्रायोजन सम्झौता नवीकरण गर्दा उनले संग्रहालयको आचारसंहिता समितिमा सेवा गरेका थिए। टेलिफोन अन्तर्वार्तामा कला संस्थाहरूले बीपीको लगानी अस्वीकार गर्नुपर्छ भन्नेमा ढुक्क थिएनन्। अभियन्ताहरूले तेल व्यापार गर्ने कम्पनीलाई लक्षित गर्नुपर्ने उनले बताए। 

‘मलाई बीपीले चलाखीपूर्ण खेल खेलेजस्तो लाग्थ्यो,’ उनले भने,‘अभियान र विवादलाई उनीहरूले यी खुला सोच भएका कला संगठनको पोल्टा पारिझैं देखिन्छ। त्यसो हो भने उनीहरूले झमेलाको सामना गर्नुपर्दैन।’ ‘साँच्चै भन्नुपर्दा, हामीले गलत दिशातर्फ हेरिरहेका छौं,’ उनले भने,‘यो लोकप्रिय मत होइन, मलाई थाहा छ।’ 

-एलेक्स मार्शल लण्डनस्थित युरोपेली संस्कृतिका संवाददाता हुन्।
 

 Published Date: Wednesday, 10th July 07:16:08 AM